पर्यटन केवल रमाइलोको यात्रा मात्र होइन, इतिहास बुझ्ने जीवन्त साधन पनि हो । इतिहासमा रुचि राख्ने पर्यटकका लागि हरेक नयाँ गन्तव्य एउटा खुला संग्रहालय हो । अर्घाखाँची भुरे–टाकुरे राजाका पालादेखि नै छुट्टै पहिचान भएको जिल्ला हो । अर्घाखाँची हिमालसँग नजोडिए पनि तराईको काखमा बसेका सुन्दर डाँडाकाँडा, ऐतिहासिक कोटगढी र मठमन्दिरहरूले गर्दा यहाँ धेरै पर्यटक पुग्दछन । अर्घाखाँचीको गौरवपूर्ण इतिहासका धेरै पाटा अझै अदृश्य छन । त्यही अदृश्य इतिहास नै पर्यटनको छुट्टै खोजीको विषय बनेको छ ।
पर्यटनका लागि अर्घाखाँचीमा सुपादेउराली, खाँचीकोट र अर्घाकोट धार्मिक तथा बाइसे–चौबीसे राज्यको इतिहाससँग जोडिएका छन भने मथुराबेसीको लामपाटी नेपालको आधुनिक राजनीतिक इतिहासको मोडसँग जोडिएको छ । त्यसैले इतिहासमा रुचि राख्ने पर्यटक अर्घाखाँची जाँदा लामपाटी पुग्न खोज्छन । सन्धिखर्क नगरपालिका– ५, मथुराबेसीको लामपाटीलाई जंगबहादुर राणाको जन्मभूमि मानिन्छ । तर लिखित इतिहास र लोकस्मृतिमा उनको जन्मथलो भने फरक छ । लोकस्मृति सत्यको बढी नजिक हुन्छ, जसको पछाडि रोचक मौखिक इतिहास र प्रमाणहरु हुन्छन । इतिहासमा जंगबहादुरको जन्म थापाथली, काठमाडौं अथवा बोरलाङ, गोरखा भनिए पनि स्थानीय बुढापाकाको मौखिक स्मृति र केही इतिहासकारको अनुसन्धानले अर्घाखाँचीको लामपाटीलाई नै जन्मस्थान मान्दछ । इतिहासकार प्रा. दिनेशराज पन्त र युवराज शमशेर जबराका अनुसार जंगबहादुरको जन्म लामपाटीमा भएर बल्कोटमा न्वारान भएको थियो । जसको दाबी राजा सुरेन्द्र शाहको पालामा जारी चारवटा लालमोहरकै आधारमा गरिएको छ ।

जंगबहादुरको जीवनी पढेका वा सुनेका धेरै पर्यटक अर्घाखाँची घुम्न जाँदा जंगबहादुर जन्मिएको मथुराबेसीको लामपाटी पुग्न खोज्छन । जंगबहादुरको जीवनीमा रोचक कथा र प्रशंग धेरै छन । सारमा भन्नु पर्दा उनी एक कुशल कूटनीतिज्ञ, साहसी सैनिक र चतुर शासक थिए । उनले तत्कालीन शक्तिशाली बेलायती साम्राज्यबाट नेपाललाई जोगाए, तर जनताको प्रजातान्त्रिक अधिकार खोसेर निरंकुश वंशीय शासन सुरु गरे, जुन वि.सं.२००७ सालमा मात्र अन्त्य भयो । जंगबहादुरको इतिहास पढेर लामपाटी पुग्ने पर्यटक छक्क पर्छन र आफैं खोज अनुसन्धानमा लाग्छन । जंगबहादुर जन्मिएको जंगल कहाँ हो ? न्वारान गरिएको बल्कोटको चौपारी कता छ ? आमा गणेशकुमारी बसेको ठाउँ कहाँ हो ? भनेर सोधखोज गर्न थाल्छन । लामपाटीमा पर्यटकको मन सबैभन्दा बढी बीसखुट्टे दरबार र पौवाले तान्छ । जंगबहादुर प्रधानमन्त्री भएपछि आफू जन्मिएको ठाउँ बिर्सिएनन् । उनले आफ्नी आमाको सम्झनामा लामपाटीमा २० वटा थाम भएको बिसखुट्टे पौवा, दरबार र बगैंचा आफ्नै जेठान कर्नेल सनकसिंह टण्डनलाई बनाउन लगाएका थिए । नेपालमा अन्यत्र यस्तो बीसखुट्टे पौवा भेटिँदैन ।
