एमालेको नवौं जिल्ला अधिवेशन शुरु, केहीबेरमा बन्द सत्त सुरु हुँदै : फोटो फिचर समेत

एमालेको नवौं जिल्ला अधिवेशन शुरु, केहीबेरमा बन्द सत्त सुरु हुँदै : फोटो फिचर समेत

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १७ गते शनिवार ०९:३६

अहिले वामगठबन्धन वा समाजवादी मोर्चा बनाउने भन्ने बेकारको कुरा हो : महासचिव पोखरेल

५३३ जना प्रतिनिधि सहभागी

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन जिल्ला सदरमुबाम बेसीशहरमा भएको छ । सो अधिवेशनको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चैत १६ गते उद्घाटन गर्नु भएको हो ।
आफ्नो उदघाटन मन्तव्यमा अहिले वामगठबन्धन वा समाजवादी मोर्चा बनाउने भन्ने बेकारको कुरा भएको बताउँदै पोखरेलले एमाले कसैको लहैलहैमा लाग्ने पार्टी नभएको बताउनुभयो । राजनीतिक स्थायित्व कायम नगरी देश बनाउन नसकिने धारणा व्यक्त गर्नु हुँदै देश बनाउने हो भने बलिया राजनीतिक दल बनाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । त्यस अर्थमा नेकपा एमालेलाई राष्ट्रलाई नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल बनाउन आवश्यक रहेको पोखरेलले उःल्लेख गर्नुभयो ।
राजनीति परिवर्तनले मात्र समाज परिवर्तन नहुने प्रष्ट्याउँदै राजनीतिक परिवर्तन विकास र समृद्धिको साधन मात्र भएकोले राजनीतिक परिवर्तन भयो अब सरकारले गर्छ भनेर चुप लागेर बस्ने बेला नभएको उहाँले भन्नुभयो । राजनीतिक परिवर्तन समाज परिवर्तनको माध्यम मात्र भएको पोखरेलले बताउनुभयो ।
नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले एमालेले हल्ला गरेको भए पुरानो सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्था रहेको दावी गर्नु भएको छ । वर्तमान समीकरण मिसन २०८४ को आधार बनाउने गरी बनेको उहाँले स्पष्ट्याउँदै एमालले घोषणा गरेर गठबन्धन तोड्न चाहेको भए गठबन्धन भत्कने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबाट बाहिर निस्कन चाहेकोले एमालेले समर्थन गरेको उहाँको उल्लेख गर्नुभयो । एमालेमाथिका सबै अवरोधलाई विस्थापित गर्न पार्टी सफल भएको भन्दै एमालले राखेको मान्यता राष्ट्रिय राजनीतिमा स्थापित भएको उहाँले बताउनुभयो ।
एमालेको परिकल्पना समाजवादमा पुग्ने भए पनि अहिले नै समाजवादमा पुग्न नसकिने हुँदा अहिलेको आवश्यकता समाजवादको आधार तयार गर्ने मात्र हो उहाँको भनाइ छ । एमालेको लक्ष्य समाजवाद भएपनि अहिलेको कार्यभार राष्ट्रिय पुँजी विकास गर्नु रहेको उहाँको भनाइ थियो ।
सो अधिवेशनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको आर्थिकस्तर डामाडोल भएको हुँदा गठबन्धन फेर्नु परेको बताउनु भयो । उहाँले देशको विकासको भिजन एमालेसँगमात्र भएको दावी गर्नुभयो । उहाँले पार्टी पंक्ति इमान्दार हुनुपर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमाल हमाल, केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य एवं लमजुङका ८ वटै पालिका इन्चार्ज जमीन्द्रमान घलेलगायतले आ–आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला समन्वय समितिको सभाहल हिजो सुरु भएको अधिवेशको बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रमा पेश हुने प्रतिवेदन छलफल गरी पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । आज मनोनयन दर्ता हुने र भोलि मात्र निर्वाचन हुने संकेत देखिएको छ ।
बन्दसत्र सञ्चालनको लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । यस्तै, समूहगत छलफलको लागि ८ वटै पालिकाको छुट्टाछुट्टै समूह, जिल्ला कार्य समिति समूह र सल्लाहकार तथा लेखा कमिटीको गरी १० वटा समूह बनाइएको छ ।
सो अधिवेशनका लागि जिल्लाभरबाट ५ सय ३३ जना प्रतिनिधि सहभागी छन् । जिल्ला कमिटीका १ सय ७ जना, सल्लाहकार परिषद्बाट १०, लेखा कमिटीबाट ६ र जनसंगठनबाट ४५ जना प्रतिनिधि सहभागी भएका नेकपा (एमाले) लमजुङका जिल्ला सचिव सुभास पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो उदघाटन सत्रमात्र भएको थियो । उहाँले भन्नुभयो, ‘प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’
प्रस्तुत छ फोटो फिचर समेत ।

प्रकाशित मिति २०८० चैत्र १७, शनिबार ०९:३६ गते
हजुरको प्रतिक्रिया