असोज १७ देखि भारीदेखि अति भारी वर्षाको सम्भावना, सचेत रहन चेतावनी

असोज १७ देखि भारीदेखि अति भारी वर्षाको सम्भावना, सचेत रहन चेतावनी

एजेन्सी

@antaranganews

२०८२ असोज १५ गते बुधबार ०६:५८

युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम –जीएसएफ)ले भारीदेखि अति भारी वर्षा हुने मौसम प्रक्षेपणका लागि प्रयोग गरिएको थियो ।

धान नकाट्न र सकेसम्म यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं– बडादशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरूले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पु¥याउने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा असोज १७ गते (एकादशी)देखि देशका धेरैजसो भूभागमा वर्षा हुने सम्भावना रहेको भन्दै सचेत हुन आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १४ गते राति ८ बजे ‘दशैँ विशेष मौसम बुलेटिन’ जारी गरेर असोज १७ गतेदेखि भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको हो ।
युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम –जीएसएफ)ले भारीदेखि अति भारी वर्षा हुने मौसम प्रक्षेपणका लागि प्रयोग गरिएको थियो ।
यी तीनवटै मोडलका अनुसार असोज १७ गतेदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ ।
असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट मध्य भारततर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोही प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ गतेबाट देशका कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाको विज्ञप्तिमा उल्लेख भए अनुसार असोज १७ गते (एकादशीको दिन) कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
असोज १८ गते (द्वादशी), कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
असोज १९ गते (त्रयोदशी), यस दिन कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको मात्रा उच्च हुनेछ । यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । बाँकी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सचेत रहन आग्रह :
महाशाखाले बडादशैँ अवधिभर मनसुन सक्रिय भई वर्षा हुने सम्भावनाले गर्दा भूक्षय, बाढी, पहिरोको जोखिम बढ्ने विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा तथा अन्य योजना बनाउँदा मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विजयादशमी टीकाको दिन पनि वर्षाको सम्भावना ः
जल तथा मौसम विज्ञान विभागले आधिकारिक रुपमा तीन दिनको मात्र मौसम पूर्वानुमान गरेर विजयादशमी टीकाको दिन असोज १६ गतेदेखि त्रयोदशीसम्म पानी पर्ने भनेको हो ।
बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने देखिन्छ, विपद विज्ञ एवम् जलवायु अध्येता डा. धर्मराज उप्रेतीले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्मको अवस्था हेर्दा यसको असर डरलाग्दो देखिन्छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष अक्टुबर २ तारिख अर्थात् विजयादशमी टीका परेको छ ।
यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो अर्थात असार १६ गते नेपाल भित्रिएको थियो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि त्यसअनुसार सबै ठाउँमा पानी परेन ।
आज पनि यी प्रदेशमा भारी वर्षा हुन्छ :
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैले यात्रामा ननिस्कन र धान काट्ने काम पनि नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति २०८२ आश्विन १५, बुधबार ०६:५८ गते
हजुरको प्रतिक्रिया