तीनपिप्ले(लमजुङ)– लमजुङको राइनास नगरपालिका– १ देखि ७ वडाका बसिन्दाहरू चेपे ए जलविद्युत आयोजनाको निर्माण कम्पनीका सञ्चालकहरूका विरुद्ध विरोध प्रदर्शनमा उत्रिएका छन् । सोही नगरपालिकाको कार्यालय रहेको यहाँ स्थित तीनपिप्ले बजार क्षेत्रमा पीडितहरू विरोध प्रदर्शनमा पुस २२ गते उत्रिएका हुन् ।
विरोध प्रदर्शनकारीहरूले झुठा मुद्दा खारेज गर, धरपक्कड बन्द गर, जल माफिया होसियार, किसान ओन्दालन जारी छ, पावर हाउस माथि सार, सिंचाईको सुनिश्चित गर, आम राइनास बासी एक छौं जस्ता नारा लगाएका थिए । उनीहरूले नगरपालिकाका साथै, प्रशासन, सहित केन्द्र सरकरको ध्यानाकर्ष सहित दबाबको कार्यक्रम सञ्चालन गर्ने क्रममा यो प्रदर्शन सांकेतिक रहेको बताएका छन् ।
लमजुङको पूर्वी क्षेत्रमा गोरखा जिल्लाको सीमा क्षेत्रमा रहेको चेपे खोलामा निर्माणाधिन रहेको चेपे ए जलविद्युत आयोजनाका पीडित किसानहरूले विरोध प्रदर्शन गरेका हुन् । उक्त जलविद्युत आयोजनाको निर्माणकार्य ६० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । आयोजनाको निर्माण कार्य आउँदो असारमा सम्पन्न गर्ने गरी रफ्तारमा अघि बढी रहेको चम्पावती हाइड्रोपावर लि.का सञ्चालकहरूले यसअघि नै बताइसकेका छन् ।
सो आयोजनाको विद्युत गृहबाट निकास हुने पानी राइनासटार सिंचाई आयोजनाको मुहानभन्दा दुई सय मिटर माथि खसाल्ने गरी सो विद्युत आयोजनाको आईईई प्रतिवेदनमा रहेको भन्ने राइनासटार सिंचाई आयोजनाका उपभोक्ताहरूको धारणा छ र सो अनुसार नै काम भएको छ भन्ने दावी सो विद्युत आयोजनाको प्रवद्र्धक कम्पनीका सञ्चालकहरू रहेको छ । तर विद्युत आयोजनाको निर्माणाधिन विद्युत गृहको संरचना हेर्दा भने त्यसबाट निकास हुने पानी राइनासटार सिंचाई आयोजनाको मुहानभन्दा माथि खस्छ भन्ने आंकलन गर्न भने नसक्ने स्थिति छ । सिंचाई आयोजनाका पीडित उपभोक्ताहरू विद्युत गृहको हालको संरचना अनुसार त्यसबाट निकासी हुने पानी मुहानको सहतभन्दा दुई सय मिटर तल विद्युत आयोजनाबाट निकास हुने पानी खस्छ रहाम्रो ३० वर्षदेखि हुँदै आएको सिंचाईको काम बन्द हुन्छ त्यसो गर्न पाइन्न भन्ने दावी रहँदै आएको छ ।
त्यही स्थितिलाई ध्यानमा राखेर राइनासटार सिंचाई आयोजनाका उपभोक्ताहरूले निर्माणाधिन चेपे जलविद्युत आयोजनाको निर्माण पक्षले बल मिच्चाइँ गरिरहेको भन्दै त्यस बारेमा करिब एक वर्ष अघिदेखि विभिन्न माध्यमबाट आवाज उठाउँदै आएका छन् । यो बीचमा उपभोक्ताहरूको एक टिम उर्जा मन्त्रालय तथा विद्युत विकास विभागमा समेत गएर ध्यानाकर्षण गरिसकेको हो । सिंचाई उपभोक्ताहरूको गुनासोलाई ध्यानमा राख्दै विद्युत विकास विभागले चम्पावती हाइड्रो पावरलाई एक पत्र पठाउँदै (गत मंसिर ८ गते) आइईई प्रतिवेदनका आधारमा मात्र काम अघि बढाउनु अन्यथा काम रोक्न निर्देशन दिएको स्थिति रहेको उपभोक्ताको भनाई छ ।
त्यो बीचमा राइनास नगरपालिकाको अगुवाईमा गत असारमा चम्पावती हाइड्रो पावरको कार्यालय परिसरमा सार्वजनिक सुनुवाई समेत गरी सो विद्युत आयोजनाको निर्माण कम्पनीको ध्यानाषर्ण गराउने काम समेत भएको हो ।
यति हुँदाहुँदै पनि चम्पावती हाइड्रो पावरले निर्माण संरचनामा कुनै परिवर्तन नगरी र सिंचाईै आयोजना सुनिश्चित हुने कुनै पनि ग्यारेन्टी नगर विद्युत आयोजनाको निर्माण कार्य अघि बढाएको अवस्था छ । त्यो स्थिति देखेर आक्रोशित हुँदै आएका उपभोक्ताहरूले सो अयोजनाबाट पीडित राइनासटार सिंचाई आयोजना बचाउ अभियान संघर्ष समिति नै गठन गरेका छन् । सो समितिको नेतृत्वमा विद्युत आयोजनको निर्माण कार्य रोक्न जोड दिन उनीहरू (गत मंसिर २८ गते) आयोजनास्थलमा पुगेका थिए । त्यस दिन आफ्ना माग आयोजना पक्षलाई राखेर अगुवा किसानहरू फर्किसकेपछि सो कार्यालयमा तोडफोड र आयोजनाका केही साधनमा आगजनी समेत हुन गएको थियो । त्यो आन्दोलनकारी किसान नेताहरूको निर्देशनमा भएको आयोजना पक्षको दावी छ । तर विद्युत आयोजनाको निर्माण पक्षले आफू माथि पर्नका लागि र उपभोक्तालाई तर्साउनका लागि आफैले सो कार्य गराएको भन्ने पीडित उपभोक्ताहरूका अगुवाहरूको दावी रहँदै आएको छ ।
