६ बर्षदेखि पहिचान समेत लुकाएर बसेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लमजुङ प्रहरीद्वारा पक्राउ

६ बर्षदेखि पहिचान समेत लुकाएर बसेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लमजुङ प्रहरीद्वारा पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २८ गते बिहिबार १०:०९


प्रतिवादी गुरुङले चितवन बस्दाको समयमा आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेको पाइएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार गुरुङले चितवनमा आशमान गुरुङको नाउँमा चौधरी थरकी महिलासँग विहेबारी गरी बसेका रहेछन् ।

पुस महिनामा मात्र त्यस्ता अभियुक्त २० जनालाई पक्राउ

बेसीशहर– आफ्नो पहिचान समेत लुकाई ६ बर्षदेखि बसेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी ती अभियुक्तलाई पुस २८ गते सार्वजनिक गरेको हो ।
लमजुङको राइनास नगरपालिका– ९ का स्थायी बसोबास भएका ४२ वर्षीय बेलराम गुरुङले त्यस्तो कार्य गरेको प्रहरी भनाई छ । उनले घटाएको कर्तव्य ज्यानको घट्ना आजभन्दा छ वर्ष अघि अर्थात २०७४ मंसिर ११ गते राती ९ः३० बजेको समयमा थियो । सोही नगरपालिका– ९ को कुडुले गाउँ बस्ने ५४ वर्षीय हितमान श्रेष्ठलाई चारपाटे दाँउरा(काठ) टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी घटना पश्चात फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । उनका अनुसार घटना लगत्तै फरार रहेका प्रतिवादी गुरुङले चितवन जिल्लामा पहिचान समेत लुकाई अर्कै नामको परिचय बनाई लुकिछिपि बसेका छन् भन्ने बिशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । ती व्यक्तिले हत्याका लागि प्रयोग गरेको चारपाटै काठको सानो मुढा जस्तो वस्तु त्यस समयमै प्रहरीले बरामद गरेको थियो, आज आदलतमा सो समेत पेश गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक श्रीमलले भन्नुभयो, ‘जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष अनुसन्धान प्रहरी टोलीले प्रतिवादी बेलराम गुरुङलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेको हो । ती गुरुङ भरतपुर महानगरपालिका– १६ बिजयनगर बस्तीमा परिचय समेत लुकाई अर्को घरजम गरी लुकिछिपि बसेको अवस्थामा पुुस २७ गते पक्राउ गरिएको हो ।’
प्रतिवादी गुरुङले चितवन बस्दाको समयमा आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेको पाइएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार गुरुङले चितवनमा आशमान गुरुङको नाउँमा चौधरी थरकी महिलासँग विहेबारी गरी बसेका रहेछन् । उहाँले भन्नुभयो, ‘पक्राउ परेका गुरुङका विरुद्ध लमजुङ जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन–५ (पाँच) को म्यादको अनुमति लिई उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य सुरु गरिएको छ ।’
मुलुकी अपराध संहिता, २०७४ को सो दफा अनुसार कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेको छ । प्रहरीले उनी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत कर्तव्य ज्यान मुद्दा चलाउन तयारी गरेको छ ।
लमजुङ प्रहरीले पुस महिनामा मात्र त्यस्ता अभियुक्त २० जनालाई पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति २०७९ पुष २८, बिहीबार २२:०९ गते
हजुरको प्रतिक्रिया