विद्युतको वेवारिसे तारका कारण करेन्ट लागेर हात गुमाएका ११ वर्षीय तामाङ बालकको परिवारले कहिले पाउँछन् राहत र क्षतिपूर्ति ?

विद्युतको वेवारिसे तारका कारण करेन्ट लागेर हात गुमाएका ११ वर्षीय तामाङ बालकको परिवारले कहिले पाउँछन् राहत र क्षतिपूर्ति ?

नवराज पहाडी

@antaranganews

२०७९ माघ १ गते आईतबार १०:०१

बुद्धिबहादुरका बुबा मनराजले गुनासो शैलीमा यो प्रतिनिधिसँग भन्नुभयो, ‘विजुली अफिसले अस्पतालको खर्चमात्र बेहोर गर्यो, अरु केही दिएको छैन । विद्युत अफिसले छोराको उपाचारको बेलामा काठमाडौंमा मैले खाना– खाजामा गरेको खर्च पनि दिएको छैन, मेरो छोराको उपचार गर्दा त्यसपछि पनि लागेको खर्च डेढ लाख रुपैयाँ अझै तिर्न सकेको छैन ।’ उहाँले थप भन्नुभयो, ‘मसँग त त्यो तिर्ने उपाय पनि छैन, दिनभर कमाएको पैसाले जहान केटाकेटी पाल्नै मुस्किल छ ।’

कता छन् यो जिल्लाका तथाकथित मानवअधिकारवादीहरू ?

