
काठमाडौँ– यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन असोज २६ गतेदेखि पूर्णरूपमा बाहिरिएको हो ।
नेपालबाट यो वर्ष मनसुन १२५ औं दिनमा बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागले अपराह्न एक सूचना जारी गर्दै बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको जनाएको छ । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । सामान्यता नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।
तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । त्यस्तै, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।
विभागका अनुसार यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो ।
यो वर्ष मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएसँगै हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।
यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।
प्रकाशित मिति २०८१ आश्विन २७, आईतवार ०६:३५ गते