लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला र उपमेयर भवानी केसी जसले ‘पत्रकारहरू आफ्नो दास होउन’ भन्ने चाहना राख्छन् भन्ने रहस्य पछिल्लो पटक नराम्रोसँग उदाङ्गो भएको छ । त्यस्तो रहस्य असार महिनाको अन्तिम साता अर्थात २४ गते खुलासा भएको हो ।
त्यसो त जुन कुनै पनि सत्ताधारीहरू अधिकांश त्यस्तो चाहना राख्ने हुन्छन् भन्ने पटक पटक यसअघि पनि पुष्टि हुँदै आएको हो । त्यसको पछिल्लो उदाहरण बनेका छन्– सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला र उपमेयर भवानी केसी । उपमेयर भावनी केसीको हरकत अर्थात भ्रष्टाचारका बारेमा गत सातामात्र अन्तरङ्ग न्यूज डटकमले सप्रमाण समाचार प्रकाशन गरेको विदितै छ ।
पाठकवर्गलाई थाहै छ अन्तरङ्गका सम्पादक नवराज पहाडी ‘आफ्नै जिल्लामा बसेर पत्रकारिता गर्नु पर्छ’ भन्ने दृढ संकल्पका साथ यो देशमा प्रजातन्त्र पुनःस्थापनाकालको मिर्मिरे बिहानी (२०४९ साल) जुनबेला जिल्लामा न सडक पक्की थियो, न त जिल्लामा पत्रिका छाप्ने प्रेस नै । त्यसो त आजका दिनमा पनि पत्रिकालाई प्राथमिकताका साथ छाप्ने प्रेसको अभाव खड्किदै आएको छ नै । त्यस्तो समयदेखि आफ्नै नाउँमा पत्रिका (अन्तरङ्ग) दर्ता गरेर प्रकाशनको थालनी गरी जिल्लामा सकेसम्म सुशासन कायम गर्न, निर्धा निमुखा, पीडितहरूको आवाज बन्न सक्दो प्रयास गर्दै आउनु भएको छ– उहाँले सम्पादन प्रकाशन गर्दै आएको अन्तरङ्ग आउँदो भदौमा ३३ औं वर्षमा प्रवेश गर्दैछ ।
पहाडी पत्रकार मात्र नभई सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ । लमजुङमा उहाँ कुनै दिन समाजसेवी संस्था द रेयुकाई नेपालको पर्यायका (संस्थापक अध्यक्ष) रुपमा पनि परिचित हुनुहुन्थ्यो भने आज ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, अर्बुद रोग निवारण संस्थाको जिल्ला अध्यक्ष हुनुका साथै कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । पत्रकार महासंघ लमजुङ लगायत दर्जन बढी संस्थाको संस्थापक अध्यक्ष तथा सचिव एवम् सदस्य हुुनुहुन्छ । पहाडीको नेतृत्व नपाएको भए सायद ठाडोभाका लोककला प्रतिष्ठान नेपाल जन्मिदैनथ्यो र जन्मे पनि आजको उचाई पाउन सक्दैनथ्यो भन्ने ठोकुवाका साथ भन्न सकिने स्थिति बनेको छ ।
गत आर्थिक वर्ष २०७९/८०मा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सुन्दरबजार नगरपालिकामा सो पालिकाका मेयर कोइरालाकै प्रमुख आतिथ्यतामा दुई वटा कार्यक्रम गर्यो । प्रतिष्ठानको तेस्रो अधिवेशन(स्मारिका विमोचन सहित) र ठाडोभाका लोककला प्रतिष्ठान नेपालको सातौं स्थापना दिवसको तीन दिवसीय रुपमा चौंथो ठाडोभाका खुला प्रतियोगिता, तेस्रो बाघ चाल खुला प्रतियोगिताका साथमा विभिन्न व्यक्तित्वलाई सम्मान सहितका कार्यक्रम गर्यो । जुन कार्यक्रमको उदघाटन समारोहमा संविधान सभाका सदस्य जमिन्द्रमान घले र समापनमा मेयर कोइराला नै प्रमुख अतिथि थिए ।