जंगबहादुरको न्वारान भएको ठाउँमा बनेको विचित्रको पौवा वि.सं. १९०४ मा सुरु गरेर १० वर्ष लगाएर बनाइएको थियो । पौवाको परिसरभित्र शिवालय, मन्दिर, काठमा कुँदिएका कलात्मक मूर्ति र कतै अश्लिल मानिने आकृति समेत छन । लामपाटी नजिकै मथुराधाम पनि छ, जहाँ द्वापर युगमा श्रीकृष्णले बाललीला गरेको विश्वास गरिन्छ । वि.सं.२०४३ मा योगी नरहरिनाथले यसै स्थानमा १६ औं कोटिहोम सञ्चालन गरेका थिए । बीसखुट्टे पौवा वरपर रहेको ठूलो पोखरी पुरिएको र पुराना जमिनहरू अतिक्रमणमा परेकाले तिनको पूर्ण संरक्षण र व्यवस्थापन गर्न अझै बाँकी रहेको स्थानीयको भनाइ छ । जंगबहादुर जन्मिएको ठाउँमा अहिले निजी घर निर्माण भएको छ । लामपाटीको बीसखुट्टे पौवा काठमाडौंको कुनै राणा दरबारको नक्कल होइन, यो त राणा शासन सुरु हुनुभन्दा अघिको मौलिक इतिहासको जग हो । त्यसैले किताबमा पढेको इतिहास र धरातलमा देखिएको प्रमाण बीचको अन्तर के होला भनेर बुझ्नकै लागि पनि इतिहासमा रुचि भएका पर्यटकहरू लामपाटी पुग्ने गर्छन ।

जंगबहादुर अर्घाखाचीको लामपाटीमा जन्मेको प्रसंग यस्तो छ । जंगबहादुरका बुबा बालनरसिंह कुँवर प्युठान बारुदखानाका प्रमुख हुनुहुन्थ्यो । वि.सं.१८६९ मा जुम्ला सिञ्जाको गुठी विवाद मिलाउन खटिँदा उहाँले पत्नी गणेशकुमारीलाई पनि साथै लैजानुभएको थियो । जुम्लामै रहँदा गणेशकुमारी गर्भवती हुनुभयो । त्यसबेला माइतीमा गएर सुत्केरी हुने चलन अनुसार गोरखा माइतीघर फर्कने क्रममा वि.सं.१८७४ असार ५ गते अर्घाखाँचीको वाङला र मथुराबेसीको लामपाटीको जंगलमा सात महिनामै जंगबहादुरको जन्म भयो । जंगलमै सुत्केरी भएकी गणेशकुमारीलाई नजिकैका पाण्डे किसानले स्याहार गर्नुभयो र पछि बल्कोटको पौवामा लगेर राख्नुभयो । त्यहीँ खनाल ब्राह्मणले ११ औं दिनमा न्वारान गरी नाम वीरनरसिंह राखिदिनुभयो, जो जंगे स्वभावका कारण पछि जंगबहादुर भए । आमा गणेशकुमारी केही तंग्रिएपछि त्यो बेलाको हुलाकी मार्ग रिडी, स्याङजा, पोखरा, लमजुङ हुँदै गोरखा पुग्नुभएको थियो ।
जंगबहादुरको जन्मस्थलबारे तीन थरी दाबी भए पनि इतिहासको मूलधारमा दुई वटा मात्र लेखिएको छ, तेस्रो अर्घाखाँचीको लामपाटी भने भर्खरैको अनुसन्धानले बलियो बनेको हो । पहिलो, थापाथली उनको जन्मघर होइन, निजी निवास थियो । उनी प्रधानमन्त्री भएपछि परिवारको सबै पालनपोषण थापाथली दरबारमै भएको थियो भनेर गोरखापत्रमै पनि उल्लेख छ । जहाँ हुर्कियो, शक्तिशाली भयो, त्यहीँलाई पछि जन्मस्थान भनेर लेखिदिने चलनले थापाथली भनिएको हो । दोस्रो, बोरलाङ आफैंमा थापा खलकको थलो हो, जहाँ भीमसेन थापा, माथवरसिंह थापा लगायतको जन्म भएको मानिन्छ । जंगबहादुरकी आमा गणेशकुमारी थापा, माथवरसिंह थापाकी बहिनी हुन । त्यसैले आमा माइत जाँदा मामाघरमै जन्मिएको भन्ने सांस्कृतिक तर्क गरिन्छ, जसको भौतिक प्रमाण छैन । त्यसैले थापाथली कर्मथलो हो, बोरलाङ मामाघरको सांस्कृतिक सम्बन्ध हो भने लामपाटी जन्म र न्वारान भएको स्थान हो । अहिले सबैभन्दा बलियो प्रमाणसहित आएको मत हो अर्घाखाँचीको लामपाटी, मथुरामा जन्म र बल्कोटमा न्वारान । नेपालमा अन्यत्र नभएको कलात्मक २० थामे पौवा