एजेन्सी– ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा पुस १४ गतेको राति निधन भएको हो । उनको जीवनको अध्याँरो पाटो अर्थात अधुरो चाहनाको खुलासा भएको छ ।
अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनले फुटबल खेल्न भने १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका थिए । डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । उनको आमाभत्दा अघि मर्ने चाहना थिएन ।
पेले विश्वकप फुटबलको उपाधि जित्ने तीन टिमको सदस्य रहिसकेका छन् । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । यसो गर्ने उनी विश्वकै एक मात्र खेलाडी हुन् । आफ्नो करियरमा एक हजार ३ सय ६३ वटा खेल खेलेका पेलेले कीर्तिमान एक हजार २ सय ८१ गोल गरेका छन् । ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ ।
उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।
उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।
त्यसपछि १९ वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे । यद्यपि सेन्टोस क्लबले भने क्लबका लागि पेलेले एक हजार भन्दा बढी गोल गरेको दाबी गर्दछ । यसमा मैत्रीपूर्ण खेलको गोल पनि समावेश छ ।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वल्र्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।
पेले आमाभन्दा अगाडि मर्न चाहन्नथें
महान फुटबलर पेलेले आफ्नो जीवनकालमा सबै उपलब्धीहरू हासिल गरे । उनका सबै इच्छाहरू पूरा भए । तर एक इच्छा भने पूरा गर्न सकेनन्, त्यो हो आमाको निधन अघि नमर्ने चाहना । उनको त्यस्तो चाहना पूरा हुन सकेन । पेलेकी आमा सेलेस्टे अरान्तेस १०० वर्षको उमेरमा चलिरहेकोछ । पछिल्लो समय कमजोर स्वास्थ्यका कारण उनकी आमा छोरालाई अस्पतालमा हेर्न जान पनि सकेकी थिइनन् ।
अब पेलेको पार्थिव शरीरलाई उनकी आमाको घर अगाडिबाट अन्तिम संस्कारका लागि लगिने जनाइएको छ । पेलेकी आमा सेलेस्टेल गत महिना आफ्नो १०० औँ जन्मदिन मनाएकी थिइन् । पेलेकी आमालाई ब्राजिलमा ‘ब्राजिलियन मोदर अफ द इयर’ को उपाधि समेत दिएको थियो । आफ््नी आमाको शुभ जन्मदिनमा पेलेले भावुक सन्देश सम्प्रेषण गरेका थिए । उनले इन्स्टाग्राम आमासँगको फोटो सेयर गर्दै लेखेका थिए ‘आमाको सयौँ जन्मदिन मनाउँदै छौँ । उहाँले मलाई बाल्यकालदेखि माया र शान्तिको वारेमा धेरै कुराहरू सिकाउनु भयो । म उहाँको छोरो हुनुमा गर्व गर्ने सयौँ कारणहरू छन् । आज पनि तपाईंलाई जन्मदिन भन्दै गर्दा अत्यन्तै भावुक भएको छु । तपाईंले दिनु भएका हरेक दिन मेरो लागि मूल्यवान हुनेछ । जन्मदिनको शुभकामना आमा !’
