विद्यालय व्यवस्थापन समिति र प्रावि तहको शिक्षक को ठूलो ?

विद्यालय व्यवस्थापन समिति र प्रावि तहको शिक्षक को ठूलो ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २४ गते बिहिबार ०८:२५

अचम्म ! त के छ भने स्वार्थ मिलिञ्जेल चाटाचाट र स्वार्थ बाझिएपछि काटाकाट गर्ने प्रवृत्तिले विद्यालयको सिङ्गो जगत तहस नहस भएको धेरै समय भएको उक्त विद्यालयका सुभचिन्तकहरूले बताउनु भएको छ । उहाँहरूको चिन्ता यस्तो स्थितिको जानकारी पटक पटक गराउँदा पनि स्थानीय सरकार रमिते भएर बसेको हुँदा स्थानीय तहलाई शिक्षाको अधिकार बाँदरको हातमा नरिवल जस्तो हुँदै गएको छ ।

२०७८ माघमा दर्ता भएको मुद्दा टुंगिननै दुई वर्ष बढी(२०८० चैत २५गते) लाग्यो । त्यसपछि त्यो बेला भएको आदेश पालना गराउनका लागि थप तीन वर्ष बढी समय लाग्यो, यस घट्नाले नेपालमा न्याय कति दुरुह छ ? भन्ने थप पुष्टि गरेको छ ।

