दमौली– उपनिर्वाचनको मत गणन अनुसार तनहुँ– १ मा ३८ हजार ७९४ मतको गणना सकिएको छ । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो मतान्तर कायमै छ ।
सत्ता गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पनि वाग्लेलाई पछ्याउन छाड्नु भएको छैन तर त्यो पछ्याई कामयावी हुने लक्षण भने देखिन सकेको छैन । वाग्ले र भट्टराई बीच सात हजार ९८४ मत अन्तर रहेको छ । वाग्लेले १९ हजार ६५३ मत ल्याउनु हुँदा भट्राईले ११ हजार ६६९ मत पाउनु भएको छ । एमालेका सर्वेन्द्र खनालले हजार २३६ मत मात्र पाउनु भएको छ ।
उता, चितवन– २ मा रास्वपाका सभापति रवि लामिछानेलाई एक हजार ७७२ मतको अग्रता छ । रविले स्वर्णिमले जस्तै हरेक गणनामा अग्रता बढाउँदै लग्नु भएको छ ।
इच्छाकामना गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदा रविको एक हजार ५२० मतले अग्रता छ । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार ४९४ मत पाउन सफल हुनु भएको छ ।
चितवनबाट प्राप्त मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले एक हजार ७७२ मतका साथ अघि हुनुहुन्छ । उहाँले चार हजार ३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ५८५ मतसहित रविलाई पछ्याउने दौडमा हुनुहुन्छ ।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ दुई हजार २०५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी, बारामा भने घण्टीका लागि निकै चुनौति खडा भएको छ । सो दलका उम्मेदवार रमेश खरेल निकै नै पछि पर्नु भएको छ ।
बारा– २ मा तीन हजार ८१० मत गणना भएको छ । सो मतपरिणाम अनुसार जसपाका उपेन्द्र यादवले अग्रता बढाउँदै एक हजार ३९० मत ल्याउनु भएको छ भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले एक हजार ३०१ मत प्राप्त गर्नु भएको छ ।
एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ६२९ मत र रास्वपाका रमेश खरेलले २५९ मत मात्र प्राप्त गरेको स्थिति छ । त्यस्तै, आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२४ मत प्राप्त गर्नु भएको छ ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार २०:०६ गते