र न्वारान भएको बल्कोटमा बनेको विचित्र पौवाबारे राजा सुरेन्द्रको पालामा ४ वटा लालमोहर लागेको कुरा इतिहासकार प्रा. पन्त र जबराले उल्लेख गरेका छन । अहिले सन्धिखर्क नगरपालिकाले लामपाटीको पौवा दरबारलाई जन्मस्थल मानेर संरक्षण गरी पर्यटकीय स्थल बनाएको छ । जन्मस्थल विवादको कारण जंगबहादुर आफैंले जन्मस्थललाई रहस्यमय राख्न चाहनु हो । राणाहरूले जन्मकुण्डली र वंशावली आफू अनुकूल बनाउँथे । इतिहासकारहरूले पनि तिथिमिति भएको भोटपत्र जस्ता प्राथमिक दस्तावेज खोजेनन । बरु बेलायत भ्रमणका बेला अंग्रेजले लेखेको र दरबारले लेखाएको जीवनीलाई नै सत्य माने । अहिले इतिहासकारहरू बिस्तारै अर्घाखाँची, मथुरामा जन्मिएको मतमा सहमत हुँदैछन । तर लेखकहरूले नयाँ अनुसन्धान नपढने भएकाले पाठयपुस्तकमा भने अझै पुरानै कुरा छ ।

राणाकालको इतिहास पढ्ने सबै पर्यटकलाई एउटै कौतुहलता हुन्छ । कोतपर्व र भण्डारखाल पर्वबाट उदाएर बेलायत र फ्रान्स घुम्ने पहिलो नेपाली शासक जंगबहादुरको जन्मभूमि कहाँ हो ? इतिहासले उनको जन्म वि.सं.१८७४ असार ७ गते, बुवा काजी बालनरसिंह कुँवर र आमा गणेशकुमारीबाट भएको र जन्म नाम बीरनरसिंह कुँवर थियो भन्छ, तर जन्मिएको ठाउँमा भने इतिहास आफैं अलमलिएको छ । थापाथली दरबार काठमाडौंको सबैभन्दा पुरानो र ऐतिहासिक दरबार हो । थापाथली भन्नाको अर्थ नै थापाहरूको निवास हो । यसको सुरुवाती निर्माण बगाले थापा घरानाका काजी नैनसिंह थापा, मुख्तियार भीमसेन थापाका भाइले गरेका हुन । नैनसिंह थापा अमरसिंह थापा अर्थात सानुकाजीका परिवारका हुन । यो दरबार नैनसिंह थापाकै छोरीका सन्तान जंगबहादुर राणाले पछि हत्याए अर्थात कब्जा गरेका हुन । जंगबहादुर सत्तामा आएपछि त्यही ठाउँमा सन १८५२– १८५५ तिर युरोपेली शैलीको थापाथली दरबार, गोल बैठक, चार बुर्जा दरबार, बबरमहल लगायत उनले नै बनाउन लगाएका हुन । यसका वास्तुकार रणशुर बिष्ट थिए । दरबार बनाउँदा शाह राजा गीर्वाणयुद्ध र राजेन्द्र थिए तर शासन भीमसेन थापाको थियो, र पछि विस्तार गर्दा शाह राजा सुरेन्द्र थिए तर असली शासक जंगबहादुर राणा थिए ।
जंगबहादुरको जीवनीमा पद्मजंग राणाले लेखेका छन, पिता बालनरसिंह कुँवर, माता गणेशकुमारी थापा जो काजी नैनसिंह थापाकी छोरी र भीमसेन थापाकी भतिजी हुन, र जन्म थापाथली । यो किताब अंग्रेजीमा लेखिएको थियो । यही किताबलाई आधार बनाएर बेलायती इतिहासकार जोन ह्वेल्प्टनले राजा, सिपाही र पुजारीहरू, नेपाली राजनीतितिर जंगबहादुरको उदय भन्ने पुस्तक लेखेका छन । जसमा उनले पीएचडी गर्दा पद्मजंगको पुस्तकलाई स्रोत मानी जन्म थापाथली भनेर लेखेका छन । पछि जंगबहादुरबारे पुस्तक लेख्नेहरूले पनि यिनै पुस्तकलाई आधार मानेर थापाथली भनेका पाइन्छ । तर बल्कोट पौवाको शिलालेख र स्थानीय बुढापाकाको भनाइ अनुसार जन्म अर्घाखाँचीको मथुराको लामपाटी भएको हो । विदेशी लेखकहरूले थापाथली उनको मामाघर र हुर्केको ठाउँ भएकाले जन्मथलो भनेर झुक्किएर लेखेका हुन सक्दछन ।

