पर्यटन क्षेत्र सबै प्राकृतिक हुदैनन् । पर्यटकहरूलाई आकर्षण गर्न आजभोलि पर्यटनको क्षेत्रमा साहसिक खेल लोकप्रिय बन्दै गएको छ । साहसिक खेलले पछिल्ला दिनमा पर्यटकहरूको सख्या समेत बढदै गएको छ । पर्यटकहरूको रुचि अनुसार र्याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल आरोहण, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट, पदयात्रा आदि जस्ता साहसिक खेल अर्थात कार्यलाई साहसिक पर्यटन भनिन्छ । साहसिक खेल मनमा उब्जिेने डरलाई जित्दै जोखिमसँग प्रत्यक्ष साक्षात्कार हुने खेल हो । साहसिक खेलको आनन्द तीव्र गतिमा बग्ने नदीमा र्याफ्टिङ गरेर, कहालीलाग्दो खोंचमा हाम फालेर, खुला आकाशमा चराजस्तै उडेर र डरलाई जित्दै हिमालको चुचुरो उक्लिएर रोमाञ्च अनुभूति लिने खेल हो ।
एडभेन्चर्स टुरिजम अर्थात साहसिक पर्यटकका लागि नेपाल विश्वमै प्रख्यात छ । एउटा डाँडाबाट अर्को डाँडामा पुगिने जिपलाइन होस अथवा खोला माथिबाट हामफाल्ने बन्जी साहसिक खेल धेरै पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । नेपालमा भित्रिने धेरै वाह्य पर्यटकहरू साहसिक खेलमा रमाउने मन गर्दछन । आजभोली नेपालमा पर्यटनको क्षेत्रमा साहसिक पर्यटनमा ट्रेकिङ, पर्वतारोहण, ¥याफिटङ, बन्जी, जिपलाइन, रक क्लाइमिङ, क्यानोनिङ, स्काइडाइभ, प्याराग्लाईडिङ जस्ता साहसिक खेलहरु पर्यटन ब्यवसायीहरूले सन्चालनमा ल्याएका छन । पोखरा साहसिक खेलको राजधानीका रुपमा परिचित छ । पोखरामा साहसिक खेलका रुपमा हाइग्राउन्ड एडभेन्चर्सले प्याराग्लाइडिङ र जिपलाइन भित्र्याएको थियो । त्यसको दुई वर्षपछि हाइग्राउन्ड एडभेन्चर्सले बन्जी जम्प र जायन्ट स्विङ तथा सुपरम्यान जिपलाइनसमेत सञ्चालनमा ल्याएको थियो । पोखराको सन् २०१२ मा सञ्चालनमा आएको जिपलाइन विश्वकै भिरालो र अग्लो जिपलाइनको रुपमा पहिचान भएको छ । पर्यटन क्षेत्रको विकासको लागि पछिल्लो समय निजी क्षेत्रबाट बन्जीजम्प, साहसिक हवाई खेल, र्याफ्टिङ लगायत साहसिक खेलमा लगानी थपिदै गएको छ । साहसिक खेलमा वाह्य पर्यटकहरू मात्रै नभए आन्तरिक पर्यटकहरूले समेत चासो राख्न थालेका छन ।
पर्यटन व्यवसायीहरूले भूगोल अनुसार सञ्चालनमा ल्याएका साहसिक खेलहरूमा पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जंगल सफारी, स्काई ड्राइभिङ र स्किइड लगायतले पर्यटकहरू आकर्षित हुन थालेका छन । सन १९७५ मा अमेरिकी माइक एगरले त्रिशूली नदीबाट ¥याफिटङ व्यवसाय नेपाल भित्र्याए पछि अहिले नेपालका भोटेकोशी, त्रिशुली, सुनकोशी, तमोर, अरुण, मर्स्याङदी, कालीगण्डकी, भेरी, कर्णाली र सेतीलगायत विभिन्न नदीहरूमा ¥याफिटङको मज्जा लिने पर्यटकहरूको संख्यामा वृद्धि हुदै गएको छ । साहसिक खेलमा रुचि राख्ने पर्यटकहरूका लागि र्याफटिङ पनि मुख्य रोजाइमा रहने गरेको छ । नदीको उर्लिएको छाललाई चिर्दै र्याफटिङ गुर्नको छुट्टै मज्जा हुन्छ । सरकारले १६ वटा नदीमा मात्र र्याफटिङका लागि खुल्ला गरेको छ । र्याफटिङ गर्दा र छालसँग खेल्दा जति जोखिम हुन्छ, उत्तिकै रमाइलो पनि हुन्छ । र्याफटिङ रमाइलोका लागि मात्र गरिँदैन जोखिमसँग जुध्नका लागि पनि गरिन्छ । नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरू आकर्षित हुने गर्छन ।
पर्यटनको क्षेत्रमा र्याफटिङ, पाराग्लाइडिङ र बञ्जीले नेपालीमा बढाएको एडभेन्चर क्रेजमा अहिले क्यानोनिङ पनि थपिएको छ । कहाली लाग्ने चट्टानी छहरामा डोरीको माध्यमबाट तल झरिने खेल क्यानोनिङ हो । चिप्लिनु, हाम फाल्नु, पौडिनु र झर्नु यो खेलका विशेषता हुन । क्यानोनिङ खेल निकै कठिन र जोखिमपूर्ण हुन्छ । क्यानोनिङ खेलप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढदै गएको छ । क्यानोनिङ खेल विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको हो । नेपालको पहाडी र हिमाली भेगमा झरना हुने भएकाले नयाँ साहसिक खेलका रुपमा विकसित हुँदै गएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङदी उपत्यका, भोटेकोशी नदी, सुनकोशी नदी, सुन्दरीजल, ककनीमा चट्टानी पहराबाट झर्ने झरना क्यानोनिङ गर्ने प्रमुख स्थल हुन । भोटेकोशी उपत्यकालाई क्यानोनिङ प्रेमी पर्यटनका लागि अद्वितीय स्थलका रुपमा लिइन्छ । अर्को तर्फ सिन्धुपाल्चोकको पाङलाङ खोला, चितवनको जलबिरे झरना र कास्कीको ल्वाङ घलेलमा पनि व्यावसायीक रुपमा क्यानोनिङ गराइन्छ ।
नेपालमा साहसिक खेल व्यावसायीक रुपमा सञ्चालन भएसँगै पर्यटनको आकर्षण समेत बढन थालेको छ । पर्वतको कुश्मा–बलेवा यान्त्रिक पुल, नेपालकै लामा र अग्ला झोलुंगे पुल, बन्जीजम्प, विश्वकै अग्लो स्विङ, क्यानोनिङलगायत साहसिक गतिविधिहरूले पर्यटकहरूलाई आकर्षण गराएको छ । पर्यटन बोर्डको तथ्याक अनुसार पदयात्रा, पर्वतारोहण, क्यानोनिङ, रकक्लाइम्बिङ, जंगल सफारी, स्किइडलगायतका साहसिक खेलका लागि बर्षेनी हजारौं पर्यटक नेपालमा भित्रिन्छन । नेपालमा धेरै नदीनाला भएकाले वाटर स्पोर्टससँग सम्बन्धित खेलहरू प्रवद्र्धन गर्न सकिन्छ । त्यस्तै पर्यटनका लागि रोलर कोस्टर पनि निकै सम्भावना बोकेको खेल हो । अब पर्यटन क्षेत्र विश्वको खेलकुद वाटर र अल्पाइनसँग जोडिएको छ । तर, हामीसँग भएका प्राकृतिक स्रोत, साधन र भूवनोटको समुचित उपयोग गर्न सकेका छैनौं मन्दा पनि हुन्छ । त्यसैले सरकारले अब विज्ञहरुको सल्लाहमा समग्र पर्यटनको विकास गर्ने गरी योजना बनाएर साहसिक पर्यटनको लागि योजना बनाउन आवश्यक भएको छ । नेपालमा साहसिक पर्यटनको सम्भावना भए पनि साहसिक पर्यटनमा नीतिगत व्यवस्था हुन सकेको छैन । अब पर्यटन विकास तथा पूर्वाधार निर्माणसहितको दीर्घकालीन योजना कार्यान्वयन गर्न जरुरी छ ।
