
प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । सो अनुसार प्रधानमन्त्री प्रचण्डले १७ औं दिन विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिन प्रतिनिधि सभाको बैठक बोलाइएको हो ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिनु हुने सार्वजनिक भइसकेको छ । संसदमा रहेका नेकपा एमालेसहित सरकारमा सहभागी ७ भन्दा बढी दलहरूले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनाइसकेका छन् । सरकारमा सहभागी नभएको एकीकृत समाजवादीले सोही दिन निर्णय गर्ने भएको पुस २१ गते खुलासा भएको छ ।
प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । सो अनुसार प्रधानमन्त्री प्रचण्डले १७ औं दिन विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिन प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनु पर्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई पुगिसकेको बताइन्छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि तयारी गरी रहेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रतिनिधि सभाको बैठक २५ गते बस्दैमा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट)बाट पढेर सुनाउने गरिन्छ ।
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन
प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि सभामुखले प्रधानमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् । सभाुखले दिएको समयमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठक (२६ गते)मा आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरूसँग प्रस्ताव राख्नु हुनेछ ।
प्रधानमन्त्रीले प्रस्ताव पेससँगै आफूलाई विश्वासको मत किन दिने ? भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरूले बोल्न चाहेमा सभामुखले उनीहरूलाई बोल्न समय दिन्छन् ।
सभामुखले दिएको समयसीमाभित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदहरूले आफ्नो धारणा राख्नु पर्छ । संसदमा यदि पूर्वप्रधानमन्त्री र पूर्वसभामुखले बोल्न चाहेको खण्डमा भने समयको सीमा तोकिदैन ।
यदि सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिन सक्छ ।
छलफल सकिएपछि प्रतिनिधि सभाका सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन् ।
प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् ।
प्रधानमन्त्रीले सांसदहरूले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया शुरु हुन्छ । संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ । त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ । निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया शुरु हुन्छ ।
सदस्यहरूलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ । तर प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि भने ध्वनीमतको व्यवस्था गरिदैन ।
मत दिइसकेपछि पनि सच्याउने अवसर
प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरूलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउने प्रावधान छ । सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरूले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाइन्छ । यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको मतका आधारमा विश्वासको मत पाए नपाएको नतिजा सुनाउने काम हुन्छ ।
प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ । विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव राष्ट्रपतिसमक्ष संसद सचिवालयले लेखेर पठाउँछ ।
३० दिनभित्र विश्वासको मत लिने व्यवस्था
संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्छन् ।
संविधानको धारा ७६ को उपधारा (२) वा –३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गर्नु भएको हो । १७ औं दिन प्रधानमन्त्रीले विश्वासको मत लिने हुनुभएको हो ।
प्रकाशित मिति २०७९ पुष २१, बिहीबार १७:३८ गते