
काठमाडौं– अमेरिकाको संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले नयाँ सभामुखको निर्वाचन गरेको छ । केभिन मकार्थी रिपब्लिकन पार्टीका उम्मेदवारलाई सदनले १५ औं पटकमा सभामुखमा पुस २३ गते निर्वाचित गरेको हो ।
सभामुखको चयन भएर सांसदहरूले सपथ नलिएसम्म अमेरिकी संसदले आफ्ना काम–कारबाही अघि बढाउन सक्दैन । अमेरिकामा राष्ट्रपतिपछि दोस्रो वरीयतामा सभामुख हुन्छन् ।
सदनमा रिपब्लिकन पार्टीकै बहुमत छ । तर पनि यसअघि उनले आवश्यक मत पाउन सकिरहेका थिएनन् । उनी क्यालिफोर्नियाका हुन् । यो चुनावी प्रतिस्पर्धा अमेरिकी संसदको १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।
गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट पार्टीले २१२ सिट जितेका थिए । कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो । डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए । १५ औं पटक चुनाव गरेपछि उनी निर्वाचित हुन सफल भएका हुन् ।
संसदको सभामुख चयन हुन २१८ जना सांसदको भोट पाउनुपर्छ । रिपब्लिकन पार्टीसँग नयाँ सभामुख चुन्न पर्याप्त मत रहे पनि आन्तरिक विवादले नयाँ सभामुख चुन्न सकस भएको थियो । मकार्थीलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन थियो ।
पार्टीकै म्याट गेइट्जले मकार्थीविरूद्ध विद्रोह गरेपछि सभामुख चयन गर्न कठिन भएको थियो । तर लाइभ चलिरहेकै सदनमा मकार्थीलगायत केही सांसदले उनीसँग गएर कुरा गरेको भिडिओ समेत बाहिरिएका छन् । जसमा केही भनाभन हुँदा एक सासंदको मुख समेत थुनेर लगिएको देखिन्छ ।
स्मरणीय छ, अमेरिकाको संसदमा पहिलो पटक भएको मतदानले सभामुख चुन्न नसकेको घटना एक सय वर्षपछि दोहोरिएको हो । सन् १९२३ मा पनि हाउस अफ रिप्रिजेन्टेटिभ्सले ९ पटक मतदान गरेर सभामुख छान्न सकेको थियो ।
प्रकाशित मिति २०७९ पुष २३, शनिबार १९:२७ गते