प्रतिष्ठानले ठाडोभाका र बाघ चाल खुला प्रतियोगितामा एक लाख १७ हजार रुपैयाँ वरावरको त पुरस्कार मात्र वितरण गर्ने गरी आएको छ । ती प्रतियोगिता सहितका कार्यक्रम पालिकाहरूमा चक्रीय पद्दति(रोटेसन)मा गर्ने गरिएको छ र प्रायः पालिकाहरूले कार्यक्रमका लागि न्यूनत्तम एक लाख रुपैयाँ प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने गरिआएका छन् । तर विडम्बना ! कृष्ण कोइराला महोदयले नगरपालिकाको बजेट आफ्नो बाबु– बाजेको पैतृक सम्पत्ती झैं ठाने, गत वर्ष होनहारका २/२ वटा कार्यक्रम सम्पन्न गर्दा पनि प्रतिष्ठानलाई सुको पैसा दिन उनको मन पग्लिएन । तर पनि प्रतिष्ठानका अध्यक्ष पहाडीले ‘त्यस्तो के काम गरेको हो मेयरसाहेव ?’ भन्ने प्रश्न मेयरलाई गर्दै आउनु भएको थियो/छ ।
अन्ततः मेयर कोइरालाबाट, ‘यो आर्थिक वर्ष २०८०/८१ को अन्तिममा ४०– ५० हजार कति हुन्छ दिउँला, पहिलेको निवेदन कता पर्यो, अर्को पठाउनु’ भन्ने आदेश भयो । त्यो बीचमा उपमेयर भवानीको हरकतका बारेमा समाचार प्रकाशनमा आयो ।
प्रतिष्ठानको सहयोग माग पत्र लिएर प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसी(खत्रीठाँटी) नगरपालिका पुगेर मेयरलाई पत्र दिनु हुँदा ‘पैसा दिने त भनेको हो, पहाडीले आफ्नो खु्ट्टामा आफैले बञ्चरो हाने, अब दिन सकिदैन । त्यो समाचार(उपमेयरका विरुद्ध) किन लेख्या ?’ भन्ने मेयर कोइरालाबाट कृष्ण केसीलाई हुकुम बक्स भएछ । ‘प्रतिष्ठान पहाडीको पेवा हो ? ऊ त्यहाँ सधैं रहन्छ ? उस्ले प्रतिष्ठानको अध्यक्ष भएर समाचार लेख्या हो र ? प्रतिष्ठानको नाउँमा जाने पैसा पहाडीको व्यक्तिगत खातामा जान्छ ? त्यस्तो समाचार लेखे वापत सजाय दिनै पर्ने भए बरु उनको पत्रिकालाई दिनु, प्रतिष्ठानका हामी यतिका व्यक्तिलाई सजाय दिन पाइन्न’ भन्न सक्नु भएन ? केसीलाई पहाडीले भन्नु हुँदा केसीले ‘कोइरालाका ती वाक्य सुन्दै नमिठो लाग्यो, त्यसै फर्के’ भन्ने पहाडीलाई सुनाउनु भयो । आज विहान कोइरालासँग फोन सम्पर्क प्रयास गर्दा सफल भएन । फोन उठेन ।
यसबाट प्रष्ट हुन्छ कि सुन्दरबजारका मेयर उपमेयरहरू पत्रकारहरूलाई के ठान्छन् वा उनीहरूसँग के चाहन्छन् ? उपमेयरको त्यो समाचार लेख्दै गर्दा उनको धारणा बुझ्न भवानीसँग सम्पर्क गर्दा उनीबाट ‘समाचार नबनाउनु नि !’ भन्ने आदेश समेत भएको थियो । तर त्यसको पर्वाह नगरी समाचार आयो । अन्तरङ्गका सम्वाददाता/सम्पादकको काम कसैले अर्थात उपमेयरले ‘समाचार लेख’ भन्दा लेख्ने र ‘नलेख्’ भन्दा नलेख्ने भवानीको कारिन्दा त हैनन् नि ! तर पत्रकार भएका नाताले प्रतिष्ठानका अध्यक्ष भएका पहाडीले समाचार लेखेकै कारणले प्रतिष्ठानलाई नगरपालिकाबाट दिने भनिएको आर्थिक सहयोग समेत रोकिएको छ । यो घट्नाले उनीहरू के चाहन्छन् ? भन्ने पुष्टिमात्र गरेको छैन जिल्लाको समग्र पत्रकारितालाई के कसरी चलाउन खोजिएको छ भन्ने एक ज्वलन्त उदाहरण समेत यसबाट प्रष्टिएको छ ।
