
बेसीशहर– तिब्बती क्षेत्रबाट रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङको जिल्ला सदरमुकाम यहाँ स्थित ल्याण्ड स्टार इङ्लिस स्कुल र किड जोन मन्टेश्वरीले संयुक्त रुपमा डेढ लाख भन्दा बढी रुपैयाँ भदौ २४ गते सहयोग गरेका छन् ।
बेसीशहर नगरपालिका– ८ स्थित ल्याण्ड स्टार इङ्लिस स्कुल तथा सोही नगरपालिका– ७ चक्रपथ स्थित किड जोन मन्टेश्वरीका शिक्षक, विद्यार्थी तथा विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो । कुल एक लाख ५० हजार १२ रुपैयाँ सहयोग गरेको ल्याण्ड स्टार इङ्लिस स्कुलका प्रिन्सिपल ईश्वर पौडेलले बताउनु भएको छ । उहाँका अनुसार प्याब्सनमार्फत बाढीपीडितको राहतका लागि उक्त रकम सहयोग गरिएको हो ।
विपद्का कारण प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको प्रिन्सिपल पौडेलले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘शिक्षक तथा विद्यार्थीको सहभागितामा संकलित सहयोग रकमले विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने अपेक्षा विद्यालय परिवारले गरेको छ ।’
विद्या विकास आमाविद्वारा एक लाखभन्दा बढी सहयोग :
यसैबीच, भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङको बेसीशहर नगरपालिका– ७ स्थित विद्या विकास आवासीय माध्यमिक विद्यालय परिवारले एक लाख रुपैयाँभन्दा बढी राहत रकम सहयोग गरेको छ । विद्यालयका शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा एक लाख एक हजार ७४० राहत रकम संकलन गरिएको विद्या विकास आवासीय विद्यालयका प्रिन्सिपल रामचन्द्र देवकोटाले बताउनु भएको छ । उहाँका अनुसार संकलित रकम प्याब्सन लमजुङमार्फत केन्द्रीय प्याब्सनमा पठाइनेछ । केन्द्रीय प्याब्सनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने देवकोटाले जानकारी दिनु भयो ।
संकलित रकम सानो भए पनि पीडितप्रति माया, सहानुभूति, एकता र मानवीय संवेदना व्यक्त गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयको भनाइ छ ।
प्याब्सन लमजुङद्वारा १६ लाख ३१ हजार बढी सहयोग :
त्यस्तै, प्याब्सन लमजुङले रसुवा, नुवाकोट क्षेत्रमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि लमजुङबाट १६ लाख ३१ हजार ४५ रुपैयाँ सहयोग गरेको जनाएको छ । प्याब्सन लमजुङले संस्थागत रुपमा आवद्ध रहेका ११ विद्यालयबाट संकलन गरेको १२ लाख ४७ हजार ६५५ रुपैयाँ र ६ वटा विद्यालयल मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा भएको तीन लाख ८३ हजार ३९० रुपैयासमेत १६ लाख ३१ हजार ४५ रुपैया प्याब्सन लमजुङले सहयोग गरेको प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलले जानकारी दिनुभएको छ ।
प्याब्सन लमजुङले आवद्ध विद्यालयहरूले गरेको सहयोग रकमको विवरण समेत उपलब्ध गराएको छ ।
प्रकाशित मिति २०८३ भाद्र २४, बुधबार १७:१२ गते