ब्राजिलका फुटबल लेजेन्ड पेले आफ्नो मृत्युका बारेमा नजिकका आफन्तजनसँग आमाभन्दा अगाडि नभइदियोस् भन्ने चाहना व्यक्त गर्दै आएका थिए ।
पेलेकी आमाको जन्म ट्रेस कोराकोसेसमा भएको थियो । पेले पनि त्यही जन्मिएका थिए । तर आमाले उनलाई पछि बउरु लगेकी थिइन् । जहाँ पेलेले बाल्यकालमा फुटबल सिकेका थिए ।
पेलेका बुबा जोओ रामोस दो नासिमेन्तो (डोनडिन्हो) को भने १९९६ मा ७९ वर्षको उमेरमा निधन भएको थियो। उनी पनि एक फुटबलर रहेका थिए ।
पेलेकी आमा अहिले सान्तोषमा नै रहने गरेकी छन् । उनी निकै बिरामी भएका कारण पछिल्लो समय घरबाहिर हिँडडुल गर्न सक्दिनन् ।
पेलेसँग जोडिएका संसारभर प्रसिद्ध सयौं कथाहरू
उनको खेल र रेकर्डसँग सम्बन्धित सयौं कथाहरू संसारभर प्रसिद्ध छन्, तर इतिहासको यो सबैभन्दा प्रसिद्ध खेलाडीसँग सम्बन्धित केही कुराहरू छन् जुन धेरैलाई थाहा छैन । प्रस्तुत छ, त्यस्ता केही रोचक किस्सा ।
विश्वमा एकजना मात्रै पेले छैनन्
पेलेका प्रशंसक ‘देयर इज ओन्ली वन पेले’ (विश्वमा एउटा मात्रै पेले छन्’ भनेर गीत गाउँछन् तर यो वास्तविकता होइन ।
विश्वभर फुटबल मैदानमा र बाहिर पेले नामका धेरै व्यक्तिहरू छन् । अफ्रिकाका प्रसिद्ध खेलाडी जसको नाम अबेदी औ हो, उनी अबेदी पेलेको नामले प्रसिद्ध छन्, उनी घाना र युरोपका धेरै क्लबबाट खेल्छन् ।
के पेलेले साँच्चै युद्ध रोकेका थिए ?
सन् १९६० को दशकमा, पेलेको सान्तोस एफसी विश्वको सबैभन्दा प्रसिद्ध फुटबल क्लबहरू मध्ये एक थियो । यसैको फाइदा उठाउँदै यो टोलीले विश्वभर धेरै मैत्रीपूर्ण खेल खेल्ने गर्दथ्यो । यस्तै एउटा खेल ४ फेब्रुअरी १९६९ मा नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा खेलिएको थियो । उक्त खेलमा सान्तोस क्लबले बेनिनी सिटीको स्थानीय क्लबलाई २–१ ले पराजित गरेको थियो ।
त्यतिबेला नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो । इतिहासकार गुरमान गोर्चेका अनुसार ब्राजिलका खेलाडी र अधिकारीहरू सुरक्षाको बारेमा चिन्तित थिए, त्यसैले दुवै पक्षले युद्धविराम गर्ने निर्णय गरे ।
यस कथाको सत्यताको बारेमा विभिन्न कुराहरू भनिन्छ । सन् १९७७ मा प्रकाशित पेलेको पहिलो आत्मकथामा यसबारे केही लेखिएको थिएन ।
तर ३० वर्षपछि प्रकाशित अर्को आत्मकथामा उनले यो कुरा उल्लेख गरेका छन् । उनले लेखे कि खेलाडीहरूलाई भनिएको थियो, ‘गृहयुद्ध एक एक्जिबिसन गेमका लागि समाप्त हुन सक्थ्यो ।’
पेलेले लेखे, ‘यो पूर्णतया सहि हो वा होइन मलाई थाहा छैन, तर नाइजेरियाले यो पक्कै पनि सुुनिश्चित गर्यो कि जतिबेला हामी त्यहाँ उपस्थित थियौँ, त्यतिबेला त्यहाँ कुनै प्रकारको घुसपेठ नहोस् ।’
पेलेका कारण रेफ्री बाहिरिन बाध्य :