लमजुङका पत्रकारलाई गन्दिन : मेयर, हजार रुपैयामा समाचार लेख्ने पनि पत्रकार हुन्छन् ? उपमेयर :
‘लमजुङमा को छ गतिलो पत्रकार ? र किन गन्ने ?’ भन्ने वाक्यांस मेयर कोइरालाको ‘थेगो’ जस्तो बनिसकेको छ । यसबाट पनि उनको बौद्धिकस्तरको उजागर भएको धेरैले आंकलन गरेका छन् । कुनै पत्रकारलाई पुछनी नगर्ने, पत्रकारका रुपमा नगन्ने अनि पत्रकारले कोइराला महोदयलाई ‘भगवान’ मानेर ‘पुज्नु’ पर्ने ? त्यसमा पनि पत्रकार अगतिला भएमा गतिलो बनाउने काम नगरपालिकाको हैन ? त्यस्तो दायित्वबाट नगरपालिका पन्छिन मिल्छ ? 
सायद यस्तै कारणले जिल्लामा जे जस्तो जति रकम दिए पनि पत्रकारहरू ‘भिख’झैं हात थाप्ने गर्दछन् भन्ने सुन्नमा आइरहन्छ । त्यसो त लमजुङमा विज्ञापनको दररेट समेत सञ्चारमाध्यमले तोकेको पाउनु पर्नेमा त्यस्तो हुन सकेको छैन । विज्ञापन दिने व्यक्ति होस् या संस्थाले आफै विज्ञापनको दररेट तोक्ने गरिआएका छन् । अलिक चर्को श्वरमा कसैले ‘कुनै पनि विज्ञापनको हजारभन्दा दिन्न’ भन्यो भने ‘तिम्रो खल्तीको पैसा मागेको हैन, भिख मलाई चाहिन्न’ भन्न कतिपय पत्रकार लुत्रुक्क परेर ‘हस् प्रभु !’ भन्ने गरेबाट पनि पत्रकारहरूलाई हेप्ने प्रवृत्ति बढेको आंकलन गरिएको छ ।
उता उपमेयर भवानीले ‘हजार रुपैयाँ खाएर (म विरुद्ध) समाचार लेख्नेलाई पनि के पत्रकार भन्ने ?’ भन्दै बरबाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मेयरको कार्यकक्षमा कर्मचारीलाई थुनेर थर्काइयो :
उपमेयर भवानी केसीका विरुद्धमा अन्तरङ्ग न्यूज डटकमले प्रकाशन गरेको समाचार चुहाउने कर्मचारी भएको भन्दै मेयर कोइरालाको कार्यकक्षमा नगरपालिकाका कर्मचारीलाई थुनेर थर्काइयो काम आज असार २४ गते गरिएको समेत जानकारीमा आएको छ । सो कार्य गर्नेमा मेयर कोइराला, उपमेयर केसी, कार्यकारी अधिकृत पौडेल, योजाना, प्रशासन तथा आइटि शाखाका प्रमुख समेत भएर आशंकित कर्मचारीहरूलाई थर्काइएको स्रोतले बताएको छ । यस घट्नाबाट पनि नगरपालिका सुशासनतर्फ फर्किदैन भन्ने थप पुष्टि हुन आएको छ ।
एउटै प्रकृतिको योजनामा कतै भुक्तानी कतै रोक्का :
नगरपालिकाको साझेदारी ७०– ३० प्रतिशतमा गरिने विकासका कामका एकै प्रकृतिका योजनामा पनि कतै भुक्तानी दिने र कतै रोक्ने काम गरिएको सम्बन्धित उपभोक्ताको गुनासो छ । समान प्रकृतिका त्यस्ता योजना वडानं– ५ को खहरेको कल्भड निर्माण गत पुस ९ गते सम्पन्न भएकोमा आजका मितिसम्म भुक्तानी गरिएको छैन भने सोही प्रकृति र समान लागतको वडानं– ९ भोटेओडार बजारको एक गोरेटो बाटो ढलानको रकम भने पुसमै भुक्तानी दिने काम गरिएको समेत जानकारीमा आएको छ ।