बेसीशहर– लमजुङमा विद्युत वितरण केन्द्रको लापरवाहीका कारण वेवारिसे बनेको तारबाट करेन्ट लागेर हात गुमाएका खुट्टामा(पैतलादेखि घुँडामाथिसम्म) समेत नराम्रो चोट लागेका ११ वर्षीय बालक र उनको परिवारले अझै राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् । गत बैशाख ५ गते भएको सो घट्नाको राहत र क्षतिपूर्ति पाउनका लागि अझै त्यो परिवारले कति कुर्नु पर्ने हो ? उनीहरूको बोलिदिने मान्छे नभएका कारण त्यो परिवारको विचल्ली भइरहेको छ ।
बेसीशहर नगरपालिका– ८ को मलामे चौरको ल्याण्डफिल्ड(फोहर संकलन केन्द्र)मा बेवारिसे रुपमा छाडिएको विद्युतीय तारबाट करेन्ट लागेका बालक ११ वर्षीय बुद्धिबहादुर तामाङको उपचारमा सामान्य खर्च बेहोर गरेता पनि अन्य सहयोग रकम तथा क्षतिपूर्ति रकम आजसम्म नेपाल विद्युत प्राधिकरणबाट नपाएको पीडित परिवारको गुनासो छ । बुद्धिबहादुर सोही स्थानमा अर्काको जग्गा रखेदेख गर्न त्यही टहरो हालेर गिट्टी कुट्दै, बालुवा चाल्दै आफू र परिवारको लालनपालन गर्दै आएका मीनराज तामाङका छोरा हुन् । उहाँको जन्म थलो लमजुङकै मस्र्याङ्दी गाउँपालिका– ३ जिम्दु गाउँमा हो ।
अनपढ रहेका मीनराजले छोरालाई करेन्ट लागेपछि आफूले काठमाडौंको कीर्तिपुर देवढोका स्थित कीर्तिपुर अस्पतालमा लगेर उपचार गरेको बताउनु भयो । उहाँका अनुसार २२ दिनसम्म दिनमा एक पटक मात्र छोराको होस आउथ्यो । ‘त्यसपछि जम्मा ३३ दिन अस्पतालमा राखेर अब औषधि छैन, अब घर गए हुन्छ भन्यो र लिएर आएँ ।’ बुद्धिबहादुरका बुबा मनराजले गुनासो शैलीमा यो प्रतिनिधिसँग भन्नुभयो, ‘विजुली अफिसले अस्पतालको खर्चमात्र बेहोर गर्यो, अरु केही दिएको छैन । विद्युत अफिसले छोराको उपाचारको बेलामा काठमाडौंमा मैले खाना– खाजामा गरेको खर्च पनि दिएको छैन, मेरो छोराको उपचार गर्दा त्यसपछि पनि लागेको खर्च डेढ लाख रुपैयाँ अझै तिर्न सकेको छैन ।’ उहाँले थप भन्नुभयो, ‘मसँग त त्यो तिर्ने उपाय पनि छैन, दिनभर कमाएको पैसाले जहान केटाकेटी पाल्नै मुस्किल छ ।’
उहाँको परिवारमा श्रीमती सहित दुई छोरी र दुई छोरा छन् । मिनराजका १६ र १३ वर्षीया दुई छोरी, ११ र ७ वर्षीय दुई छोरा रहेछन्, श्रीमती ३६ र आफू ४७ वर्षको भएको मिनराज बताउनु हुन्छ ।
त्यो बेला(गत बैशाख ५ गते)मा फोहार फ्याँक्ने ठाउँ(डम्पिङ साइड)मा खेल्न जाँदा एउटा खेलौना देखे छ, त्यो टिप्न जाँदा करेन्ट लागे छ उनकी आमा शर्मिला तामाङले बताउनु भयो । उहाँका अनुसार त्यो घट्ना हुनु भन्दा तीन÷चार महिना अघिदेखि विजुलीको त्यो तार त्यसरी लत्रिएको थियो, हामीले यो ठाउँमा यस्तो भएको छ, बनाइदेउ भनेर कति पटक भन्न गयो तर विजुली अफिसको मान्छेले हामीले भनेको सुनेन । शर्मिलाले गुनासो शैलीमा भन्नुभयो, ‘हामी गरिब, दुःखी मान्छेलाई कस्ले टेर्छ र ? बेलैमा त्यो लत्रेको तार बनाएको भए मेरो छोरालाई यस्तो हुने नै थिएन ।’ छोराले अहिले पनि बेलाबेलामा त्यो घाउ दुख्यो भनेर रुन्छ, उपचार गर्न अस्पताल लगौं भने पैसा छैन उहाँले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘घाउँ दुख्यो भनेर हिजोआज त स्कूल जान पनि छाड्यो ।’ बुद्धिबहादुर तामाङ स्थानीय बालमन्दिर आधारभूत विद्यायलको कक्षा– ४ का विद्यार्थी हुन् । ‘हामी बाबुआमा बाचुञ्जेल त हामीले दुःख गरेर पाल्छौं, हामी मरे पछि के खान्छ यसले ?’ शर्मिलाले थप गुनासो र चिन्ता पोख्नु भयो ।
करेन्ट लागेर बुद्धिबहादुरको बाँया हात जरैदेखि काटेको देखिन्छ भने दायाँ खुट्टा पनि पैतालादेखि घुडा माथिसम्मकै भाग जलेको छ, प्लाष्टिक सर्जरी गर्नु पर्ने स्थिति रहेको नेपाल रेडक्रस शाखाका अध्यक्ष दीपक बरालले बताउनु भयो । उहाँका अनुसार यी मान्छेको बोलिदिने कोही नभएर धेरै पीडामा छन् । उहाँले थप भन्नुभयो, ‘हामीले भन्ने यहीको कार्यालयलाई हो ।’ ऊ क्षेत्रीयलाई, केन्द्रलाई देखाएर उम्किन्छ के भन्ने ? भन्दै उहाँले प्रति प्रश्न गर्नु भयो ।
यसबारेमा लमजुङ विद्युत वितरण केन्द्रसँग सम्पर्क गर्दा ‘यो काम क्षेत्रीय र केन्द्रको हो, म त नयाँ हुँ’ सो केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताउनु भयो । उहाँका अनुसार म असोजमा आएको हुँ त्यो घट्नाको म आउनु अघि नै सर्जिमिन भएर गएको छ भन्ने सुनेको हुँ केही होला, म फलोअप गर्छु ।
यसै विषयमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा त्यो परिवारले आजसम्म पनि राहत र क्षतिपूर्ति पाएका रहेनछ र ? मलाई त पाइसक्यो भन्ने लागेको थियो प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनु भयो । उहाँका अनुसार मैले त्यो बेलाकी हाकिम यमकुमारी गुरुङलाई तिमीहरूको लापरवाही देखिन्छ, पीडितले पाउने सुविधामा कञ्जुस्याइँ नगरी सिफरिस गर्नु भनेको थिएँ । उहाँले भन्नुभयो, ‘त्यो बेलाकी प्रमुख गुरुङले गर्छु भन्थिन्, म त पाइसक्यो भनेर ढुक्क भएको ।’ पहुँचवाला व्यक्तिहरू भएको भए पाउथे होला, यिनीहरूलाई टेरे जस्तो देखिदैन, प्रजिअको तर्फबाट फलोअप गर्नु पर्ने देखियो नि ! भन्ने जिज्ञासामा, ‘त्यो फोहोरको कारणले हो, फोहोर नभएको भए त्यो केटा त्यहाँ जादैनथ्यो, नगए पछि करेन्ट लाग्ने चान्स नै हुन्नथ्यो भन्छन् विद्युतका मान्छे’ प्रजिअ वैद्यले भन्नुभयो ।
‘त्यो ठाउँमा घट्नास्थलभन्दा तीन सय मिटर वरको महादेव मन्दिरदेखिनै विद्युतको तार ३– ४ महिना अघिदेखि लत्रिएर बेवारिसे बन्न थालेको र त्यसबारेमा यस्तो भएको छ, बनाईदेउ भनेर जाँदा हामीलाई नटेरेको भन्ने पीडित बालककी आमाको भनाई छ, अनि फोहर भएको ठाउँमा करेन्ट भएको तार महिनौंदेखि वेवारिसे छाड्न पाइने नियम छ र ?’ भन्ने जिज्ञासामा ‘त्यो त विद्युतकै लापरवाही हो, प्रष्टै छ । ऐले विदा भो, कार्यालय खुल्नासाथ म फलोअप गर्छु’ प्रजिअ वैद्यले भन्नु भयो ।
फोटोमा क्रमशः–
१) तामाङको परिवार
२) छोरा बुद्धिबहादुरको हात गुमेको र खुट्टाको चोट
३) तामाङ परिवार बस्ने टहराहरू ।
४) तामाङ परिवारबाट लमजुङ विद्युत केन्द्रमा राहत र क्षतिपूर्ति माग गरेको निवेदन पत्र ।                                    ५)त्यो घट्ना भएको डम्पिङ साइड ।

प्रकाशित मिति २०७९ माघ १, आईतवार २२:०१ गते
हजुरको प्रतिक्रिया