काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले माघ ३ गते पदभार ग्रहण गर्नु भएको हो ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभारपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको उल्लेख गर्नु भयो ।
उहाँले देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उहाँको धारणा छ ।
सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउन ध्यान केन्द्रित गर्ने बताउँदै मन्त्री शर्माले सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुराउदै देशव्यापी बनाउने बताउनु भएको हो । उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरूमा सूचना र प्रविधिलाई सहजतापूर्वक उपलब्ध गराउनुपर्ने उहाँको जोड छ । मन्त्री शर्माले सूचना प्रविधिमार्फत् देशले समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने उल्लेख गर्नु भयो ।
सार्वजनिक संस्थानहरूमा सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दा देखिएको समस्यालाई पनि अव समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’ सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गर्नु भएको हो । उहाँले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी हुनु भएको हो ।
२०४२ सालदेखि राजनीतिक यात्रा सुरु गर्नु भएकी उहाँ विसं २०२६ असोज ९ गते जन्मिनु भएको हो । उहाँ दाङको घोराहीको मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालकी सुपुत्री हुनुहुन्छ ।
विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनु भएकी उहाँ २०७२ साल कार्तिकदेखि २०७३ कार्तिकसम्म सामान्य प्रशासनमन्त्रीको अनुभव हासिल गर्नु भएको छ ।
प्रकाशित मिति २०७९ माघ ३, मंगलवार १८:२८ गते