
बेसीशहर– लमजुङमा बौद्धिक अपाङ्गताका अभिभावकलाई हेरचाह सम्बन्धि दुई दिने तालिम शुरु गरिएको छ । तालिमको गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले पुस २८ गते उदघाटन गर्नु भएको हो ।
उदघाटन मन्तव्यमा पौडेलले यो फरक विषय हो, असमान्य परिस्थितिलाई सामान्यीकरण गर्न तपाई हामी सबै एकजुट हुन आवश्यक छ भन्नुभयो । हाम्रा आ–आफ्ना भूमिकालाई पूरा गरियो भने समस्या समाधान सम्भव छ उहाँले उल्लेख गर्नुभयो । अनुभव आदानप्रदान गरौं त्यसले पनि सिकाइलाई मद्दत गर्दछ भन्नुभयो । प्रदेश सहित संघ र स्थानीयस्तरमा पनि नीतिगत सुधारका कार्यमा केही गर्नु पर्ने छ भने त्यसको पनि सुझाव पाउँ म सक्ने प्रयास गर्ने छु उहाँले भन्नुभयो । उहाँले सदैव सकारात्मक सहयोगका लागि इमान्दार, अनुशासित र लगनशील भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु भन्नुभयो ।
सो अवसरमा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष एवम् अन्तरङ्ग न्यूज डटकमका अध्यक्ष, वरिष्ठ पत्रकार नवराज पहाडीेले आफूहरू आवाज बिहीनहरूको आवाज भएको स्मरण गर्दै तपाईहरूका समस्या सरोकारवालासम्म पुर्याउन पुलको काम गर्ने गरिआएको बताउनु भयो । उहाँले तपाईहरूका सफलताका कथा, कुनै पीडा, अन्याय अत्याचार, थिचोमिचोमा हुनुहुन्छ भने त्यो पनि लेख्न भन्नु होला हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं भन्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै, अपाङ्ग संरक्षण समाजका अध्यक्ष एवम् अपाङ्ग महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले यहाँहरूको बसाईलाई सुखद बताउन प्रयत्न गर्नेछौं भन्नुभयो । उहाँले २०६२ सालदेखि संस्थागत रुपमा अपाङ्ग संरक्षण समाज स्थापना गरेर र त्यसअघि एक्लै एक्लै अभियानमा आफू लागेको जानकारी दिनुभयो । यो बीचमा केही उपलब्धी भएका छन् तर पर्याप्त छैनन्, त्यसैले प्रयास जारी हामी थाकेको छैनौ र थाक्देनौ भन्नुभयो। । उहाँले कार्यक्रममा चितवनसँग अनुभव आदान प्रदान गरेर लमजुङ बढी लाभान्तिव हुने हुँदा यो कार्यक्रम यहाँ सञ्चालन गर्न पाउँदा हामी लमजुङेहरूका लागि गौरवको अनुभव भएको छ भन्नुभयो ।
त्यसैगरी, कालिका यातायात व्यवसायी समितिका प्रतिनिधि रमेश केसीले आफूहरूले एक माइक्रो बस एक अपाङ्गता भएका व्यक्तिका लागि नियमानुसार पाउने ५० प्रतिशत छुट दिने नियम लागू गरिरहेको र आफूहरू त्यसको कार्यान्वयनमा प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो । उहाँले काउन्टरबाट टिकट लिँदा त समस्या हुँदैन तर बीच बाटोबाट बस चढ्नु पर्ने अवस्था आयो भने हाम्रा नाम नंबर राखेर सम्पर्क गर्नु भयो भने आवश्यक सहयोग गर्न तयार छौं भन्ने थप प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यसअघि अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ लमजुङका अध्यक्ष श्रीकृष्ण घिमिरेले स्वागत मन्तव्य राख्दै आफूहरूले बौद्धिक मन्दता भएका बालबालिकाहरूको डे केयर सेन्टर सञ्चालनका लागि भवन निर्माणका लागि सुन्दरबजार नगरापालिका– ६ मा आठ आना तीन पौसा एक दाम जग्गा प्राप्त गरिसकेको र अब भवन निर्माणको चरणमा रहेको जानकारी दिनु भयो । उहाँले यसैले सबै क्षेत्र, पक्षबाट सहयोगको अपेक्षा गरेको बताउनु भयो । उहाँले बौद्धिक अपाङ्गता भएको आठ जना व्यक्ति बराबर एक शिक्षकको प्रवन्ध गर्ने कानुन बनिसकेको छ त्यसको कार्यान्वयनको चरणमा आफूहरू रहेको जानकारी दिनुभयो ।
लेब इन्कुजन डेनमार्कको सहयोगमा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा सो संस्थाका महासचिव एवम् बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपाल चितवन शाखाका अध्यक्ष रामनारायण श्रेष्ठको अध्यक्षतामा उदघाटन सत्र भएको थियो । उहाँले दुई दिने सो कार्यक्रममा सहजकर्ताको भूमिका निभाइरहनु भएको छ ।
प्रकाशित मिति २०७९ पुष २८, बिहीबार २१:३१ गते