
काठमाडौं– तिब्बती क्षेत्रबाट रसुवाको भोटेकोशीमा आएको बाढीबाट ५ हजार १३० जना बेपत्ता भएका छन् । आज घट्नाको १८ औं दिने हो, हालसम्म एक हजार ३८५ जनाको शव भेटिएको छ ।
हालसम्म एक हजार ३८५ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सो विवरण अनुसार भेटिएकामध्ये सनाखत भएका शवहरूको संख्या १ सय ४ मात्रै छ, अन्यको सनाखत हुन सकेको छैन ।
आफ्ना कर्मचारीहरूले दिनहुँजसो बेपत्ताहरूको आँकडा केलाइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्मको आँकडामा केहीको संख्या घट्नसक्ने देखिएको छ । अन्य केही व्यक्ति बेपत्ता सूचिमा थप हुनसक्ने आशंका बढेको छ ।
‘सुरुमा जसले आफ्ना मान्छे बेपत्ता भएका छन् भनेर नाम टिपाउनुभयो, कयौंको उद्दार भइसकेको छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भयो । उहाँका अनुसार उद्दार भइसकेपछि टिपाइएका ती नाम हटेका छैनन् कि भन्ने हाम्रो अनुमान हो । उद्दार भएकाहरूको नाम समेत बेपत्ताको सूचीमा रहेको भएमा, त्यो पुनः रुजु गर्दा संख्या केही घट्नसक्छ उहाँको भनाइ छ ।
प्राधिकरणले १३ हजार ६७६ जनाको उद्धार भएको, ५ सय ८७ जना हराएको, र क्षेत्रभर करिब १२ हजार टेलिफोन नम्बर सक्रिय रहेको जनाएको छ ।
उता, नेपाल प्रहरीले सार्वजनिक गरेको बेपत्ताहरूको आँकडा केही फरक छ । प्रहरीले गए राति ८ बजे सामाजिक सञ्जालबाट सार्वजनिक गरेको विवरण अनुसार, ४ हजार ८९ जना बेपत्ता भएका छन् । प्राधिकरण र प्रहरीकै आँकडामा करिब एक हजार जनाको संख्या फरक परेको छ ।
संख्यमा किन फरक ?
प्रहरीले ‘व्यक्ति बेपत्ता भएको’ सूचना टिपाउनेहरूको विवरण आफ्नो हटलाइन १०० मा फोन गर्नेहरूबाट संकलन गरेको हो । तर प्राधिकरणले जिल्ला जिल्लाबाट प्राप्त आँकडा अनुसार संकलन गरेको हो ।
जिल्लास्थित इमर्जेन्सी अपरेसन सेन्टर र गृह मन्त्रालयको इमर्जेन्सी अपरेसन सेन्टरको एकमुष्ट आँकडाका आधारमा प्राधिकरणले बेपत्ताहरूको विवरण संकलन गरिरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भयो । उहाँका अनुसार बेपत्ता भएका व्यक्तिहरूको एकमुष्ट आँकडा प्रशोधन हुने क्रम जारी छ । उहाँले भन्नुभयो, ‘तर, उद्दार भएपछि मानिसहरुले बेपत्ताको सूचीबाट नाम हटाउन तदारुकता नदेखाउने स्वभावले पनि केही संख्या ‘इरर’ हुनसक्छ ।’
बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्त एवं नातेदारहरूले खोजतलासका क्रममा नुवाकोट र रसुवा जिल्लामा दुवैतिर नाम टिपाएका छन् । कतिपयले फरक नाम टिपाएका छन् त्यसले पनि आंकडामा फरक देखिएको हो ।
उद्धार कतिको भयो ?
प्राधिकरणको पछिल्लो विवरण अनुसार १३ हजार ६७६ जनाको उद्दार भएको छ । तर प्रहरीले ९ हजार २८७ जनाको मात्रै उद्दार गरिएको जनाएको छ । प्राधिकरणले भने प्रहरी बाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरेको उद्दारको विवरण पनि संकलन गरिरहेको हुँदा यो विवरण पनि फरक परेको हो ।
विदेशी नागरिक करिब छ सय उद्धार :
विपत व्यवस्थापन प्राधिकरणको विवरण अनुसार कुल पाँच सय ८७ जना हराएका छन् । यो तथ्यांक नेपाल पर्यटन बोर्ड र कतिपय ट्राभल एजेन्सीहरूको विवरणमा आधारित हो ।
ट्राभल एजेन्सीहरूले त्यो क्षेत्रमा विदेशी पर्यटकका साथ १६४ जना नेपालीहरू पनि गएको विवरण टिपाएका छन् ।
भारतीय दूतावासले आफ्ना १९४ जना नागरिक हराइरहेको विपत व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरेर विवरण टिपाएको छ ।
उसले त्यो सूचीमा ६०–६५ जना थपिएको हुनसक्ने जानकारी दिएको छ । प्रहरीले ६१० जना विदेशी नागरिक बेपत्ता भएको विवरण टिपाएको छ ।
स्थानीय कति बेपत्ता छन् ?
प्राधिकरणले एक हजार ३९३ जना रसुवाका बासिन्दा हराइरहेका छन् । त्यस्तै, नुवाकोबाट ६४१ जना बेपत्ता छन् । दुवै जिल्लाका गरी करिब दुई हजारभन्दा बढी मानिस हराएका छन् ।
रसुवाबाट २८६० जना बेपत्ता भएका छन् भने नुवाकोटबाट १ हजार ७८७ जना हराएका छन् । प्राधिकरणले बेपत्ता भएका विदेशी नागरिकको आँकडालाई जिल्ला अनुसार छुट्याएको छैन ।
अन्य जिल्लाबाट रसुवा पुगेका १ हजार २८६ जना हराएका छन् । त्यही संख्या नुवाकोटमा १ हजार १३६ छ । प्रहरी, सशस्त्र र सेना, सरकारी जागिरे, बैंकका कर्मचारी र विदेशी नागरिकहरू रसुवाबाट मात्रै हराइरहेका छन् ।
धेरै शव चितवनमा :
एक हजार ३८५ जनाको शव भेटिएकामध्ये ३६४ शव चितवनमा फेला परेका छन् । नवलपरासी पूर्व र पश्चिम(सुस्ता) मा गरी ४५० शव भेटिएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार नुवाकोटमा १९९ र रसुवामा १८५ शव फेला परेका छन् । त्यस्तै, गोरखा, तनहुँ र धादिङमा गरी १ सय ८५ शव फेला परेको प्रहरी भनाइ छ ।
प्रहरीले केही बाहेक सबैजसो शवको नमुनाबाट डीएनए संकलन गरेको जनाएको छ । एक हजार ७१२ जना बेपत्ताको आफन्तबाट नमुना संकलन भएको छ । अहिलेसम्म व्यक्तिगत पहिचान तथा डीएनएबाट १ सय ४ जनाको शव पहिचान भएको प्रहरी भनाइ छ ।
सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज :
यसैबीच, भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट आजै डिस्चार्ज भएका छन् । उनको उद्धार पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो ।
उपचारपछि उनी डिस्चार्ज भएको सैनिक प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार साह अस्पतालमा भर्ना भएको ७ दिनपछि स्वास्थ्य लाभ गरी घर फर्केका हुन् ।
साह आयोजनाका मेकानिकल फोरम्यान हुन् । उक्त सुरुङबाट उनीसँगै अर्का एकको पनि उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
प्रकाशित मिति २०८३ भाद्र २६, शुक्रबार १९:५५ गते