दोर्दीमा सञ्चालित निःशुल्क आँखा उपचार शिविर आज एक दिन थपियो

दोर्दीमा सञ्चालित निःशुल्क आँखा उपचार शिविर आज एक दिन थपियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ३ गते शनिवार ११:१०

शल्यक्रिया गरिएका बिरामीलाई दोर्दी गाउँपालिकाले आवासको समेत व्यवस्था गरेको र निःशुल्क जाउलो साथै चियापानको व्यवस्था गरिएको छ । साथमा विरामीलाई सचेतना सहित औषधी र कालो चश्मा वितरण गरिएको छ ।

दोस्रो दिन ४ सय ४९ जनाले सेवा लिए, ५० जनाको मोतियाविन्दूको शल्यक्रिया

नौथर(लमजुङ)– दोर्दी गाउँपालिकाले गाउँपालिका केन्द्र नौथर शेरामा सञ्चालन गरिरहेको निःशुल्क आँखा उपचार शिविर एक दिन थप गरिएको छ । शल्यक्रिया गर्नुपर्ने अझै ५१ जना बाँकी रहेको हुँदा एक दिन सेवाको अवधि थप गरि चैत ३ गतेसम्म चल्ने भएको छ ।
शिविरको दोस्रो दिन ४४९ जना नागरिकले सेवा लिएका थिए । ती मध्ये ५० जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको छ । शल्यक्रिया गर्नुपर्ने अझै ५१ जना बाँकी रहेको हुँदा शिविरका लागि दिन थप गर्नु पर्ने भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार शिविरको पहिलो दिन बिहीबार ३५ जनाको शल्यक्रिया गरिएकोमा आँखाको पट्टी खोलिएको छ । उहाँले भन्नुभयो, ‘शल्यक्रिया गरिएका विरामीलाई सचेतना सहित औषधी र कालो चश्मा वितरण गरिएको छ ।’
पहिलो दिन र दोस्रो दिन गरी ८ सय ५७ जनाले ओपीडी सेवा लिएका दोर्दी गाउँपालिका अध्यक्षका स्वकीय सचिव हरि घिमिरेले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन र दोस्रो दिन गरी ८५ जनाको शल्यक्रिया गरिसकिएको छ । शल्यक्रिया गरिएका विरामीको आँखा आज बिहान खोल्ने काम गरी औषधीसहित कालो चश्मा वितरण गरिएको छ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोग, मुटु फाउण्डेशन काठमाडौं र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र शान्ति मिलन युवा क्लव नौथर शेरा लमजुङको सह–आयोजनमा दोर्दी गाउँपालिकाको कार्यालयले शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार शिविरमा पालिकाबासीको घुइँचो लागेको छ, शल्यक्रिया गर्नुपर्ने विरामीहरू धेरै नै बाँकी भएकाले शिविर १ दिन थप गरिएको हो ।
शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कमल बहादुर खड्का सहित १५ जनाको प्राविधिक टोलीले सेवा दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार शिविरमा आँखा पाकेको, रातो भएको, मोतियाविन्दु भएका विरामीको निःशुल्क उपचार गरिएको छ । उहाँले भन्नुभयो, ‘शल्यक्रिया गरिएका बिरामीलाई दोर्दी गाउँपालिकाले आवासको समेत व्यवस्था गरेको र निःशुल्क जाउलो साथै चियापानको व्यवस्था गरिएको छ ।’

प्रकाशित मिति २०८० चैत्र ३, शनिबार ११:१० गते
हजुरको प्रतिक्रिया