
काठमाडौँ– रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको चितवनको कृष्णभीरखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भासिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले भदौ २७ गते जानकारी दिनु भएको हो ।
त्रिशूलीमा आएको बाढीका कारण सडक भासिएर अवरुद्ध भएको कृष्णभीर सडकखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने गरी तिब्रताका साथ निर्माण कार्य जारी राखिएको छ ।
सो सडक खण्डमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनु भयो । उहाँका अनुसार भासिएको अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘ग्राभेलको काम पनि आजै थालिएको छ ।’
उहाँले थप भन्नुभयो, ‘कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको छ, ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ ।’
नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई–तीन दिन लाग्ने अधिकारीको भनाइ छ ।
अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको बताउनु भयो । उहाँका अनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ ।
केही दिनसम्म सो सडक खण्ड निर्माणका लागि १२ वटासम्म उपकरण परिचालन गरिएको थियो ।
सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ, त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको अधिकारीको भनाइ छ ।
प्रकाशित मिति २०८३ भाद्र २७, शनिबार १९:०१ गते