
काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको २०८२ भाइटीकाको उत्तम साइत कार्तिक ६ गते (२०२५ अक्टोबर २३) का दिन मनाइने छ । समितिका अनुसार नेपालमा भाइटिकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा पर्नेछ । असोज २९ गते सार्वजनिक गरेको हो ।
तिहारको अन्तिम दिन कार्तिक ६ गते बिहान ११ः३९ बजे भाइटिकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार यसवर्ष यमपञ्चक कार्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । धन त्रयोदशी तथा धनतेरस पर्व पनि कार्तिक १ गते नै परेको छ । कार्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइनेछ ।
कार्तिक ३ गते सोमबार कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कार्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजे पछि औंशी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा सोही दिन परेको छ ।
काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।
शास्त्रीय ग्रन्थमा भ्रातृ पूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटिका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ । यस पर्वमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कार्तिक ५ गते बुधबार परेको छ ।
कार्तिक ५ गते नै नेपाल संवत् अनुसार नयाँ वर्ष पनि परेको छ । उक्त दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा कार्तिक ६ गते बिहीबार मनाइनेछ ।
भाइटीकाको शुभ साइत कुन देशमा कति बजे ?
यसैबीच, विश्व ज्योतिष महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिका २०८२ कार्तिक ६ गते (२०२५ अक्टोबर २३) का दिन मनाइने छ ।
समितिका अनुसार नेपालमा भाइटिकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा पर्नेछ । विश्वका विभिन्न देशमा समयानुसार साइत फरक–फरक तोकिएको छ ।
यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइतको विज्ञप्ति सहित :
प्रकाशित मिति २०८२ आश्विन ३०, बिहीबार ०५:४० गते