साहसिक खेल खेल्ने मात्र होइन हेर्ने पर्यटकहरू पनि उत्तिकै हुन्छन । पोखरामा प्याराग्लाइडिङ खेलमा रमाउने पर्यटकहरूलाई हेर्दै मनोरञ्जन लिने पर्यटकहरूको सख्या पनि धेरै छन । प्याराग्लाइडिङ रोमाञ्चक एवं साहसिक खेलमा सबैभन्दा लोकप्रिय हो र उत्तिकै चुनौतीपूर्ण पनि छ । चराजस्तै खुला आकाशमा उडेको अनुभव गर्न पर्यटकहरूले प्याराग्लाइडिङ खेल खेल्दछन । पोखराको सराङकोट प्याराग्लाइडिङका लागि दक्षिण एसियामै चर्चित ठाउमा पर्दछ । पोखरा पुग्ने अधिकांश पर्यटकहरूको आकर्षणको केन्द्र सराङकोट हुने गर्दछ । प्याराग्लाइडिङ पनि सराङकोटबाट नै सुरु भै फेवाताल किनारमा अवतरण गरिन्छ । प्याराग्लाइडिङबाट फेवा ताल पोखरा बजार र हिमश्रृखलाका सुन्दर दृश्य समेत अवलोकन गर्न सकिन्छ । प्याराग्लाइडिङको लागि बिशेष गरी असोज, कार्तिक, मंसिर, वैशाख र जेठ महिना राम्रो समय मानिन्छ । प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा मात्र नभएर बन्दीपुर, दाङ र अन्य जिल्लाहरूमा समेत परीक्षण उडान भएका छन । तर ब्यवसायीक रुपबाट पर्यटनका लागि उडान सुरु भने भएको छेन ।
भोटेकोशीमा स्वदेशी तथा विदेशी पर्यटकहरु बन्जीका लागि पुग्ने गर्दछन । विश्वमै प्रसिद्ध बन्जी जम्प पर्यटनका लागि सिन्धुपलानचोकको भोटेकोशीमा सञ्चालित छ । द लास्ट रिसोर्टले साहसिक बन्जी सन १९९९ देखि सञ्चालन गर्दै आएको छ । पर्यटकहरु भोटेकोशी माथिको झोलुङगे पुलबाट करिब एक सय ६० मिटर तलको खोंचमा छलाङ मार्ने गर्दछन । त्यस्तै द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुस्मा र बाग्लुङको बलेवा जोडने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काई साइक्लिङलगायत साहसिक खेल सञ्चालन गरिरहेको छ । यो विश्वको दोस्रो अग्लो बन्जी जम्प हो जुन २ सय २८ मिटर अग्लो छ । अर्को तर्फ पृथ्वीराजमार्गको फिसलिङ नजिकै पर्ने त्रिशूली नदी माथि वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा आएको छ । यसमा दुई जना एकैसाथ खेल्न सकिन्छ । यसरी साहसिक पर्यटनका लागि दुवै जना खेल्न मिल्ने नेपालको पहिलो पनि हो । त्रिशूलीमै रिभर फन रिसोर्टले पनि स्काई रोप साइक्लिङ खेल सञ्चालन गरिरहेको छ । अर्को तर्फ द क्लिफले सबैभन्दा लामो र अग्लो ठाउँमा स्काई रोप साइक्लिङ खेल पर्वत र बाग्लुङ बिचको कालीगण्डकीमाथिको भीरमा सञ्चालन गरेको छ ।