१८ जुन १९६८ मा, बोगोटोमा पेलेको क्लब सान्तोस र कोलम्बियाली ओलम्पिक टोलीबीच मैत्रीपूर्ण खेल चलिरहेको थियो । यसै क्रममा रेफ्री गुइलेर्मो भेलास्क्वेजले पेलेलाई मैदान छोड्न भने । (रेड कार्डको प्रयोग सन् १९७० को दशकमा सुरु भएको थियो) । उनीमाथि फाउल गरेको आरोप लागेको थियो । भेलाज्क्वेजका अनुसार पेलेले उनीसँग दुर्व्यवहार गरेका थिए ।
तर रेफ्रीको यो निर्णयलाई लिएर ठूलो विवाद भयो र विरोध सुरु भयो । सान्तोसका खेलाडीले रेफ्रीलाई घेरे । खेलका तस्बिरहरूमा भेलाज्क्वेजको आँखा कालो भएको देख्न सकिन्छ ।
त्यहाँ उपस्थित दर्शकले पनि उनको विरोध गरे । सन् २०१० मा दिएको एक अन्तरवार्तामा उनले आफू मैदान बाहिर जानुपर्ने बताए । उनले लाइनम्यानलाई आफ्नो सिट्टी दिए र पेलेलाई खेलमा फिर्ता बोलाइयो ।
पेले र बीटल्स
सन् १९७५ मा पेले न्युयोर्क कसमसका लागि खेल्न अमेरिकाको न्युयोर्क गए । त्यहाँ उनले अंग्रेजी सिक्न सुरु गरे ।
एक पटक उनी पूर्व बिटल्स गायक र गिटारवादक जोन लेननसँग ठोक्किए । उनीबारे पेलेले सन् २००७ मा लेखे, ‘लेनन त्यतिबेला जापानी भाषा सिकिरहेका थिए ।’
पेलेका अनुसार लेननले आफू र उनका अन्य बीटल्स साथीहरूले एक पटक इङ्ल्यान्डको एउटा होटलमा ब्राजिलियन टोलीलाई भेट्ने प्रयास गरेको बताएका थिए । पेलेले लेखेका छन् कि ब्राजिलियन फुटबल संघका निर्देशकले ती व्यक्तिहरूलाई भेट्नबाट रोकेका थिए ।
पेले युरोपको क्लबबाट किन खेलेनन् ?
पेलेका आलोचकहरू भन्छन् कि उनले युरोपको कुनै पनि क्लबबाट खेलेनन्, यो उनका लागि फाइदाजनक साबित भयो ।
समस्या यो थियो कि अन्य धेरै ठूला र साना ब्राजिलियन खेलाडीहरू जस्तै, जब उनी आफ्नो करियरको शिखरमा थिए, उनलाई विदेश जानबाट रोकिएको थियो ।
सान्तोस क्लबले रियल म्याड्रिड र एसी मिलान जस्ता क्लबहरूको प्रस्ताव अस्वीकार गर्यो । त्यतिबेला खेलाडीले कहाँ खेल्ने भन्ने निर्णय उनीहरुको हातमा थिएन ।
उनलाई ब्राजिलमै राख्न सरकारबाट दबाब पनि आएको थियो । सन् १९६१ मा, तत्कालीन राष्ट्रपति जानियो क्वाड्रोसले पेले एक ‘राष्ट्रिय सम्पत्ति’ भएको र उनर्ला ‘निर्यात’ गर्न नसकिने घोषणा गरे ।
यद्यपि, सन् १९७५ मा पेले एक विदेशी क्लबको हिस्सा भए । उनले न्युयोर्क कसमस नामको टिमका लागि खेले ।
५० वर्षको उमेरमा ब्राजिलको कप्तान बने
पेले एकपटक मात्रै ब्राजिलको कप्तान बने । यसअघि हरेक पटक क्लब र देश दुबैको टिमको कप्तानीको प्रस्ताव उनले अस्वीकार गरे ।
राष्ट्रिय टोलीबाट सन्यास लिएको १९ वर्षपछि सन् १९९० मा उनले कप्तानको रूपमा मैत्रीपूर्ण खेलमा भाग लिए । ब्राजिलको प्रतिस्पर्धा ‘रेस्ट अफ द वर्ल्ड’ टिमसँग भयो ।
यो खेल पेलेको ५० औं जन्मदिनमा खेलिएको थियो । खेलको पहिलो ४५ मिनेटमा पेले मैदानमा उत्रिएका थिए ।
जब पेलेलाई ‘अपहरण’ गरियो
