
धनगढी– भीम रावललाई एमालेले गरेको कारवाही फिर्ता हुनु पर्छ भन्ने मान्यता राख्ने र कारवाही फिर्ता हुन्छ भन्ने आशामा रहेकाहरूलाई अर्को झड्का लागेको छ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाहीको सिफारिस गरेसँगै माघ ६ गते त्यस्तो खुलासा भएको हो ।
एमाले जिल्ला कमिटी कैलालीको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाही गर्ने निर्णय माघ ५ गते गरेको हो ।
कृष्णराज पूर्वप्रदेश कमिटी सदस्य हुनाले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लो कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले बताउनु भयो । उहाँका अनुसार भीष्मलाई भने जिल्ला कमिटी सदस्य भएकाले उनलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरू लामो समयदेखि पार्टी हित, अनुशासनविपरीत गतिविधि गर्दै आउनु भएको थियो । पछिल्लो समय उहाँहरू पार्टीले निष्कासन गरेका भीम रावलको पक्षमा खुल्नुभएको थियो । त्यसैले कारबाही गरेका हौं, पार्टीका कार्यकर्ता भएपछि पार्टीको अनुशासनमा बस्नुपर्छ ।’
पार्टीको कारबाहीमा पर्नु भएका कृष्ण र भीष्म बाबुछोरा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएका बेला कृष्ण सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । उहाँ २०७४ को चुनावमा कैलाली ५ बाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो ।
भीष्म सुवेदीसँग एमालेले कारबाही गरेको कारवाहीका बारेमा जानकारी दिन खोज्दा पार्टीमा स्वेच्छाचारिता बढ्दै गएको बताउनु भयोे ।
एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुनुहुन्छ । उहाँ आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नु भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्छ भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’
उहाँले थप भन्नुभयो, ‘यदि त्यसो गरिन्छ भने म त्यसको घोर भर्त्सना गर्दछु । म भेट्न गएको हो । कुनै पार्टीमा गएको होइन । म त अहिलेसम्म एमालेमै छु । निकालिएको बारे कसैले जानकारीसमेत दिएको छैन ।’
एमाले जिल्ला सचिवालय बैठकले तपाई बाबुछोरालाई पार्टीबाट निष्कासनको लागि उपल्लो तहलाई सिफारिस नै गरिसकेको छ नि ! भन्ने जिज्ञासामा पूर्वमन्त्री सुवेदीले त्यसलाई एमालेको स्वेच्छाचारिता र निरंकुशताको पराकाष्ठाको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय एमाले, बामालेमा परिणत भएको छ । स्वेच्छाचारी हाबी छ, एमाले निर्माणमा हामीले पनि रगत पसिना खर्चिएका छौं । झन्डै २२ वर्ष मैले यो पार्टीमा बिताएँ । एउटा मानिसको २२ वर्षको योगदानको अवमूल्यन गर्ने गरी पार्टीले निर्णय गरेको सुनेका छौं ।’ त्यस्तो गलत प्रवृत्तिको विरुद्ध हिजो पनि बोलेको हुँ । आज पनि बोल्छु । भोलि पनि बोलिरहन्छु । भेट्दैमा कारबाही गरिन्छ भने, कारबाही भोग्न पनि तयार छु । के कारबाही गर्छन् र उनीहरूले ? मेरो के पद जाने हो र ? उहाँले थप भन्नुभयो ।
देशको पूर्वउपप्रधान, रक्षा एवम् गृहमन्त्री भइसकेका व्यक्तित्वलाई स्वागत गर्नु कुनै हालतमा पार्टी अनुशासन विपरीत नहुने उहाँको जिकिर छ ।
त्यसकै आधारमा पार्टीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्नु आश्चर्यजनक भएको उहाँको टिप्पणी छ । भीष्मले भन्नुभयो, ‘जिल्ला कमिटीको बैठकमा एजेन्डासमेत नभएको विषयमा प्रदेश इन्चार्ज लेखराज भट्टको सनकका भरमा हामीलाई कारबाही गर्ने निर्णय भएछ । उहाँले भीम रावलको गतिविधिमा लाग्नेलाई कारबाही गर्न निर्देशन छ, भनेपछि बैठकले निर्णय ग¥यो भन्ने सुनेका छौं ।’
उहाँले प्रतिप्रश्न गर्दै थप भन्नुभयो, ‘त्यसो हो भने कैलाली गएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखराज भट्टकै घर पुगेका थिए । भट्ट परिवारले उनको भव्य स्वागत गरेको हो । लेखराज भट्टको घरको एउटा कोठालाई उनले आफ्नै घरको संज्ञा दिएका थिए । अब लेखराज भट्टमाथि कारबाही हुने कि नहुने त ?’
पार्टीले आधिकारिक निर्णय पठाएपछि यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।
भीम रावलको कारवाही बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘भीम रावलले के अपराध गर्नु भएको छ र त्यस्तो ? देशद्रोही, राज्यद्रोही होइन । के काम भएको छ उहाँबाट ? उहाँलाई भेट्नै नहुने ? उहाँ एउटा राष्ट्रवादी, असल, स्वच्छ छविको नेता हो । उहाँ सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता हो । उहाँलाई भेट्दैमा कारबाही गरिन्छ भने, ठिक छ । उनीहरूले नै पार्टी चलाउन् । मेरो ३० वर्षको सङ्गठित सदस्यता खोसेर खान्छन् भने मेरो केही आपत्ति छैन ।’
एमाले जिल्ला सचिवालय बैठकबाट उहाँहरूलाई कारबाही गरेको एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पनि पुष्टि गर्नु भयो । उहाँका अनुसार पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
स्मरीणय छ, एमालेको सचिवालय बैठकले गत पुस १० गते एमालेले संगठित सदस्यताबाट भीम रावललाई हटाएपछि, केही दिनअघि उहाँ अछामको रामारोसन गाउँपालिका जानु भएको थियो । भीष्मसहितका केही नेता–कार्यकर्ताले रावललाई धनगढी विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ माघ ६, आईतवार १९:०४ गते