
सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजार अवस्थित एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २ दिने स्त्रीरोग सम्बन्धि सचेतना एवम् परामर्श कार्यक्रम गरिएको छ । उक्त दुई दिने सचेतना शिविर सो साकोसले आफ्ना सदस्यहरूलाई पुस २३ गते सम्पन्न गरेको हो ।
अल्का अस्पताल ललितपुरको प्राबिधिक सहयोग सञ्चालन गरिएको शिविरको समापन कार्यक्रममा संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले संस्थाको आफ्नो सामाजिक उतरदायित्व अन्तरगत यस्ता कार्यक्रमहरू एभरेष्ट साकोसबाट नियमित रुपमा सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले संस्थाको स्थापना दिवसको उपलक्ष्यमा स्त्री रोग सम्बन्धि बृहत् शिविर सञ्चालन गर्ने योजना रहेको समेत जानकारी दिनु भयोे । प्राबिधिक सहयोग गर्ने अल्का अस्पताल जावलाखेलका मेट्रोन अनिता श्रेष्ठले आगमी दिनमा एभरेस्ट साकोससँग थप सहकार्य गरी स्वास्थ्यका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्न अस्पताल प्रतिबद्ध भएको बताउनु भयो ।
सो अवसरमा एभरेस्ट साकोसका सञ्चालक एबम् महिला सशक्तिकरण उपसमितिका संयोजक विद्यादेबी श्रेष्ठ, सामाजिक अभियन्ता राधादेबी श्रेष्ठ लगायतले आ–आफ्ना धारणा सहित मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णुकुमार श्रेष्ठले गर्नु भएको थियोे ।
दुई दिने कार्यक्रममा अल्का अस्पताल जावलाखेलका डाक्टर निस्मा बज्राचार्यले सहजकर्ताको भूमिका निभाउनु भएको एभरेस्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार सो दुई दिने कार्यक्रममा साकोसका १२५ जना महिला सदस्यहरूको सक्रिय सहभागिता रहेको थियोे ।
प्रकाशित मिति २०७९ पुष २४, आईतवार २०:५१ गते