
धनगढी– दार्चुलाको ब्यास गाउँपालिका– ४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । उनी नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले पुस २३ गते जानकारी दिए ।
सो घट्ना पुस २१ गते भएको बताइएको छ । उनी बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
बेपत्ता दीपेन्द्र दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए । ब्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे दुई दिनपछि मात्र जानकारी भएको ब्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताउनु भयो । उहाँका अनुसार बेपत्ता बालक दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा– ४ मा अध्ययनरत थिए ।
ब्यास गाउँपालिका– ४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ ।
बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा तुइनबाट खसेर बेपत्ता भएका थिए ।
घटनास्थल जिल्ला सदरमुकामबाट निकै टाढा छ । त्यहाँका स्थानीयहरू घाँस र खर काट्न भारततिर जाने गर्दछन् । घाँस ओसारपसारमा सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्ने गर्दछन् । त्यहीँबाट बालक खसेका हुन् ।
वर्षेनी एकजनाको जान जान्छ
यसैबीच, यस क्षेत्रमा यसरी तुइन तर्ने क्रममा हरेक वर्ष एक जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो ६४ वर्षमा ६३ जनाको ज्यान गएको छ । त्यसरी तुइनबाट खसेर बेपत्ता हुनेमध्ये आजसम्म दुई जनाको मात्र शव फेला परेको छ । बाँकी सबैलाई प्रहरी प्रशासनले वेपत्ताको सूचिमा राख्ने गरेको स्थानीयको भनाई छ ।
प्रकाशित मिति २०७९ पुष २४, आईतवार ०८:३८ गते