१५ औं महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गरौं : कांग्रेसका २५ जना नेता

१५ औं महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गरौं : कांग्रेसका २५ जना नेता

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २५ गते शुक्रबार ०६:४०

२५ जना नेताहरूले सभापति गगन थापासमक्ष भन्नुभएको छ, ‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षवाट जारी गरिएका १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं ।’

पार्टीको महाधिवेशन तीन कारणले सर्दैन : सभापति गगन थापा

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशन अझै हुने नहुने दोसाँधमा छ । कांग्रेसका २५ जना नेताहरूले एक अपिल जारी गरी महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह भदौ २६ गते गरेबाट त्यस्तो स्थिति उत्पन्न भएको हो ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने बताएको छ । यसप्रकार कांग्रेसका नाममा १५ औं महाधिवेशन दुई वटा हुने स्थिति उत्पन्न भएको हो ।
सोही स्थितिलाई ध्यानमा राखेर नेताहरूले दुवै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेको निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले बताउनु भयो । उहाँका अनुसार हामीले निर्णायक वार्ताका लागि अपिल गरिएको हौं ।
२५ जना नेताहरूले सभापति गगन थापासमक्ष भन्नुभएको छ, ‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षवाट जारी गरिएका १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं ।’
त्यस्तै वक्तव्य जारी गर्नेहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरूङ, शान्ति परियार विक, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, ईन्द्रबहादुर बानियाँ, अनिल रूंगाटालगायतका नेताहरू हुनुहुन्छ ।
‘१५ औं महाधिवेशनको संघारमा जे–जसरी विशेष महाधिवेशन भयो, त्यसबाट हामीले विभिन्न तीता–मिठा अनुभवहरू प्राप्त गरेका छौं। ती अनुभवबाट पाठ सिक्दै अब विगतका विवाद र मतभेदलाई बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने संकल्प गर्नुपर्छ ।’ सो अपिलमा भनिएको छ ।
सो अपिलमा देश यतिबेला गम्भीर संकट र विपद्को अवस्थामा छ । राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको छ । सरकार विपद्को बेलामा पनि एकाङ्गी ढङ्गले अघि बढिरहेको देखिन्छ भने राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएका छन् । प्रणालीलाई बलियो बनाउनेभन्दा व्यक्तिलाई बलियो बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख छ ।
यस्तो अवस्थामा नेपालको राष्ट्रियता र भूराजनीतिक परिस्थिति थप पेचिलो बन्दै गएको छ । नेपालको राजनीतिमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रभाव परिरहेको संवेदनशील परिस्थितिमा नेपालको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई जोगाउँदै समृद्ध र सबल राष्ट्र निर्माण गर्न नेपाली कांग्रेसको भूमिका अझ महत्वपूर्ण बनेको छ ।
यसका लागि कांग्रेसको सिंगो नेतृत्व पंक्ति एक ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्षमा पुग्न आवश्यक छ । सबैले आ–आफ्नो अहंकार, आग्रह र व्यक्तिगत स्वार्थ त्याग्दै पार्टीको बृहत हितलाई केन्द्रमा राखेर हाल चलिरहेको विवादको तत्काल निकास खोज्न आग्रह गर्दछौं भनिएको छ ।
आगामी १५ औं महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरू सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै नेपाली कांग्रेसको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न हामी सबै एक भएर अघि बढ्न आवश्यक छ भन्ने सो अपिलमा उल्लेख छ ।
पार्टीको महाधिवेशन तीन कारणले सर्दैन : सभापति गगन थापा
यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशन तीन कारणले नसर्ने बताउनु भएको छ । उहाँले मुलुकको संविधान, सर्वोच्च अदालतको फैसला र पार्टीको विधानका कारणले महाधिवेशन समयमै सम्पन्न हुने आजै एक कार्यक्रममा बताउनु भएको हो ।
उहाँले नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गर्दै महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने उल्लेख गर्नुभयो । सभापति थापाले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
सभापति थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने अडान दोहोर्याउँदै पार्टीभित्रका विकृति र विसंगतीविरूद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्नु भएको थियो ।
१५औँ महाधिवेशनमा कुनै पनि नेतालाई भाग लिनबाट वञ्चित नगरिएको दाबी गर्दै सभापति थापाले असोज ४ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने जानकारी दिनु भयो ।
महाधिवेशन र दशैँलगत्तै कांग्रेसले ७७ जिल्लामा विशेष अभियान चलाएर नागरिकसँगको टुटेको विश्वास पुनःस्थापित गर्ने सभापति थापाको उद्घोष छ ।

प्रकाशित मिति २०८३ भाद्र २६, शुक्रबार १८:४० गते
हजुरको प्रतिक्रिया