झुठको सीमा हुंदो रहेनछ । यसले समाजलाई नै भ्रममा बाँंच्न सिकाउने हुंँदा समाजले पनि भ्रमलाई नै संस्थागत गर्दो रहेछ । समाज झुठको आधारमा पनि चल्दो रहेछ । मदन भण्डारीको दुःखद निधन पछि मदन भण्डारीको हत्या भएको हो भनेर जनताबाट मत लिने र जनतलाई पनि त्यो नै सत्य हो भन्ने विश्वास दिलाउने काम भयो । त्यसपछि हत्या नै भएको हो भन्नेहरू प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रपति समेत भए । सरकारमा लामो समयसम्म रहे, तर हत्यारा पत्ता नै लागेन । अब यसको सही उत्तर राज्यकोतर्फबाट चाहिन्छ कि हत्या भएको होइन, या हत्या पत्ता लगाउन नसकिएको हो । त्यो हत्या भएर पनि पत्ता लगाउन नसकिएको हो भने राष्ट्रपति भएका व्यक्तिका परिवार सदस्य, प्रधानमन्त्री र गृहमन्त्री हुनेका नेता समेतका हत्याराहरू पत्ता नलाग्ने हो भने देशमा सामान्य नागरिक प्रति कुनै अन्याय भएमा कसरी न्याय पाइएला ? त्यसैले मदन भण्डारीको हत्या भएको हुन सक्छ, र हत्यामा म बाहेक संसारका कुनै पनि व्यक्तिले प्रत्यक्ष बा परोक्ष रुपमा भाग लिएको हुन सक्छ । जहांँसम्म मलाई हत्या भएको हो कि होइन ? भनेर सोधिन्छ भने म प्रष्ट भन्छु, हत्या भएको होइन, किनकी राज्यले पत्ता लगाउन नै सकेन । आशंका त गर्न पाइन्छ र मेरो त्यो आशंका म उपर छैन, किनकी मैले त्यो नगरेको मलाई थाहा छ, अरुको बारेमा होइन कसरी म भनुं ।
ठिक्कै राजदरवार हत्या काण्डमा पनि त्यही मारिनेको समेत भूमिका थियो कि ! अरुको पनि थियो भन्ने सवालमा समेत म बाहेक अरु कसैको पनि भुमिका हुन सक्छ, मलाई आशंका छ, किनकी बिबाद भएकै छ, तर मैले होइन किनकि मलाई मैले त्यो नगरेको थाहा छ । राजा ज्ञानेन्द्रले नै मारेका हुन्की ? हुन सक्छ, तर त्यतिकै संभावना प्रचण्ड, देउवा, ओली, माधवकुमार नेपाल, झलनाथ खनाल आदिहरूले मारेको पनि हुनेमा छ, आशंका त प्रमाणित नभएसम्म जसमाथि पनि गर्न पाइन्छ । ज्ञानेन्द्र, ओली, देउवा, प्रचण्डहरूले मारेकोमा विश्वास नै त मलाई लाग्दैन किनभने ज्ञानेन्द्र बाहेक अरु कार्यकारी अधिकारका साथमा सत्तामा उनीहरू सत्तामा गए र आरोपितहरूलाई सजायको दायरामा ल्याउन सकेनन् । मुर्ति चोर पनि ज्ञानेन्द्र, प्रचण्ड, देउबा, ओली आदि समेत अरु पनि धेरै रहेको हुन सक्छ, किनभने कोही चोर प्रमाणित भएको छैन, कसैले पनि त्यो गरेको भन्ने प्रमाणित नभएकोले मलाई विश्वास छैन । तर मैले होइन किनकी मेरो बारेमा त मलाई प्रष्ट छ नि । अरु पनि कसकसले गल्ती गर्नु भएको छैन, तपाइहरूलाई नै थाहा होला ।
