आत्महत्या रोकथाम दिवस : लमजुङका दुई स्थानमा सचेतना कार्यक्रम

आत्महत्या रोकथाम दिवस : लमजुङका दुई स्थानमा सचेतना कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २५ गते शुक्रबार ०८:०३

विश्व स्वास्थ्य संघको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरूले आत्महत्या गर्दछन् । नेपालमा एक दिनमा लगभग १४ देखि १६ जना मानिसहरूले आफ्नो जीवन आफैंले समाप्त पारिरहेको तथ्यांक छ ।

नेपालमा आत्महत्याको दर पछिल्ला वर्षहरूमा चिन्ताजनक रूपमा उच्च हुँदै गएको देखिएको छ ।

बेसीशहर– लमजुङमा विश्व आत्महत्या रोकथाम दिवस २०२६ मनाइएको छ । सो अवसरमा लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित एचडिसिएस नमुना सामुदायिक अस्पताल तथा बेसीशहर नगरपालिका– २ को भकुण्डेमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम भदौ २५ गते भएको हो ।
हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । सधैंझैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभरि नै यो दिवस मनाइएको हो । नेपालमा आत्महत्याको दर पछिल्ला वर्षहरूमा चिन्ताजनक रूपमा उच्च देखिएको छ ।
आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा असह्य हुने गरी पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्ने गरेको पाइन्छ ।
विश्व स्वास्थ्य संघको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरूले आत्महत्या गर्दछन् । नेपाल प्रहरीको तथ्यांक हेर्दा आत्महत्याको वार्षिक दर आ.व. ०७३/७४ मा ५ हजार १२४ जना, आ.व. ०७४/७५ मा ५ हजार ३४६ जना र ०७५/७६ मा ५ हजार ७५४ जना पुगेको देखिन्छ । जस अनुसार नेपालमा एक दिनमा लगभग १४ देखि १६ जना मानिसहरूले आफ्नो जीवन आफैंले समाप्त पारिरहेको तथ्यांक छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ३ वर्षमा मात्रै २० हजार २२३ जना भन्दा बढीले ज्यान गुमाएका छन् र हाल नेपालमा आत्महत्याको मृत्यु दर २३.३ प्रति लाख रहेको छ । नेपालले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्ममा यस दरलाई ४.७ प्रति लाखमा झार्ने प्रतिबद्धता जनाए पनि हालको तथ्याङ्कले ठूलो चुनौती देखाएको छ ।
नेपाल प्रहरीको विभिन्न आर्थिक वर्ष (आ.व.) को पछिल्लो तथ्याङ्क अनुसार आ.व. २०८०/८१ मा देशभर ७ हजार ७ सय ९९ वटा आत्महत्याका घटना दर्ता भएका थिए । आ.व. २०८१/८२ देशभर आत्महत्याका ६ हजार ८ सय ६६ घटना दर्ता भए भने आ.व. २०८२/८३ (जेठसम्म) पछिल्लो आँकडा अनुसार यो वर्षको जेठ महिनासम्म मात्रै ६ हजार २ सय ८२ वटा घटना भइसकेका छन् ।
‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने सन्देश प्रवाह :
सुन्दरबजार– स्थानीय एचसिडिएच नमूना सामुदायिक अस्पतालमा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने सन्देश प्रवाह गर्दै विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।
अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले सहजीकरण गर्नु भएको कार्यक्रममा आत्महत्या रोकथाममा परिवार र समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै मानसिक पीडामा रहेका व्यक्तिलाई एक्लो नछोड्ने, उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक सहयोग तथा साथ प्रदान गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने र आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा निराशा, अत्यधिक तनाव तथा मानसिक समस्याका प्रारम्भिक संकेत पहिचान गर्ने, समस्यामा रहेका व्यक्तिसँग सहानुभूतिपूर्वक संवाद गर्ने तथा आवश्यक पर्दा मनोपरामर्श र स्वास्थ्य सेवामा जोड्ने उपायबारे छलफल भएको थियो ।
उहाँले भन्नुभयो, ‘मानसिक समस्यामा रहेका व्यक्तिलाई दोष दिनुभन्दा उनीहरूको अवस्था बुझेर साथ र सहयोग दिन सके आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुग्ने, समयमै गरिएको सानो सहयोगले पनि निराश व्यक्तिको जीवनमा आशा जगाउन सक्ने भएकाले मानसिक स्वास्थ्यका विषयमा खुलेर संवाद गर्नुपर्छ ।’
उक्त कार्यक्रम अस्पतालमा उपचारका लागि आएका बिरामी, बिरामीहरूका कुरुवा तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी आयोजना गरिएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।
मानसिक स्वास्थ्य सचेतना : बेसीशहर २ को वडा कार्यालयमा
यसैगरी, बेसीशहर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर २ को वडा कार्यालयमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले एकदिने आत्महत्या रोकथाम कार्यक्रम आयोजना गरियो । विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो ।
‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम सो वडाका अध्यक्ष मदन रानाको अध्यक्षतामा भएको थियो । वडाध्यक्ष रानाले आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई एक्लो महसुस हुन नदिई उनीहरूको कुरा सुन्ने, समस्या बुझ्ने र आवश्यक सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई हेलाको दृष्टिले नहेरी समयमै पहिचान गरी आवश्यक सहयोग, परामर्श तथा उपचारका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या न्यूनीकरणका लागि परिवार, समुदाय र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको रानाको भनाइ थियो ।
सो अवसरमा बेसीशहर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता गीता घलेले सहजिकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा टोल सुधार समिति, स्वास्थ्य आमा समूह, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरुको हेरचाह गर्दै आएका केयरगिभरहरूले भाग लिएका थिए । जनस्वास्थ्य निरीक्षक अशोक तामाङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
बढी जोखिममा रहने व्यक्तिहरू :
युवा तथा किशोर किशोरी, सम्वन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्तिहरू, तनावयुक्त बैवाहिक जीवन, घरवार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरू, प्रेममा असफल व्यक्तिहरू, ठूलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरू, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन् ।
नेपालमा आत्महत्याको दर किन बढिरहेको छ, किन मानिसहरूले आत्महत्यालाई मुत्युवरण गर्ने माध्यमका रुपमा लिइरहेका छन्, यसको रोकथाम सोचेअनुसार किन गर्न सकिएको छैन ? साथै आत्महत्याको रोकथाममा घरपरिवार, साथीभाइ, समाज, सहयोगी संस्थाहरू, राज्यका संयन्त्रलाई कसरी परिचालन गर्ने भनेर बस्तुगत विश्लेशण गरी उपयुक्त योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति २०८३ भाद्र २६, शुक्रबार ०८:०३ गते
हजुरको प्रतिक्रिया