इतिहास लेख्नेले सत्य तथ्य नखोजी लेखिदियो भने इतिहास विवादित बन्छ, र त्यसकै आधारमा विद्यावारिधि भयो भने इतिहास नै बिग्रन्छ । नेपालमा यही भएको छ । प्राथमिक स्रोत लालमोहर, ताम्रपत्र, सनद, समकालीन पत्राचार, अंग्रेजी रेजिडेन्सीका रिपोर्ट नखोजी दोस्रो, तेस्रो पुस्ताका संस्मरण, सुनेको कुरा र दरबार निकटले लेखेको स्तुतिलाई नै इतिहास भनेर लेखियो । पछि इतिहास लेख्नेले त्यही विवादित किताबलाई स्रोत सामग्री बनाएर अर्को किताब लेखे । जंगबहादुर राणाको जन्मस्थल त्यसको सबैभन्दा राम्रो उदाहरण हो । सत्य, तथ्य नखोजी लेखिएको विवादित इतिहासले समाजलाई सही बाटो देखाउनुको साटो भ्रम र द्वन्द्व सिर्जना गर्छ । यसको असर धेरै क्षेत्रमा पर्छ । यसले कुनै जाति, धर्म, क्षेत्र वा समुदायलाई ठूलो र अर्कालाई सानो देखाउँछ र हामी र उनीहरू भन्ने भावना जन्माउँछ । जसले नेपाल जस्तो विविधतायुक्त देशमा सामाजिक सदभाव भत्काउँछ र एकतालाई कमजोर बनाउँछ । तथ्यहीन इतिहासले युवापुस्तामा आफ्नो संस्कृति, भाषा र पुर्खाप्रति गलत बुझाइ पैदा गर्छ । यो सबैभन्दा बढी राजनीतिमा प्रयोग हुन्छ । जहाँ कुनै दल वा नेताले आफूलाई फाइदा पुर्याउन इतिहासलाई तोडमोड गरेर प्रस्तुत गर्छ, जसले जनता भावनात्मक रुपमा उत्तेजित हुन्छन र राजनीतिक अस्थिरता बढछ । गलत कुरा पाठयपुस्तकमा पुग्यो भने लाखौं विद्यार्थीले गलत कुरा सत्य मानेर सिक्छन र एक पुस्ताको गलत सिकाइले अर्को पुस्तालाई पनि गलत दिशा दिन्छ । पछि सत्य पत्ता लाग्दा शिक्षाप्रणाली र इतिहासकारप्रतिको विश्वास नै हराउँछ ।

इतिहासकै आधारमा सीमा, सन्धि र भूमिको स्वामित्वको प्रमाण खोजिन्छ । तथ्यहीन इतिहास लेखिएमा लिपुलेक, कालापानी जस्ता राष्ट्रिय मुद्दाहरूमा अन्तर्राष्ट्रिय अदालत वा कुटनीतिमा हाम्रो पक्ष कमजोर हुन्छ । एकपटक इतिहास झुटो सावित भएपछि मानिसहरू सबै इतिहासलाई शंका गर्न थाल्छन, जसले साँचो र मिहिनेत गरेर खोजिएको इतिहासको पनि मूल्य घटाइदिन्छ । इतिहास भनेको कथा मात्र होइन, प्रमाणमा आधारित विज्ञान हो । त्यसैले इतिहासकारले किंवदन्तीको भरमा होइन, शिलालेख, ताम्रपत्र, वंशावली, अभिलेख र प्रत्यक्ष प्रमाणको आधारमा सत्य खोज्नुपर्छ । सत्यमा आधारित इतिहासले समाजलाई जोडछ, झुटमा आधारित इतिहासले समाजलाई तोडछ । पर्यटन क्षेत्रमा इतिहास कहिल्यै पुरानो हुँदैन । कुनै स्थानको प्राचीन इतिहास होस वा भर्खरै घटेका घटनाहरू, दुवै पर्यटकका लागि आकर्षणको आधार बन्न सक्छ । पर्यटन मूलतः अनुभूति र रोचकतासँग जोडिएको हुन्छ र यी अनुभूतिहरू समयसँगै पुराना हुँदैनन । पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ, त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन । शताब्दीयौँ पुरानो भए पनि हरेक पुस्ताले यसलाई नयाँ अनुभवका रुपमा लिन्छ । पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन, ऐतिहासिक स्थलले पनि पर्यटकलाई आकर्षित गर्छ र पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्छ, उसको लागि त्यो नयाँ अनुभव हुन्छ ।

