
कृष्णभिर(धादिङ)– काम गर्ने इच्छा शक्ति हुने हो भने दुरुह लाग्ने कार्य पनि सहज हुन्छ भन्ने अर्को उदाहरण बनेको छ पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक । मर्मत कार्य सुरू गरिएको १२ औं दिनमा पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक भदौ २७ गते सञ्चालनमा आएसँगै त्यस्तो खुलासा भएको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा १४ गते सडक भासिएको थियो । भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर १२ औं दिनमा सडक पुनः सञ्चालनमा ल्याइएको हो । आजै धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमलगायतले पनि कृष्णभिर पुगेर सडक अवलोकन गर्नु भएको थियो । उहाँले सडकको भित्तातर्फको नयाँ ट्रयाक खोल्ने काम पूरा भएको जानकारी दिनु भयो ।
आज अपराह्न ग्यास बुलेटहरू कृष्णभिर सडक कटाइएको छ । ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा नेपाली सेनाको एक टोलीसमेत पुगेको थियो ।
तत्कालका लागि ग्यास बुलेट, ट्रकहरू मात्र सञ्चालन गरिनेछ । सडक एकतर्फी खुला गरिएको हो भने असोज १ गतेदेखि दुईतर्फी बनाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।
सडक खुलाउन एक्स्काभेटर, बुलडोजर, लोडरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरिएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले बताउनु भयो । उहाँका अनुसार सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको थियो ।
अहिले फिल्डमा करिब २२ देखि २५ वटा हेभी इक्युपमेन्ट, ट्रक तथा टिपरसहितका साधन परिचालन भएका छन् अधिकारीले भन्नुभयो । उहाँका अनुसार सडकको ड्रेन, सब–सर्फेस ड्रेन, ग्राभेलिङ तथा सबग्रेड र सबबेसको काम पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि नियमित यातायात सञ्चालन नगरिने छ ।
उहाँले भन्नुभयो, ‘अहिलेको आवागमनलाई नियमित यातायात सञ्चालन नभई परीक्षणका रूपमा गरिएको हो, सडक सबग्रेडको तहसम्म तयार भएपछि ग्यास बुलेट पार गर्न सक्ने अवस्था छ कि छैन ? भन्ने परीक्षण गरिएको र त्यसमा ग्यास बुलेट सफलतापूर्वक पार भएको छ ।’
गत भदौ १४ गतेको त्रिशूली बाढीका कारण कृष्णभिर सडकको तल्लो क्षेत्र कटान गरी सडक भासिएको थियो । निर्माण थालिएको १२ दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन आएको हो ।
त्यसयता पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्दछ । जसको कारण काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नुको साथै ग्यासको अभाव भएको छ ।
परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८३ भाद्र २८, आईतवार १९:०८ गते