ठूलीबेसी(लमजुङ)– लमजुङमा न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालन गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय बढी लाभान्वित भएका छन् । मर्स्याङ्दी गाउँपालिका– ६ को ठूलीबेसी स्थित सो आयोजनाको सम्पर्क कार्यालयहातामा सो शिविर सञ्चालन गरिएको हो ।
न्यादि हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई स्थास्थ्य सेवा दिने उद्देश्यले उक्त शिविरको सञ्चालन गरिएको हो । सो शिविरमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको थियो । उक्त शिविरको बैशाख १४ गते समापन गरिएको न्यादि हाइड्रोपावर कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत विष्णुराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार शिविरमा पहिलो दिन १ सय ६८ महिला र ७० जना पुरुष गरी २ सय ३८ जनाले सेवा लिएका थिए । त्यस्तै दोस्रो दिन १ सय ९३ महिला र ९२ पुरुष गरि २ सय ८५ जनाले सेवा लिएको उहाँको भनाइ छ ।
शिविरमा निःशुल्क सामान्य चिकित्सा सेवा, हाडजोर्नी सेवा, फिजियोथेरापी सेवा, नाक, कान र घाँटी सम्वन्धि उपचार सेवा, दन्त तथा मुख परीक्षण, स्त्री तथा प्रसुती सेवा, पाठेघरको मुखको क्यान्सर जाँच सेवा, सुगर जाँच सहित निःशुल्क औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । उहाँका अनुसार शिविरमा धुलिखेल अस्पतालका जनस्वास्थ्य अधिकृत अर्जुन बञ्जाडेको नेतृत्वमा १९ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । उहाँले भन्नुभयो, ‘शिविर आयोजनाको सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई स्थास्थ्य सेवा दिने उद्देश्यले गरिएको हो ।’
उहाँले भन्नुभयो, साइड इन्चार्ज युगलाल गुरुङ, मर्स्याङ्दी गाउँपालिका– ६ का वडा अध्यक्ष मिनराशी गुरुङ, आमा समुह, युवा क्लवका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । घर आँगनमै विशेषज्ञ सहितको निशुल्क सेवा पाएपछि त्यसक्षेत्रका नागरिक खुसी भएका छन् । न्यादी हाइड्रोवापरले सामाजिक कार्य अन्तर्गत धुलिखेल अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको जनाएको छ ।
प्रकाशित मिति २०८१ बैशाख १५, शनिबार ११:२१ गते