पोखरा, भदौ २५ गते । पोखरा महानगरपालिका, वडा नम्बर २८ दुई विद्यालयमा पेसागत सहयोगसहितको विद्यालय सुपरिवेक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीको आयोजना र पोखरा महानगरपालिका, शिक्षा महाशाखाको समन्वयमा मादी-२८, झाँझरमारेस्थित जनज्योति माध्यमिक विद्यालय र माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयका शिक्षकहरूका लागि विज्ञसहितको समूहले पेसागत सहयोग गरेको हो । सो अवसरमा नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित र विज्ञान विषयका कक्षाअवलोकन, पृष्ठपोषण प्रदान तथा नमुना कक्षा सञ्चालन गरिएको थियो ।
शिक्षकहरूका लागि पेसागत सहयोगका लागि आधारभूतदेखि माध्यमिक तहसम्मका विषयगत कक्षाहरूमा नेपाली विषयका लागि प्रेमप्रसाद पोखरेल र रुपिन्द्र प्रभावी, अङ्ग्रेजी विषयका लागि मित्रलाल पौडेल र सन्तोष आचार्य, गणित विषयका लागि प्रेमनारायण पोखरेल र केशव अम्गाईँ, सामाजिक विषयका लागि नारायणी शर्मा र रामचन्द्र ढकाल तथा विज्ञान विषयका लागि पुष्प पौडेल र विष्णुप्रसाद तिमिल्सिनाले विज्ञका रूपमा भूमिका खेलेका थिए ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकको शिक्षकले तालिममा सिकेका र विज्ञले सुझाएका कुरालाई कक्षाकोठासम्म पुर्याउनुपर्नेमा जोड दिए । शिक्षकले प्रतिबद्ध भएर शिक्षण नगरेसम्म विद्यालयको सुधार सम्भव नभएको बताउँदै आचार्यले आत्मसाक्षी राखेर कर्तव्य पालना गर्न शिक्षकहरूसँग आग्रह गरे ।
पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिप्रसाद सुवेदीले विद्यालयमा परेको समस्याको सहजीकरण गर्न महाशाखा तयार रहेको तर विद्यार्थीको सिकाइलाई सबल बनाउने कुरामा शिक्षकहरू लाग्नुपर्नेमा जोड दिए । नतिजामुखी कार्यसम्पादनमा केन्द्रित हुन शिक्षकहरूसँग उनको आग्रह थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत बलराम भुगाईँ, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पराजुली, रत्नशोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, विज्ञहरूका तर्फबाट रुपिन्द्र प्रभावीले शिक्षकको पेसागत सहयोगका लागि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।
दुवै विद्यालयका विषय शिक्षकहरूले विषय विज्ञहरूले दिएका सुझाव मननीय रहेको भन्दै पेसागत जीवनमा यसले महत्त्वपूर्ण सहयोग गर्ने अनुभव सुनाएका थिए ।
प्रकाशित मिति २०८३ भाद्र २५, बिहीबार १७:३४ गते