काठमाडौं– नेपाली वाङमयका क्षेत्रमा फरक पहिचान बनाउन सफल बन्दै आएको नइ प्रकाशनले फेरि नयाँ पाना थप गरेको छ । नेपाली वाङमयको इतिहासमा ‘नइ उपकार कोष’को स्थापना गरेर नइले थप ऐतिहासिक कार्य गरेको हो, त्यसका लागि दस लाख रुपयाँ अक्षयकोषको ‘नइ उपकार कोष’को स्थापनाको घोषणा असोज २९ गते गरिएको हो ।
उक्त कोषको व्याज रकमबाट नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोग गर्ने उद्देश्यले ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपयाँ अक्षयकोष राखिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।
उहाँका अनुसार ‘नइ उपकार कोष’लाई बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले दाताहरूसँग आह्वान समेत गरेको छ । उहाँले भन्नुभयो, ‘नइ उपकार कोष’को अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरूको नामावली नइको फेसबुक र वेभसाइटमा राखिनाका साथै हर साल ‘नइ अभिलेख’मा समेत प्रकाशित गर्ने नीति लिएको छ ।
सो कार्य वा निर्णय नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले आजै सो निर्णय गरेको हो ।
प्रकाशित मिति २०८० आश्विन २९, सोमबार १८:५१ गते