साहसिक पर्यटनको नयाँ र सुरक्षित यात्राका रुपमा बेलुन नेपालले हट एयर बेलुनको उडान पोखरामा सुरु भएको छ । हट एयर बेलुन साहसिक खेल भनेको तातो हावा भरेर हावामा उडनु हो । हट एयर बेलुनमा सूर्योदय र सूर्यास्तको समय गरी दिनको दुई पटक उडन सकिन्छ । समुद्री सतहदेखि तीन–चार हजार मिटर उचाइसम्म उडन सकिने हट एयर बेलुनबाट पोखरा र आसपासका सुन्दर दृश्यावलोकन पर्यटकहरुले गर्न सक्दछन । हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म उडन मिल्छ । हट एयर बेलुनमा पर्यटकहरूले एक घण्टासम्म उडन सक्दछन । पोखरामा पर्यटनका लागि अल्ट्रालाइट खेल पनि सुरु भएको छ । अल्ट्रालाइट सानो हेलिकप्टर जस्तो देखिन्छ । जुन सिंगल इन्जिन क्राफ्ट भएको हुन्छ । जसलाई पुतली जहाजसमेत भनेर चिनिने गर्दछ । अल्ट्रालाइट अहिलेसम्म पोखरामा मात्रै सञ्चालित छ । पाइलट र अर्को एकजना गरी जम्मा दुई जनामात्र अल्ट्रालाइटमा उडन मिल्छ । पर्यटकले अल्ट्रालाइटबाट पोखरा वरपरका हिमश्रृखलालाई नजिकबाट नियाल्न सक्दछन । अर्कोतर्फ अल्ट्रालाइटबाट पोखराका प्रमुख आकर्षण फेवाताल, वनजंगल, पहाड तथा त्यहाँका ग्रामीण भेगको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट सोही ठाउँमा ल्याएर अवतरण गरिन्छ । अल्ट्रालाइटमा १५ मिनेटसम्मको उडान गरिन्छ ।
साहसिक खेलमा कतिपय पर्यटकहरू स्काई डाइभ गर्न रुचाउछन । स्काई डाइभ ८ हजारभन्दा अग्लो उचाइबाट खेलिन्छ । पर्यटकहरूलाई पोखराको फेवा तालको पामेबाट हेलिकप्टरले १३ हजार फिटको उडान भरेपछि स्काई डाइभ गराइन्छ । स्काई डाइभ हिमालभन्दा माथिबाट खेलिने खेल हो । स्काई डाइभ प्याराग्लाइडिङसँग मिल्दोजुल्दो हुन्छ । तर यो खेलमा हेलिकप्टरबाट जम्प गर्नुपर्ने हुन्छ । आजभोलि स्काई डाइभ खेलमा नेपालीहरूले समेत रुचि देखाइ रहेका छन । कम्पनीले सहभागी खेलाडीको इन्स्युरेन्ससमेत गरिदिएको हुन्छ । पर्यटक नेपालमा हिमाल हेर्न आउँछन । हिमाल आरोहण गर्ने साहसि आरोहीहरुले पदयात्रा गर्नु पर्दछ । पछिल्लो समय हिमाल हेर्ने भन्दा पनि हिमाल आरोहण गर्न आउने वाह्य पर्यटकको संख्या बढदै गएको छ । अर्कोतर्फ पदयात्रा रमाउने पर्यटकहरु पनि धेरै छन । पर्यटनको लागि पदयात्रा सबैभन्दा रोमाञ्चक साहसिक यात्रा हो । नेपालमा प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्दै लामो पदयात्रा गर्ने नेपालमा ३५ वटा पदमार्ग चलनचल्तीमा छन । ती सबै पदमार्ग मध्ये पर्यटकको बढी रोजाइमा पर्ने अन्नपूर्ण पदमार्ग र सगरमाथा बेस क्याम्प पर्दछ । अन्नपूर्ण क्षेत्र नेपालकै चर्चित पदयात्रा हो । लमजुङको बेसीशहरदेखि मनाङ हुदै मुस्ताङको जोमसोम सम्मको पदयात्रा विश्वकै उत्कृष्ट मार्गमा पर्दछ ।