उता, नगरपालिकाको उपमेयर उद्यमशील योजनाका कतिपय योजनामा अनु्गमन समितिको संयोजकका नाताले उपमेयर नै गएर ‘यस्तो काम गरेर हुँदैन, यस्को भुक्तानी हुँदैन’ भन्दै थर्काउँदै फर्कने तर भित्रभित्रै कमिसन खादै ती योजना पास गर्र्दै भुक्तानी दिने काम गरेको समेत स्रोतले दावी गरेको छ ।
मेयरलाई ‘ढटुवा’को उपमा :
मेयर कोइरालाको बोली बचन र व्यवहारदेखि उनी ‘ढटुवा मान्छे’ रहेछन् भन्ने उनी मेयर भएको अढाई तीन महिनादेखि नै नगरबासीहरूले भन्न थालेका हुन् । ऐले त उनलाई मेयर भन्नुको सट्टा ‘ढटुवा कोइरालो’ भन्ने गरेको समेत भुक्तभोगीहरूले बताएका छन् ।
कला, संस्कृति, लोकसाहित्यको विकासमा नगरपालिकाले योगदान दिनु पर्दैन ?
कतिपय नगरपालिकाहरूले आफ्नो पालिका भित्र कला, साहित्य, संस्कृतिको खोज, संरक्षण एवम् प्रवद्र्धनका लागि प्रतिष्ठान समेत गठन गरी काम गरिआएका छन् । सुन्दरबजारले प्रतिष्ठान सञ्चालन गर्ने आयस्रोत नभएता पनि कला, साहित्य, संस्कृतिका क्षेत्रमा काम गर्नु पर्दैन ? कसैले यस्तो प्रश्न गर्यो भने ‘विद्यालयहरूले शुक्रबारका दिन गर्ने अतिरिक्त क्रियाकलापमार्फत ती काम भएको’ भन्दै जवाफ दिने गरेबाट सो नगरका मेयर, उपमेयर, कार्यकारी प्रमुख तथा अन्य सम्बन्धित शाखाका प्रमुखहरूको बौद्धिक हैसियत के कति रहेछ र तिनको नियत के हो ? भन्ने थप उजागर हुने गरिआएको भुक्तभोगीहरूले बताउने गरेका छन् ।
यही वस्तुस्थितिलाई चुनौति दिदै प्रतिष्ठानको अध्यक्षका हैसियतले पहाडीले कला, संस्कृति, लोकसाहित्यका क्षेत्रमा काम गर्नेहरू सधैं टुहुरो हुने ? स्थानीय तहका सरकारले अभिभावकत्व लिनु पर्दैन ? त्यसैले कम्तिमा एक प्रतिशत रकम कला साहित्यको अभिबृद्धिका लागि छु्ट्याउने नीतिगत व्यवस्था हुनु पर्छ भन्ने माग गर्दै प्रतिष्ठानकोतर्फबाट समेत राख्दै आउनु भएको छ । पहाडी स्वभावैले हार्न नजान्ने मान्छे भएको विगतबाट समेत पुष्टि हुँदै आएको छ । त्यसैले पनि पहाडीको यो माग कुनै दिन अवश्य पूरा हुनेछ भन्ने आंकलन गर्न सकिन्छ ।
त्यसमा पनि ठाडोभाकाको उदगम स्थल नै सुन्दरबजार नगरपालिका हो । हामी दावाका साथ भन्न सक्छौं, पालिकाका नाउँबाट प्रतिष्ठानले गर्ने प्रतियोगिता सहितका ती कार्यक्रमहरू गरिर्एको हुन्थ्यो भने त्यसका नाउँमा लाखौं रकम हावामा उड्ने थियो भन्ने पालिकामार्फत गरिएका त्यस्ता कार्यक्रमले समेत पुष्टि गरेको हामीले दिनहुँ जसो देख्दै, सुन्दै र बेहोर्दै आएका छौं । नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्र लोककला, संस्कृति, साहित्यको संरक्षण र प्रवर्द्धनका लागि काम गर्नु पर्दैन ?