इतिहास लेखन भित्रको इतिहास :
नेपालको बारेमा इतिहास पुस्तक लेख्ने पहिलो व्यक्ति विदेशी लेखक कर्नेल विलियम कर्कप्याट्रिक हुन्। तत्कालीन इस्ट इन्डिया कम्पनीका सैन्य अधिकारी उनी वि.सं.१८४९ मा बहादुर शाहको निमन्त्रणामा नेपाल आएका थिए र यहाँ रहँदा संकलन गरेको सूचनाका आधारमा सन् १८११ अर्थात वि.सं.१८६८ मा उनको पुस्तक प्रकाशित भयो । यसलाई नेपालबारे लेखिएको पहिलो इतिहास मानिन्छ । तर नेपाली भाषामा नेपालको इतिहास लेख्ने पहिलो नेपाली इतिहासकार पण्डित अम्बिकाप्रसाद उपाध्याय हुन । उनको नेपालको इतिहास सन् १९२२ अर्थात वि.सं.१९७९मा बनारसबाट प्रकाशित भएको थियो । इतिहासकार महेशराज पन्तले पनि नेपालीले लेखेको पहिलो इतिहास यही हो भनेर उल्लेख गरेका छन । तर पनि वैज्ञानिक र प्रमाणिक इतिहास लेखन सुरु गर्ने पहिलो इतिहासकार भने शिरोमणि बाबुराम आचार्य हुन । उपाध्यायले पहिलो पुस्तक लेखे पनि प्रमाण खोजी गरी तथ्यलाई अन्य प्रमाणसँग भिडाएर इतिहास लेख्ने पहिलो लेखक आचार्य नै भएकाले उनलाई आधुनिक नेपालको वैज्ञानिक इतिहास लेखनका जनक मानिन्छ ।

कर्कप्याट्रिकको कृतिलाई इतिहास भनिए पनि त्यो पुरातात्विक इतिहास नभई नियोगको प्रतिवेदन हो । उनी इतिहासकारका रुपमा होइन, सन् १७९३ मा नेपाल–चीनबीच मध्यस्थताको बहानामा कम्पनीको जासुसी र राजनीतिक उद्देश्यले आएका थिए । उनलाई नुवाकोटमा राखिएको थियो र काठमाडौं उपत्यका घुम्न पनि धेरै छुट थिएन । त्यसैले उनको पुस्तक नेपालबारे पहिलो अंग्रेजी किताब त हो, तर देखे सुनेको टिपोट मात्र हो । इतिहासकार महेशराज पन्तले भने जस्तै कर्कप्याट्रिक र ह्यामिल्टनमा सूक्ष्म अवलोकन थियो, तर स्रोत भाषा र प्राचीन लिपिको ज्ञान थिएन । उनले लिच्छविकालका मानदेव, अंशुवर्माका शिलालेख, गोपालवंशावली, पशुपति वंशावली, मल्लकालका ताडपत्र ताम्रपत्र, संस्कृत, नेपालभाषा र ब्राह्मी लिपि बुझेका थिएनन । त्यसैले गोपालवंशदेखि मल्ल र शाहकालसम्मको क्रमबद्ध वंशावली, राज्य विस्तार र प्रशासनिक संरचना उनको पुस्तकमा पाइँदैन । भएको कुरा बाटोको वर्णन, दरबारको राजनीति, भौगोलिक अवस्था र सेनाको अनुमान जस्ता बाहिरी अनुभव मात्र हुन ।

लिच्छविकाल सांस्कृतिक स्वर्णयुग हो भन्ने कुरा शिलालेख, मूर्तिकला, मन्दिर र जलप्रणालीको अध्ययनपछि मात्र बुझियो, जुन कर्कप्याट्रिकको बेलासम्म सुरु नै भएको थिएन । त्यसैले भन्न सकिन्छ कर्कप्याट्रिकले नेपालको इतिहास लेखनको ढोका खोलिदिए, तर उनको कृति विदेशी आँखाबाट देखेको बाहिरी टिपोट मात्र हो । भित्रको अभिलेखमा आधारित पुरातात्विक इतिहासको काम पछि सिल्भाँ लेवी र बाबुराम आचार्यहरूले शिलालेख पढेर पूरा गरेका हुन ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलो रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ भाद्र २५, बिहीबार ०६:४२ गते