भोटेओडार(लमजङ)– समाचारको शीर्षक पाठक वर्गलाई अनौठो लाग्यो होला । जुनकुनै पनि विद्यालयमा यौटा शिक्षकभन्दा विद्यालय व्यवस्थापन समिति धेरै माथि हुन्छ । तर गुण्डा राज चल्ने ठाउँमा भने त्यसको ठीक विपरितका दृश्यहरू पनि देख्न पाइदो रहेछ । यस्तै भएको लमजुङको सुन्दरबजार नगरपालिका– ९ को यहाँ स्थित भक्ति नमुना माविमा ।
सो विद्यालयको प्रावि तहका थकित यात्री नामका शिक्षकलाई उनको अनुशासनहीन, उदण्ड व्यवहारका कारण आजीत भएका विद्यालय व्यवस्थापन समिति र सल्लाहकार समितिको संयुक्त बैठकले उनलाई भदौ २२ गतेदेखि विद्यालयमा हाजिर हुन नदिने भन्ने निर्णय गरी नगरपालिकाको शिक्षा शाखालाई समेत जानकारी दिएको थियो । तर त्यसमा नगरपालिकाले निकास दिने प्रयास गर्नु भन्दा पनि तिनलाई जसरी पनि हाजिर गराउने अडानमा नगरपाकिलाका मेयर रहेको बताइन्छ । त्यतिको आडभरोसा पाएपछि ती शिक्षक उक्त विद्यालयबाट विदा हुनेबारेमा सोच्ने प्रश्नै रहेन । उनी जे जसरी पनि त्यही विद्यालयमा हाजिर हुने दौडमा रहेको स्थानीय अभिभावकहरूको गुनासो छ । अभिभावकहरूका अनुसार पढाउन त उनले कहिले पढाएका थिए र ? हजिर भएपछि तलब पाक्ने भयो, त्यो पकाउने मात्र ध्यान्नमा छन् उनी । करिब एक वर्ष अघि पनि बेसीशहर स्थित सुनौलो भविष्य बचत सहकारीको ठगी काण्डमा मुछिएर (जिल्ला अदालतमा धरौटीमा रिहा भएका) थकित यात्री तीन महिनासम्म गैह्र हाजिर भएका थिए विद्यालयमा तर पनि उनको त्यो अवधिको तलब काटिएन । यसबाट पनि बुझ्न सकिन्छ उनले त्यो विद्यालयमा के कति हैकम वा दादागिरी मच्चाएका छन् ।
ऐलेको यो काण्डमा पनि थकितले जे जसरी पनि त्यही विद्यालय टिक्न(हाजिर हुन)का लागि शक्ति केन्द्रहरू धाइरहेको स्रोतहरूले उल्लेख गरेका छन् ।
न्याय कति दुरुह ?
यो देशमा निर्धा निमुखाका लागि न्याय कति दुरुह ? छ भन्ने ज्वलन्त नमूना समेत बनेका छन्– उनै थकित यात्री । जसले आफ्नो निवास(भोटेओडार)मा पार्किङ गरिराखेको निजी गाडी तोडफोड (रातको समयमा) गरेको (२०७८ माघ) अभियोगमा(सिसिटिभी फुटेजबाट उनको पहिचान खुलेको) जिल्ला प्रशासन कार्यालयमा दुई वर्षसम्म मुद्दा चल्दा, त्यसलाई झिसमिस बनाउन निकै दौडधुप गरे । तर पनि सफल भएनन् । अन्ततः २०८० सालको चैत २५ गते जिल्ला प्रशासन कार्यालयले निजले उक्त गाडीको मर्मत खर्च बेहोर गर्नुका साथै गाडी धनीलाई १६ हजार एक सय रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीबाट आदेश भएको थियो । तर त्यो आदेशलाई धोती गाउनका लागि पनि उनले निकै पापड पेले । यो सबै शक्तिको खेलबाट भएको र के केसम्म हुदो रहेछ भन्ने यो घट्ना(मुद्दा) नमूना उदाहरण हो ।
तर लामो अवधिसम्म राज्य शक्तिको दुरुपयोग गरेकै कारण जिल्ला प्रशासन आफैले गरेको आदेशको त्यो क्षतिपूर्ति भर्नका लागि यात्री महोदयलाई पत्रसमेत लेख्न सकेन । अन्ततः २०८३ असार ३० गते जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेख्यो । तर पनि त्यो पत्र जिल्ला प्रहरी कार्यालयमै सडाउनेसम्मको अवस्था सिर्जना गर्र्ने प्रयाससमेत भयो । त्यो पत्रको कारवाहीलाई पनि अघि नबढाउन निकै प्रयास भए, गरियो । पत्र जिल्ला प्रहरी कार्यालयकै दराजमा थन्किएर रह्यो । अन्ततः हिजो भदौ २४ गते थकित यात्री जिल्ला प्रशासन कार्यालयमा आफै उपस्थित भएर उक्त क्षतिपूर्ति रकम १६ हजार एक सय रुपैयाँ बुझाएको जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।
एक समय शिक्षाको हब : ऐले दादागिरीको केन्द्र
लमजुङको भोटेओडार एक समय शिक्षाको हब मानिने गर्दथ्यो । त्यो यहाँ वि. सं. २०२४ सालमा स्थापना गरिएको भक्ति नमूना मा विको कारणले सम्भव भएको थियो । तर यतिबेला भने सो मावि एकदुई व्यक्तिको दादागिरीको हब बन्न गएकोमा अभिभावक एवम् यो क्षेत्रका शिक्षाप्रेमीहरूले चिन्ता व्यक्त गर्नु भएको छ ।
वि. सं. २०२४ सालमा यहाँको समाजका अगुवा, शिक्षासेवीहरूलाई साथ दिएर गौरेटाको गाग्री ताउलो, नाक कानका गहना, हातमा लगाएका औँठी, घडी तथा खला र तलाको धान, त्यस्तै भकाराको भैंसी, गोरु दान दिएर स्थापना गरेको विद्यालय ऐले एकादुई व्यक्ति बोक्सीले उठाएर पठाएका छौँडा नाचेझंै, कोब्रा, गोमन सर्प नाचेझैँ नाच्ने गरेका छन् ।
अचम्म त के छ भने स्वार्थ मिलिञ्जेल चाटाचाट र स्वार्थ बाझिएपछि काटाकाट गर्ने प्रवृत्तिले विद्यालयको सिङ्गो जगत तहस नहस भएको धेरै समय भएको उक्त विद्यालयका सुभचिन्तकहरूले बताउनु भएको छ । उहाँहरूको चिन्ता यस्तो स्थितिको जानकारी पटक पटक गराउँदा पनि स्थानीय सरकार रमिते भएर बसेको हुँदा स्थानीय तहलाई शिक्षाको अधिकार बाँदरको हातमा नरिवल जस्तो हुँदै गएको छ ।
सो विद्यालयमा २०३० सालमा लक्का जवान भएको बेलादेखि वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले प्रधानाध्यापकका रुपमा ३६ वर्षसम्म खेल्नु भएको भूमिकाले त्यो ठाउँलाई उर्बर(शैक्षिक हव) बनाएको हो । उहाँको पालामा शैक्षिक मात्र हैन विद्यालयमा साहित्यिक वातावरण पनि उत्तिकै मौलाएको थियो । अन्तिम क्षणमा अनेक बहाना बनाई उहाँलाई पनि अपमानजनक शैलीमा उहाँको वहिरगमन गराइयो ।
तर पछि योग्यता समान भएपनि उहाँभन्दा अनुभवमा धेरै कम भएका व्यक्तिलाई प्रधानाध्यापक बनाइयो । त्यसपछिका प्रधानाध्यापक यज्ञराज घिमिरेले श्रीमतीको उपचार पनि भन्न पाउनु भएन काठमाडौैंंमा श्रीमतीलाई लिएर अस्पतालमा उपचार गराइरहदा त्यही गएर जानीनामा लेख्न बाध्य पारियो । त्यतिमात्र हैन सनाखत समेत भिडियो कलबाट गराइएका जस्ता घट्नाले विद्यालयमा गुण्डाराजको विगविगी भएको चप पुष्टि हुन्छ ।
ऐले करिब दुई दशक अवधि यतादेखि विद्यालयमा चल्ने चलाइने गुण्डाराज देख्नेलाई भन्दा सुन्नेलाई लाज भने जस्तो हुन गएको छ ।
अब भोटेओडारले आफ्नो पुरानो साख जोगाउनका लागि अरुको मुख नताकी तथा ढिला नगरी स्थानीय शिक्षा प्रेमी जनता २०२४ साल र २०३० सालमा जस्तै जुर्मुराएर विद्यालयको आफ्नो पहिचान कायम गरि स्वस्थ शैक्षिक वातावरण सिर्जना गर्न विद्यालय व्यस्थापन समितिले चालेका हरेक सकरात्मक पाइलामा साथ दिन जरुरी छ ।
एक विश्स्थ सुत्रका अनुसार ऐले सुन्दरबजार नगरपालिकाको कार्यपालिका बैठक तयारीमा रहेको र उनै थकित यात्रीको विषयसमेत बैठकको एजेण्डामा रहेको बुझिएको छ ।

प्रकाशित मिति २०८३ भाद्र २५, बिहीबार ०८:२५ गते
हजुरको प्रतिक्रिया