
बेसीशहर– लमजुङमा प्रदेश आयुर्वेद चिकित्सालय लमजुङद्वारा जिल्लामा पहिलो पटक पाँच वर्ष मुनीका बालबालिकालाई स्वर्ण थोपा खुवाउने काम भएको छ । एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई आफ्नै कार्यालय हातामा बोलाएर प्रदेश आयुर्वेद चिकित्सालयले सो कार्य भदौ २३ गते गरेको हो ।
कुल ८२२ बालबालिकालाई स्वर्ण थोपा खुवाउने काम भएको कार्यालयले जनाएको छ । स्वर्ण थोपा खुवाइएकामध्ये ४२२ बालक र ३६७ बालिका रहेको आयोजक प्रदेश आयुर्वेद चिकित्सालयका सूचना अधिकारी सावित्री न्यौपानेले बताउनु भयो । उहाँका अनुसार यो स्वर्ण थोपा पुण्य नक्षत्रको दिनमा खुवाउने प्रचलन छ । नक्षत्र अनुसार खुवाउने कार्यक्रम हुने हुँदा अन्य खोपको जस्तो निश्चित यो गते भन्ने र्नै हुँदैन । असोजमा १९ गते परेको जस्तो लागेको छ न्यौपानेले जानकारी दिनुभयो । अपेक्षाभन्दा बढी बालबालिका आएको पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो कार्यक्रम लमजुङमा पहिलो पल्ट लागू भएको हो ।’ अब हरेक महिना हुन्छ । कार्यक्रम हुनु दुई दिन अघिसम्म अनलाइन फार्म भर्ने संख्याका आधारमा स्वर्ण थोपा तयार गरिन्छ न्यौपानेले जानकारी दिनुभयो । यो औषधि तयार गर्न नै तीन घण्टाको समय लाग्छ । बनाइसकेको २४ घण्टा भित्र सेवन गरिसक्नु पर्ने हुन्छ सूचना अधिकारी न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार एक वर्ष उमेर पुगेका र पाँच वर्ष उमेर नकटेका बालबालिकालाई स्वर्ण थोपा खुवाइनछ ।
एक वर्ष उमेर पुरा भएकादेखि पाँच वर्ष उमेर ननाघेको समूहका त्यतिका संख्याका बालबालिकाहरूलाई स्वर्ण थोपा खुवाउने काम पहिलो पल्ट गराइएको सो कार्यालयका प्रमुख डा. कुमार कासुलाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यस दिन सार्वजनिक बिदा भए पनि तयारीका हिसावले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरिएको हो ।’
सो कार्यमा कार्यालय प्रमुख डा. कुमार कासुला, वैद्य निरीक्षक प्रेमप्रसाद पौडेललगायत स्वास्थ्यकर्मी बिदाको दिन भए पनि दिनभर खटिनुभई उक्त कार्यक्रम सम्पन्न गर्नु भएको थियो । आयुर्वेदिक चिकित्सा पद्धतिमा स्वर्ण थोपा प्राशनलाई बालबालिकाको शरीरमा प्रतिरोधात्मक क्षमता बृद्धि, पाचनमा सुधार हुनुका साथै स्मरणशक्ति तथा शारीरिक र मानसिक विकासका लागि अति उपयोगी मानिन्छ ।
प्रकाशित मिति २०८३ भाद्र २४, बुधबार १९:१६ गते