सो तोडफोड र आगजनी पीडित उपभोक्ताहरूका अगुवाहरूको निर्देशनमा भएको र सो क्रममा तीन करोड ४० हजारको क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति भराउने सहितको माग गर्दै आठ जना उपभोक्ता विरुद्ध आयोजनाको निर्माण पक्षले गोर्खा प्रहरीमा किटानी जाहेरीको उजुरी दर्ता गरेका थिए ।
राइनासटार सिंचाई आयोजना आजभन्दा ३० वर्ष अधि निर्माण भएको हो । त्यस सिंचाई आयोजनाले राइनास नगरपालिका– १ देखि ७ नं वडासम्मको कुल १४ सय हेक्टरमा सिंचाई गर्ने लक्ष्य रहेकोमा हाल साढे आठ सय हेक्टर जग्गा सिंचाई हुँदै आएको छ ।
किटानी जाहेरीमा राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, सो अयोजनाबाट पीडित राइनासटार सिंचाई आयोजना बचाउ अभियान संघर्ष समितिका अध्यक्ष एवम् नेपाली काँग्रेसका नगर सभापती श्रीकृष्ण पौडेल, राइनासटार सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र चिलुवाल, त्यसै समितिका सचिव हरि सिल्वाल, सोही समितिका कोषाध्यक्ष गोविन्द न्यौपाने, नेकपा एमालेका नगर सचिव बलराम घिमिरे, इन्जिनियर प्रकाश न्यौपाने सहित आठ जनाको नाम रहेको प्रहरी स्रोतले बताएको छ ।
यो बीचमा सो वस्तुस्थितिलाई ध्यानमा राख्दै सिंचाई आयोजना बचाउ अभियान संघर्ष समितिले प्रधानमन्त्री, उर्जा मन्त्रालय सहितका सम्बद्ध निकायको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।
सोही ज्ञापन पत्रका आधारमा उर्जा मन्त्रालयका सहसचिव कृष्ण नेपालको नेतृत्वका एक टोली आएर जलविद्युत आयोजनाको स्थलगत अध्ययन गर्नुका साथै गण्डकी प्रदेशका सोही क्षेत्रबाट निर्वाचित सदस्य डा. टकराज गुरुङ(लमजुङ), राइनास नगरपालिकाका मेयर खड्ग गुरुङ, उपमेयर पुष्पराज खनाल, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङको उपस्थितिमा पीडित किसानसँग अन्तरक्रिया गर्ने र लमजुङ तथा गोरखाका प्रशासन प्रमुखसँग पनि भेट गरी फर्केको छ ।
त्यसको प्रतिवेदन बुझाउन करिब एक हप्ता लाग्ने उपसचिव नेपालले बताउनु भएको थियो । सो प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने र सार्वजनिक गर्ने कार्य भएको छैन । तर हिजो पुस २१ गते गोरखा जिल्ला प्रहरी कार्यालयबाट किटानी जाहेरी परेका आठ जनालाई पक्राउ गरी बुझाउनु भन्ने पत्र जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको स्रोतको भनाई छ । सो पत्रका आधारमा सम्बन्धित व्यक्तिहरूलाई गोरखामा सम्पर्क गर्न जानु भन्ने जानकारी दिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनु भएको छ । उहाँका अनुसार हामीले उहाँहरूलाई गिरफ्तार नै गरेका अवस्था छैन । आज पीडितहरू प्रदर्शनमा उत्रिए रे ! भन्ने सुनियो । ‘अबको स्थिति के हुन्छ होला ?’ भन्ने जिज्ञासामा ‘प्रदर्शन भयो भन्ने खबर आएको छ, वार्ताबाटै समाधान खोज्नु पर्छ भन्ने हाम्रो धारणा हो, मुद्दा गरेर त हाइड्रोका लागि पनि दीर्घकालीन रुपमा त के फाइदा होला र ?’ प्रजिअ वैद्य बताउनु हुन्छ, ‘केन्द्रबाट आएको टोलीको प्रतिवेदन आउन बाँकी छ, त्यसले निकास दिन्छ भन्ने पनि लागेको हो, यो बीचमा गोरखाबाट पत्र लेख्ने काम भएछ ।’ वैद्यले थप भन्नुभयो, ‘उजुर दिने पक्ष गोरखा र पीडितहरू हाम्रोमा भएको हुँदा पनि केही समस्या थपिएको छ । वार्ताको विकल्प त देखिदैन, पीडितहरूले माथि थप कुराकानी गर्दै हुनुहुन्छ भन्ने खबर छ ।’ २, ४ दिनमा अध्ययन टोलीको प्रतिवेदन पनि आउँला त्यो बेलासम्म हेरौं वैद्यले भन्नुभयो ।
यसबारेमा चम्पावती हाइड्रोका सञ्चालकहरूसँग सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन ।
कुल ७ मेगावाट क्षमताको चेपे ए जलविद्युत आयोजना चम्पावती हाइड्रोपावर लि.को प्रवद्र्धनमा एक अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा निर्माण भइरहेको छ ।
प्रकाशित मिति २०७९ पुष २२, शुक्रबार १८:५२ गते