प्रमाणित गर्न नपर्ने तर आरोप लगाउंदै गर्ने कार्य न न्यायपुर्ण हो, तर्कसंगत नै हो । यो जस्ले जस्लाई पनि लगाउन सकिने आरोप हो । कमसेकम ज्ञानेन्द्रले गल्ती गरेका छैनन् भन्ने त प्रमाणित भएको छ । उनले राजा बनेपछि पनि आफूलाई राजाबाट हटाउंदा कुनै प्रतिरोध गरेनन्, त्यति महत्वाकांक्षाले राजा भएको भए त अन्तिम समयसम्म प्रयास गर्थे होला नि ! अहिले पनि राजालाई राजगद्दीमा राख्न केही दलहरू र सेना पनि तयार थियो भनिएको छ, उनले बिबाद रहित भएमात्र राजा बन्न सक्ने बताएको सुनिइरहेको छ । यी दुईवटा प्रमाणहरूले ज्ञानेन्द्र गलत गरेर राजा बन्ने मानिस होनन् भन्ने देखिदैन र ? अर्कोतर्फ ज्ञानेन्द्रको बिपक्षमा त सारा सरकारहरू र राज्य नै लागेको हो नि ! तर उनको बिरुद्धमा कुनै प्रमाण देखउन सकेनन् । त्यसैले ज्ञानेन्द्रले जानेर गल्ती र अपराध गरेका छैनन् भन्ने प्रष्ट छ । अरुले गलत आरोपहरू गलत नियतले लगाएका हुन् भन्ने प्रमाणित छ । ज्ञानेन्द्रले नजानेर वा गलत मुल्यांकनको आधारमा राजा हुंदा गल्ती गरेका हुन सक्छन् । मनिसले नजानेर गल्ती गर्छ र थाहा भए पछि सुध्रन पर्छ । तर यस्ता अप्रमाणित अफबाहहरूले समाज अफवाहबादी भएको छ, हल्लालाई आधार मानेर बिबाद गर्ने, मत दिने, मत नदिने भएको छ, नेताले विकास र समाजको हित गरे नगरेको मुल्यांकन प्राथमिकतामा परेको छैन ।
यी राजा ज्ञानेन्द्र मात्र होइन राजसंस्था उपर निश्चित लक्ष्य र उद्देश्यले गलत आरोप लाग्ने गरेको छ । बहुदलीय लोकतान्त्रिक परिपाटी देशमा आयो, सरकारमा कांग्रेस आयो, केही समय एमाले पनि बस्यो । उनीहरूले राजनैतिक र आर्थिक गल्तीहरू गरे । त्यही कारण देखाएर माओवादीले गल्ती सच्याउन सुझाब दियो । उनीहरूले गल्ती सच्याएनन् । गल्ती गर्नै हुंदैन र अरुले देखेपछि त झनै त्यही गल्ती दोहोर्याएर गर्ने कुरा अझै गलत हो । त्यही कारणले माओवादीले हिंसात्मक कार्य गर्यो । ठूलो जनधनको क्षति भयो ।
मुलतः कांग्रेस र एमालेको गल्तीको कारणले भएको माओवादी हिंसामा राजदरवारले चलखेल गरेको हुन सक्छ । तर उनीहरूले राम्रो गरेको भए चलखेल हुंदैन अर्थात हुन सक्दैन थियो । नराम्रो गर्नेको बिरुद्धमा चलखेल हुनु देशको हितको लागि र त्यही मौकाको फाइदा लिएर बलियो बन्न पनि हुन सक्छ । तर गल्ती गर्नेहरूले भने त्यो आरोप लगाउन मिल्दैन किनकि गल्ती नगरेको भए त्यो अवस्था आउन सक्ने थिएन । ज्ञानेन्द्रलाई पनि अप्ठेरो थियो । राजनैतिक दलहरू माओवादी समेत भएर साझा सहमतिमा सरकार बनाउन नआउने र राज्य चलाउन पर्ने भए पछि त केही त गर्नै पर्छ । राजाले पनि गल्ती गरे भन्न सकिएला तर क्षति माओवादीले जस्तो र अहिले जस्तो क्षति त ज्यादा हुन दिएनन् ।
कांग्रेस, एमालेहरूको कारणले सुरु भएको माओवादी हिंसा तिनै कांग्रेस एमालेसंग मिलेर अन्त्य भयो । माओवादीलाई क्रान्तिकारी देखाउनको लागि र कांग्रेस र एमालेलाई असल देखाउनको लागि भए नभएका धेरै कुरा ल्याइयो । जबकी कांग्रेस एमालेले राम्रो गर्न सकेका थिएनन्, भ्रष्टाचार भएको थियो, माओवादी राज्य सञ्चालनमा टेस्टेड हुन पाएको थिएन, त्यस अवस्थामा पनि कसैलाई बलिको बोको त बनाउन पर्ने नै थियो । राजसंस्थालाई बलिको बोको बनाइयो र ठूलो उपलब्धी गरेको भन्ने ढ्यांग्रो पिटियो । भ्रष्टाचार, नातावाद जस्ता कुरा राजाले होइन, दलका नेताहरूले गरेका थिए । बिबादको कारण पनि भ्रष्टाचार, नातावाद, कमिसन, जनतामा बेइमानी, कुसासन नै थिए । राजाले गर्दै नगरेको दोष राजामा थोपरियो । उनलाई हटाइयो ।