पर्यटकहरूलाई रोमाञ्चक अनुभूति दिने साहसिक खेलमा धेरैको रोजाइमा जिपलाइन पर्दछ । नेपालमा जिपलाइनको इतिहास लामो छैन । पोखरामा पहिलो पटक सराङकोट डाँडाबाट जिपलाइन शुरु भएको हो । सराङकोट डाँडाबाट हेम्जामा झर्ने यो जिपलाइन सन २०१० अर्थात बि.स २०६६ मा शुरु भएको हो । यो नेपालकै पहिलो जिपलाइन हो । त्यसयता देशभर जिपलाइनको संख्या बढदै गएको छ । अधिकांश सञ्चालनमा आइसकेका छन भने केही सञ्चालनको क्रममा छन । खासगरी ठूलो जनसंख्या भएको शहर नजिक सञ्चालनमा आएका जिपलाइनले मनग्य आम्दानी समेत गरिरहेका छन । जिपलाइन सञ्चालन गरिरहेका कम्पनीहरूले विभिन्न प्याकेजमा पर्यटक आकर्षित गरिरहेका छन । जिपलाइनमा डोरीमा घिर्नीको सहायताले झुण्डिएर एक ठाउँबाट अर्को ठाउँमा पुगिन्छ । नेपालमा जिपलाइनका लागि पोखरा पछिको गन्तव्य धुलिखेल र पर्वतको कुस्मा हो । पर्वतको कुस्माकै चाक्ले डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण भएको छ । अहिले दाङमा पनि जिपलाइन जिपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेको छ । छिल्लीकोट र अर्कोतर्फ घोराही उपमहानगरपालिका– १८ घोरदौरामा पनि जीपलाइन सञ्चालन हुन लागेको छ । भने कोइलाबासमा स्काई रोप साइक्लिङ सञ्चालनमा आएको छ ।
नेपालमा पर्यटनको लागि भौगोलिक भूबनोट अनुसार पर्यटकहरूलाई आकर्षण गर्ने धेरै ठाउँहरू छन । र्याफिटङ, ग्लाइडिङ, ब्यालुनिङ, क्यानोनिङ गल्फ, पोलो, घोडचढी जस्ता खेल सञ्चालन गरी पर्यटकहरूलाई मनोरञ्जन दिन सकिन्छ । पर्यटकबाट गरिने खर्चले स्थानीय व्यापार, व्यवसाय बढ्ने, रोजगार सिर्जना हुने र एक अर्काबिच संस्कृतिको आदानप्रदान समेत हुने गर्दछ । यसका लागि पर्यटनको क्षेत्रमा भएका विभिन्न मूर्त, अमूर्त सम्पदाको संरक्षण र संवर्धन गर्न पर्दछ । पर्यटकीयस्थलसम्म पुग्ने सडक, पैदल मार्ग, साइकल मार्ग, यातायात, हवाई सेवा आदिको राम्रो सुबिधा हुनु पर्दछ । पर्यटकप्रति सकारात्मक सोच राखी सम्मानजनक व्यवहार गर्नु पर्दछ । पर्यटकहरूका लागि बसोबास, खानपान तथा सुरक्षाका लागि गुणस्तरीय होटल, रिसोर्ट, लज, रेस्टुँरा, होमस्टेको व्यवस्था हुनु पर्दछ । यसको लागि अब स्थानीय स्तरबाटै पर्यटनको विकास गर्न स्थानीय समुदाय र स्थानीय तहबिच समन्वय र सहकार्य गरी अघि बढनु पर्दछ र सरकारका तीन तहले पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्ने नीति हुनु पर्दछ ।
प्रकाशित मिति २०८१ पुष ४, बिहीबार ०९:०५ गते