
लमजुङ– नेपाली प्रजातान्त्रिक आन्दोलनका सिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाई उनको पार्टी नेपाली कंग्रेसले आजभोलि वास्ता गर्ने छाडेको छ । केही वर्ष अघिसम्म पौष १६ गतेलाई नेपाली कंग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा देशभर विशेष कार्यक्रमको आयोजना गरी वीपीलाई सम्झने गर्दथ्यो तर पछिल्ला वर्षमा भने उसले त्यो दिन समेत बिर्सन थालेको छ ।
२०३३ साल पौष १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह सहितका नेताहरू लामो भारत निर्वासित जीवन त्याग गरी राष्ट्रिय मेलमिलापको नीति अङ्गिकार गरी नेपाल फर्किएका थिए । त्यस लगत्र्त विविमाथि एक दर्जनभन्दा बढी मुद्दा अदालतमा भिराउने काम भयो । कतिपय मुद्दाहरूको फैसलामा दोषी ठहर भएको खण्डमा विपीलाई फाँसीको सजाय हुने अवस्था थियो ।
तर ती सबै प्रकारका जोखिमहरूलाई बेवास्ता गर्दै नेपालमै रहेर नेपाली आन्दोलनलाई नयाँ तवरले अगाडि बढाउन खास गरी नेपालमै मर्ने चाहना एवम् लक्ष्यका साथ विविले ‘मेलमिलापको नीति’ अख्तियार गर्दै नेपालमा प्रजातन्त्र पुनः प्राप्तिको आन्दोलनलाई नयाँ सिराबाट उठाउन नेपाल फर्किएका थिए । कांग्रेसले सोही दिन अर्थात पुस १६ गतेलाई ‘राष्ट्रिय मेलमिलाप दिवस’को रुपमा मनाउँदै आएको थियो । पौष १६ लाई कंग्रेसले राष्ट्रिय पर्वका रूपमा टोल कार्यसमितिदेखि वडा, नगर, प्रदेश, जिल्ला हुँदै केन्द्रीयस्तरसम्म कार्यक्रम गरी विपिको राष्ट्रिय एकताको सन्देशलाई आत्मसात गर्न आह्वान गर्ने गर्दथ्यो ।
तर पछिल्ला वर्षमा समय फेरिएको छ । हालै सम्पन्न आम निर्वाचनमा संघीय ससदको ठूलो दल बनेर प्रतिपक्षमा बस्न बाध्य छ । यस्तै यस्तै कारणले यतिबेला नेपाली कांग्रेस आफूभित्रै एकता कायम गर्न नसकेर आलोचित बन्ने गरेको छ । खासगरी निर्वासनमा ५ दलिय गठबन्धन बनाएर होमिएको र गठबन्धन मार्फत देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको कङ्ग्रेस माओवादी अध्यक्ष प्रचण्डको अप्रत्याशित युटर्नका सोच र शैलीलाई पहिचान गर्न नसकेका कारण आन्तरिक विवादको भुमरीमा फसेको छ । गठबन्धनले आफूलाई नै प्रधानमन्त्रीमा अघि सार्ने मा ढुक्क देखिएका प्रचण्ड शेरबहादुर देउबा पुनः प्रधानमन्त्रीमा दोहोरिने इच्छा प्रकट गरेपछि बालकोटको शरणमा पुगे ।
प्रचण्डसँग तिक्तता भएकै कारण अघिल्लोपटक झन्डै दुई तिहाईको केन्द्रीय सत्ता र सबै प्रदेशको सता गुमाएका ओलीले यो पटक त्यसलाई सही ढङ्गबाट अवतरण गराए । उनले प्रचण्डलाई अघि सारेर राष्ट्रपति सभामुखदेखि कम्तीमा चार प्रदेशका मुख्य मन्त्रीहरू र केन्द्रीय सरकारमा कम्तीमा १० जना मन्त्रीहरूलाई सुरक्षित अवतरण गराउने बाटो रोजे । जसले पाँच दलीय गठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसमा खैलाबैला मच्चायो, मच्चिदै पनि छ र अन्तत कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म सबै राजनीतिक पदहरूबाट हात धुनुपर्यो । पछिल्लो समय कङ्ग्रेस कार्यकर्ताहरू बिपिलाई सम्झनु भन्दापनि कांग्रेस नेतृत्वले सही व्यवस्थापन नगरेको भन्दै सभापति शेरबहादुर देउबाको राजीनामाको माग गर्न थालेका छन् ।
कतिपय केन्द्रीयस्तरकै नेताहरूको विशेष अधिवेशन आह्वान गरेर सभापतिलाई तत्काल पदबाट हटाउनु पर्ने आवाज समेत उठाउन थालेका छन् । यतिबेला कङ्ग्रेस नेता कार्यकर्तामा विपिको मेलमिलापको नीति भन्दा पनि मुखमा आएको सत्ता गुमाउनु पर्दाको पिडा ज्यादा देखिन्छ । सायद त्यसैले उनीहरूलाई पुस १६ गते आएको पनि पत्तो भएन ।
नेता–कार्यकर्ता सत्तामोह कै अघि पछाडि दौडिरहेको अवस्थामा उसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघले भने मेलमिलाप दिवसलाई सम्झना गरेको हो । शिक्षक सघ लमजुङले एक कार्यक्रमको आयोजना गरी बिविको मेलमिलापको नीतिलाई राष्ट्रव्यापी रूपमा प्रयोगमा ल्याउन आग्रह गरेको छ ।
बेसीशहर स्थित विपि स्मृति भवनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लमजुङका निवर्तमार्न सभापति एवं गण्डकी प्रदेश संसद्का ससदस्य माननीय भेषबहादुर पौडेलले कंग्रेसले विपिको मेलमिलापको नीतिलाई अक्षरस कार्यान्वयनमा ल्याए कंग्रेसले देशको अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । पछिल्लो समय कङ्ग्रेस बिपिको विचार भन्दा पनि सता, शक्ति र स्वार्थको पछाडि लाग्दा आम कार्यकर्तामा निराशा पैदा भएको पौडेलको जिकिर छ । उहाँले राजनीतिलाई विशुद्ध समाजसेवा रूपमा लिन आग्रह गर्नुभयो । नेपालका हरेक आन्दोलनमा र परिवर्तनहरूको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै पौडेलले समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीसँग राजनीतिक लडाइँहरू सकिएका छन् अबको लडाई समृद्धिको हो समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने हो तर यतिबेला केन्द्रीय नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा धेरै कार्यकर्ता तथा जनताहरूमा निराशा छाएको उहाँले उल्लेख गर्नु भयो । पौडेलले भन्नुभयो कङ्ग्रेस बिना कसैले पनि समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याउन सक्दैनन् । किनकि, आर्थिक सम्बृद्धिका लागि योजना दक्षता र दृढ संकल्प चाहिन्छ जुन कङ्ग्रेस बाहेक अन्य दलहरूसँग छैन उहाँको भनाई थियो । फरक प्रसङ्गमा सांसद पौडेलले जिल्लाको समृद्धि र विकासका लागि सबै दलहरूसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
नेपाल शिक्षक सङ्घ लमजुङका सभापति शिव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला सचिव बिमल श्रेष्ठ, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तीर्थ न्यौपाने, नेपाल शिक्षक सङ्घ गण्डकी पर्देश उपाध्यक्ष विष्णुमाया भण्डारी, नेपाल प्रेस युनियनका जिल्ला सभापति ऋषि अधिकारी लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति २०७९ पुष १६, शनिबार २१:३१ गते