पुराना भ्रष्टहरूसंग मिलेर माओवादीहरूले नयां भ्रष्टाचार, बेइमानी, कमिसन, नातावाद आदिको साम्राज्यमा सहभागिता र भागिदारी गौरवका साथ लिएर अझै ज्यादा गरे । देश झनै पिडाको दलदलमा फस्यो । असहिष्णुता र अन्याय, युवाहरू देशमा बस्न नसक्ने, भ्रष्टाचार चरमचुलीमा पुग्ने मात्र भएन, बरु प्रचण्डको नै शब्दमा विदेशीलाई कम्फर्टेवल हुने सरकार उनकै नेतृत्वमा बन्यो । देशमा विदेशी चलखेल यति बढ्यो कि ! नेताहरूमा देशको लागि एकबद्धता होइन, विदेशीको इसारामा काम गर्ने प्रवृत्ति बढे जस्तो देखियो । एक जना नेताले त आफ्ना सन्तानलाई विदेशमा पढाउने व्यवस्था नभएकोले बिरोध गरे र पछि पढाउन पाएपछि समर्थन गरे पनि भन्ने गरिन्छ । यसरी दलीय स्वार्थ र आफन्तवाद तथा भ्रष्टाचार एवम् सत्ता र पैसाको लागि बिदेशीलाई गुहार्ने जस्ता कार्य सामान्य भए । यी पिडाका कुचक्रहरू दलहरू र मुलतः तिनका कहिल्यै रिटायर हुन नचाहाने अर्थात एस्पायर डेट नराखिएका नेताहरू नै हुन् ।
कसै प्रयास गरे पनि कुनै पनि गांठो फुकेन । युवाहरूको जमात आन्दोलित भयो र अहिलेको परिस्थिति आयो । अझै पनि नेताहरूले गल्ती स्वीकार गर्न सकेको जस्तो देखिंदैन । ठूला तीन दलका नेताहरूले ध्यान दिएर आफूहरू नेतृत्वमा होइन, अभिभावक मात्र हुन चाहाने हो भने यो अवस्थामा केही आशको दियो, देखिन सक्छ । चुनाब हुने भनिएकोमा चुनाब हुन सक्ने अवस्था नआएमा दलहरूमा नयां नेतृत्व आएपछि जनतामा केही आशा पलाउन सक्छ, दलका प्रतिनिधीहरू भन्न नमिले पनि दलका नेताहरूका नजिक भएका भनिएका व्यक्तिहरू न्यायाधीश बन्नुको फाइदा यो पनि छ कि ! दलहरूको चाहाना अनुसार देशलाई उचित निकास हुने देखिएमा अनावश्यक कानुनमा र संविधानमा नटांसिएर अनौपचारिक रुपमा दलहरूको सल्लाहमा अदालतले संसद पुनःस्थापना पनि गर्न सक्ने संभावना हुन्छ । यो पनि भविष्यको उचित अवतरण पनि हुन सक्छ । अर्कोतर्फ अमेरिका अहिले भारतमा चीन दुबैको भन्दा फरक चाहनामा रहेको जस्तो देखिएको तर भारत र चीनको बिरुद्धमा नेपाललाई प्रयोग गर्न चाहेको छ भन्ने पनि सुनिन थालेको छ । कहिले भारत, चिन, युरोपिय युनियन, अमेरिका आदिको दवाबमा रहन भन्दा भारत, चीनको परिस्थिति जन्य सहयोगमा नेताहरू मिलेर राजसंस्थाको पुनःस्थापना गर्ने र देशको सुरक्षा र स्थायित्वलाई ध्यान दिने अवस्था आउन सकेमा देशको र नेपाली समाजको एक हदसम्म कल्याण हुन सक्छ । देशको अहिलेको आवश्यकता चुनाव, संसद पुनःस्थापना, कार्यकारी प्रधानमन्त्री आदि भन्दा जनताको कल्याण, रोजगारी, देशको अस्मिताको सुरक्षा, नागरिकलाई असुरक्षाको भावनावाट मुक्ति हो । अस्तु !
लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै अन्तरङ्गका अतिथि सम्पादक हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८२ आश्विन ३०, बिहीबार ०८:२० गते