बेसीशहर– राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको भोलिदेखि यहाँ सुरु हुने भएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आयोजक राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिले तयारी पूरा भएको साउन ११ गते जानकारी दिएको हो ।
भोलि साउन १२ र १३ गते यहाँ स्थित जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन हुने अधिवेशनको उदघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक पिताम्बर खनालले बताउनु भयो । उहाँका अनुसार उद्घाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्याल, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेताहरूको उपस्थिति हुने छ ।
प्रदेश संयोजक खनालले गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रतिनिधि अधिवेशनका सहभागी हुन लमजुङ आउने क्रम सुरु भएको बतउनु भयो । उहाँले ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणको हिसावले अत्यन्त महत्वपूर्ण मानिने पहाडी जिल्ला लमजुङको थपप्रचार प्रसारका साथै पहाडको दुःखको अनुभूति नेताहरूलाई गराउनका निम्ति अधिवेशनका लागि लमजुङ रोजिएको हो । उहाँले भन्नुभयो, ‘अधिवेशनका माध्यमबाट लमजुङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’ विभिन्न तालिम तथा योजनामार्फत देशमै रोजगारीको सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम सञ्चालनमा युवा संघले अग्रणी भूमिका खेल्ने उहाँको दावी छ ।
अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्ला र आयोजक कमिटी गरेर २ सय ५४ जना प्रतिनिधि छनौट गरिएको जानकारी खनालले दिनुभयो । आयोजक कमिटी ८५ जनाको रहेको छ । ११ जिल्लाबाट ३३ प्रतिशत महिला सहभागीता रहने गरि ५–५ जना प्रतिनिधि छनौट गरिएको छ । महानगरपालिकाबाट एकजना महिला अनिवार्य सहित ३ जना प्रतिनिधि छनौट गरिएको छ । प्रदेशमा रहेका २३ वटा नगरपालिकाबाट महिला पुरुष १–१ जना छनौट गरिएको छ । प्रदेशका ५८ गाउँपालिकाबाट खुल्ला १–१ जना प्रतिनिधि छनौट गरिएको खनालले बताउनुभयो । २ सय ५४ जना प्रतिनिधि, आमन्त्रित अतिथि, पर्यवेक्षक र अन्य सहभागी गरि अधिवेशनमा करिव ५ सय जना सहभागी हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
‘नवीनता, सिर्जनशीलता, गतिशीलता’ नाराका साथ आयोजना गरिएको सो अधिवेशनको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका उत्प्रेरक महाराज गुरुङले मिसन ८४ मा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने गरि काम गर्ने नेतृत्व चयन गरिने दावी गर्नुभयो । उहाँका अनुसार पार्टी भित्र देखा परेको समस्या समधान गर्दै युवा संघले एकताको सन्देश(नेताहरूलाई समेत) दिने गरी सर्वसम्मत रुपमा नेतृत्व चयन गरी ऐतिहासिक रुपमा प्रदेश अधिवेशन सम्पन्न गरिने छ । देशमा रहेका फैलिएको विकृति विसंगतिको विरुद्ध सशक्त रुपमा आवज उठाउने बलियो संगठनको रुपमा युवा संघ स्थापित भएको उहाँको जिकिर थियो ।
सञ्चार मन्त्री पृथ्वीसुब्बा जिल्लामा आउनु हुने :
नेपाल सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ भोलि साउन १२ गते गृह जिल्ला लमजुङ आउने हुनु भएको छ । उहाँ यहाँ भोलिबाट सुरु हुन लागेको राष्ट्रिय युवासंघको गण्डकी प्रदेशस्तरीय पहिलो दुई दिने अधिवेशनको उदघाटन गर्न यहाँ आउने हुनुभएको हो ।
मध्यान्ह १ बजेतिर आउने हुने उहाँको भोलिको मुकाम बेसीशहरमै हुने बताइएको छ । पर्सी बिहान पत्रकारहरूका बीच भेटघाट लागयतका कार्यक्रमा सरिक भई उहाँ राजधानी फर्कनु हुने कार्यक्रम रहेको जानकारीमा आएको छ ।
सो अवसरमा पत्रकारहरूबाट राखिएका जिज्ञासाको जवाफ दिने प्रयास गरिए पनि कति सदस्यीय समिति बन्ने हो भन्ने उत्तर भने आएन । पत्रकारहरूको जिज्ञासामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका उत्प्रेरक महाराज गुरुङ र युवा संघ गण्डकी प्रदेश कमिटीका संयोजक पिताम्बर खनालले जवाफ दिनु भएको थियो ।
राष्ट्रिय युवा संघ गण्डकी प्रदेश कमिटीका संयोजक पिताम्बर खनालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका सचिव एवम् गण्डकीका सह–उत्प्रेरक पार्वत भण्डारी, राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य एवं गण्डकी प्रदेशका सहउत्प्रेरक मदन गिरी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं युवा इन्चार्ज गोविन्द बस्नेत, एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्टलगायत सहभागी रहेको कार्यक्रमको सञ्चालन युवा संघ गण्डकी प्रदेश कमिटिका सदस्य किरण ढकालले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण ११, शुक्रबार २०:४९ गते