त्यसो त सुन्दरबजार नगरपालिका भित्रको बेथिति यति विघ्न छ कि ! त्यो लेखी साध्य छैन । हरेक हप्ताको शुक्रबार प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेल आफ्नो घर (पोखरामा) नगरपालिकाकै गाडीमा सवार हुन्छन् । कुनै दिन आफू सिडिओ भएको समेत धाक देखाउने तर साँझ पर्न नपाउँदै भट्टीमा रमाउने उनले त्यसरी जिल्ला छाडेर जाँदा न त प्रशासनबाट गाडीका लागि इजाजत (प्रजिअ बुद्धबहादुर गुरुङले नगरपालिकाले त्यसरी जिल्ला बाहिर जादा सवारी साधनको अनुमति लिनु पर्छ तर म आएदेखि त्यस्तो सिफारिस गरेको थाहा छैन भन्नुभएको छ ।) लिन्छन् । न त तेल खर्च आफ्नो खल्तीबाट हाल्छन् ? सधैं अर्थात हरेक हप्ता उनलाई घर(पोखरा)मा जाने आउने खर्च नगरबासीले कति दिन बेहोर्ने हो ? पौडेल तिनै अधिकृत हुन् जलाई बिना इजाजत छोरी लिएर चितवन जाँदा त्यहाँका पत्रकारले करिब तीन महिना अघि नाङ्गे झार पारेका थिए ।
यो वर्ष जिल्ला भित्रका पत्रिकाहरूलाई १० हजारका दरले विज्ञापन छापेवापतको रकम दिने भनिएकोमा अन्तिममा आएर दिने बोलमा ४– ५ हजार मात्र पत्रिकाहरूको खातामा हालिदिएका छन् रे ! भन्ने सुन्नमा आएको छ । तर त्यो पालिकाले पत्रपत्रिका तथा सूचनाका नाउँमा वार्षिक १६ लाख रुपैयाँ बजेट छुट्याएको जानकारीमा आएको छ । त्यो रकम आधा बढी त कमिसनका रुपमा मेयर, उपमेयर, कार्यालय प्रमुख र लेखा अधिकृतले भात भान्सा गर्ने गरेको समेत स्रोतले बताएको छ ।
मेयर कोइरालाको बौद्धिकता कति ?
उसो त मेयर कोइरालाको बौद्धिकता एवम् कार्य क्षमता के कति छ ? भन्ने त उनले मेयरको पद बाहल गरेकै दिनमा पहिलो निर्णय भन्दै नगरपालिका सदस्य सचिव (प्रमुख कार्यकारी अधिकृत)लाई सम्बोधन गरी एक पत्र लेखी ‘नगरपालिकाबाट नगरबासीलाई मलामीसहितको बसको प्रवन्ध गर्न माग गर्दै’ निवेदन दिएबाट प्रष्ट भएको मात्र थिएन राष्ट्रिय बेइजती आर्जित भएको थियो । मेयर कोइरालाका त्यसपछिका दिनहरूका गतिविधि पनि त्यो निवेदनभन्दा माथिल्लोस्तरको देख्ने नगरबासीको चाहना आजका दिनसम्म पनि अधुरै रहेको छ र सायद उनको कार्यकालमा सुध्रिने पनि देखिदैन । तथापि सुन्दरबजार नगरपालिकाका मेयर– उपमेयरको पत्रकारहरुलाई दास बनाउने चाहना पुरा हो कि नहोला त्यो भने हेर्न बाँकी नै छ ।
प्रकाशित मिति २०८१ असार २४, सोमबार २३:३१ गते