सन्तोस क्लबका खेलाडीहरू ५ सेप्टेम्बर १९७२ मा त्रिनिदाद र टोबागोमा खेलिने एक खेलका लागि दुःखी थिए ।
टोलीका डिफेन्डर ओबेरेडनले सन् २०१० मा ब्राजिलको एउटा पत्रिकालाई भनेका थिए, ‘आफ्नो विमानमा फर्किनका लागि छिटो खेल खेल्न तयार थियौँ ।’
तर ४३ औं मिनेटमा पेलेले गोल गरेपछि पोर्ट अफ स्पेन स्टेडियमका दर्शकहरु अनियन्त्रित बने ।
दर्शकहरू मैदानमा प्रवेश गरे र केही बेरपछि पेलेलाई काँधमा उठाएर सडकमा हिँड्न थाले, यो उत्सवको माहोलमा पेलेलाई त्यहाँबाट फर्काउन सजिलो थिएन, यसमा केही मिनेट लाग्यो ।
सिल्भेस्टर स्टेलोन फिक्का भए
सन् १९८० सम्म, सिल्वेस्टर स्टेलोन एक प्रसिद्ध नाम बनिसकेका थिए । उनको फिल्म ‘एस्केप टु विक्ट्री’ को सुटिङ सन् १९८० मा सुरु भएको थियो । यो फिल्म दोस्रो विश्वयुद्धको समयमा नाजी र कैदीहरूको टोलीको काल्पनिक कथा थियो ।
थुप्रै पूर्व खेलाडी र तत्कालीन खेलाडीका साथ पेले पनि यसका हिस्सा थिए । पेलेले एक सिनमा एक्रोब्याटिक बाइसाइकल शट पनि हानेका थिए ।
पेलेले ब्राजिलको वेबसाइट युओएललाई दिएको अन्तरवार्तामा उक्त शट वास्तवमा स्टेलोनले हान्नुपर्ने बताए ।
उनले भने, ‘स्क्रिप्ट अनुसार, स्टोलेनले शट हान्नुपर्ने थियो र म गोलकिपर थिएँ ।’
पेले चर्को स्वरमा हास्दै भने, ‘तर उनले बललाई हान्न सकेनन् ।’
पेले गोलकिपर बनेको भए पनि सायद निराश पार्ने थिएनन् । उनले सान्तोस क्लबबाट खेल्दा चार खेलमा यो भूमिका निभाएका थिए । यसमा सन् १९६४ मा खेलिएको ब्राजिलियन कपको सेमिफाइनल पनि छ । ब्राजिलले सबै खेल जित्यो, पेलेले कुनै पनि खेलमा गोल गर्न दिएनन् ।
पेड्रो मोन्टेरो, इङ्गल्याण्डका एक केप भर्डियन डिफेन्डर जो २००६ मा साउथ ह्याम्पटनसँग जोडिएका थिए, उनी पनि पेलेको नामबाट चिनिन्छन् । यो नाम उनलाई बाल्यकालमा दिइएको थियो ।
पेलेको ख्यातिको अनुमान यस तथ्यबाट गर्न सकिन्छ किएडसन, त्यो नाम जसबाट पेलेलाई ब्याप्टाइज गरिएको थियो, त्यो पनि निकै चर्चित भयो ।
ब्राजिलियन इन्स्टिच्युट अफ जियोग्राफी एन्ड स्ट्याटिस्टिक्सका अनुसार सन् १९५० को दशकमा ब्राजिलका ४३,५११ व्यक्तिलाई एडसन नाम दिइएको थियो । दुई दशकपछि पेलेको गोल १००० नाघेपछि यो नामको संख्या बढेर १,११,००० पुगेको थियो ।
एक ‘राजा’ जो राष्ट्रपति बन्न सक्थे ?
सन् १९९० मा, पेलेले घोषणा गरेका थिए कि उनी सन् १९९४ को ब्राजिलको राष्ट्रपति चुनावमा उत्रिने सोचिरहेका छन् ।
यो कहिल्यै साकार भएन तर पेलेले राजनीतिमा अवश्य पनि प्रवेश पाए । सन् १९९५ देखि १९९८ सम्म उनी ब्राजिलका खेलकुद मन्त्री थिए ।
उनले ब्राजिलका फुटबलरहरूलाई आफ्नो क्लब छनोट गर्न थप स्वतन्त्रता दिने कानुन बनाउनमा महत्त्वपूर्ण भूमिका खेले– जुन उनले खेल्दा सम्भव थिएन ।
एजेन्सीको सहयोगमा ।
प्रकाशित मिति २०७९ पुष १६, शनिबार २०:५२ गते