न सत्ता न प्रतिपक्ष भएपछि कांग्रेसको ध्यान भ्रातृ संस्थातर्फ

न सत्ता न प्रतिपक्ष भएपछि कांग्रेसको ध्यान भ्रातृ संस्थातर्फ

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ९ गते सोमबार ०१:४३

भनिरहन पर्दैन नेपाली कांग्रेसका भ्रातृ संस्था धेरै वर्षदेखि ‘अशक्त’ अर्थात ‘कोमा’मा छन् भन्दा अतिशयोक्ति हुँदैन । तीनै तहको निर्वाचनमा तल्लो तहसम्म भातृ संगठनको नेतृत्व बिहीन हुँदा उनीहरूको भूमिका प्रभावकारी हुन सकेन । त्यतिमात्र हैन नेतृत्वको अवसर नपाउँदा धेरैले पार्टीबाट पलायन, पार्टी परिवर्तन मात्र होइन, राजनीतिबाट विद्यार्थी, महिला तथा तरुण नेताहरू समेत पलायन हुन गए । त्यसको असर कांग्रेसको निर्वाचन नतिजामा प्रत्यक्ष देखियो ।

नेविसंघको समिति बन्दै, अन्य भ्रातृ संस्था पनि यसै महिनाभित्र

काठमाडौं– नेपालमा प्रजातन्त्रको पुनःस्थापना पछि सबैभन्दा धेरै सत्तामा बसेर शक्तिको परिचालन गरेको नेपाली काँग्रेस यतिबेला भने संसदको सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा स्थापित भएर पनि न सत्ता पक्ष न त प्रतिपक्षको भूमिका रहन बाध्य भएको छ । त्यो अरुका कारणले नभई आफ्नै कारणले गाउँ घरको ‘मंगले’को उखान जस्तो स्थितिबाट गुज्रिरहेको छ ।
नेपालमा धेरै शक्ति राष्ट्रले खेलेका छन् भन्ने बुझेर पनि बुझ पचाउँदै गठबन्धन व्यवस्थापन गर्न नसक्दा केन्द्रदेखि प्रदेशसम्म नेपाली कांग्रेस खुम्चिन बाध्य भएको मध्याह्नको घाम जस्तै छर्लङ्ग छ । यस प्रकार सबैतिरबाट फुर्सदिलो भए पछि झण्डै डेढ दुई दशकसम्म अधिवेशन नगरिएका भातृ संगठनप्रति सो दलको ध्यान जान थालेको छ ।
गठबन्धन गरेर पनि ठूलो दल भएको दम्भका कारणले प्रधानमन्त्री, राष्ट्रपति, सभामुखसहितका पद आफैले लिने दिवा स्वप्न देख्दै आत्मरतिमा रमाउँदा उसले राजकीय पददेखि जनतासँग जोडिएर काम गर्न संघ र प्रदेशका सबै जिम्मेवारीको अवसरबाट हात धुनुपरेको हो ।
कांग्रेसका कतिपय भ्रातृ संस्थाहरू स्थापना कालदेखि नै अधिवेशनको पर्खाइमा छन् । कांग्रेसले कति भ्रातृ संस्थाको म्याद पटक–पटक थप्दै ती संस्थाहरूको अधिवेशन हुन नदिएको वर्षौं भइसक्यो । पार्टीका सभापतिले गोजीको मान्छे टिपेर थपक्क अध्यक्ष बनाउने र अरुलाई अवसरबाट वञ्चित गर्ने काम गरिरहेका इतरपक्षका नेताहरूको दाबी छ । अधिवेशन मिति तोकेर नेपाल दलित संघको अधिवेशन पटकपटक सार्दै अनिश्चित पारिएको छ । यस्तो प्रवृत्ती गिरिजाप्रसाद कोइरालाकै पालादेखि हुँदै आएको हो । सुशीलको नेतृत्वकालमा देउवा पक्षले यो विषय निकै उचालेको थियो । तर आफ्नै पहिलो कार्यकालमा देउवाले भातृ संगठनको अधिवेशन गर्नमा भने रुचि देखाउनु भएन ।
पार्टीको मंसिरमा सम्पन्न महाधिवेशनबाट पाँच भ्रातृ संस्था प्रमुख केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै प्रमुखहरूलाई देखाएर भ्रातृ संस्था जीवित बनाउन खोजिएको छनक दिइएको थियो । तिनमा नेविसंघ, तरुण दल, मुस्लिम, महिला र दलित संघ प्रमुख थिए ।
भनिरहन पर्दैन नेपाली कांग्रेसका भ्रातृ संस्था धेरै वर्षदेखि ‘अशक्त’ अर्थात ‘कोमा’मा छन् भन्दा अतिशयोक्ति हुँदैन । तीनै तहको निर्वाचनमा तल्लो तहसम्म भातृ संगठनको नेतृत्व बिहीन हुँदा उनीहरूको भूमिका प्रभावकारी हुन सकेन । त्यतिमात्र हैन नेतृत्वको अवसर नपाउँदा धेरैले पार्टीबाट पलायन, पार्टी परिवर्तन मात्र होइन, राजनीतिबाट विद्यार्थी, महिला तथा तरुण नेताहरू समेत पलायन हुन गए । त्यसको असर कांग्रेसको निर्वाचन नतिजामा प्रत्यक्ष देखियो ।
कांग्रेसले नेविसंघको समिति ल्याउने अन्तिम तयारी गरिरहेको बुझिएको छ । स्वतन्त्र विद्यार्थी युनियन चुनावलाई प्राथामिकता राखेर समिति ल्याउने कांग्रेसको तयारी गरेको हो । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले यही महिनाभित्र पाँच भ्रातृ संस्थाले पूर्णता पाउने दावी गर्नु भएको छ । उहाँका अनुसार कति र कस्तो प्रकृतिको समिति ल्याउने भन्ने निचोड हुन बाँकी छ ।
अब नेवि संघमा ३२ कटेका नेताहरू र तरुण दल तथा अन्य भ्रातृ संस्थामा पनि आकांक्षी जति व्यवस्थापन गर्न सके धेरैको राजनीतिक भविष्य सुनिश्चित हुने बुझाइ सभापति र केही नेताबाहेक सबैको रहेको पाइन्छ ।
नेविसंघको विधान अनुसार ३२ वर्षमुनिका आउँछ कि सबै उमेर समूहका भन्ने समेत टुंगो लाग्न बाँकी छ । काँग्रेसकै नेताहरू बीचमा पदाधिकारीसहितको समिति ल्याउनुपर्ने र ‘प्लेन’ समिति ल्याउने भन्नेमा सहमति जुट्न सकेको छैन ।
तर पनि कांग्रेसले बढीमा तीन दिनभित्र नेवि संघलाई पूर्णता दिने तयारी गरेको पदाधिकारी तहको दाबी छ ।
सभापति देउवाको सोच प्लेन समिति बनाउने पर्ने रहेको छ । तर दुई महामन्त्री पदाधिकारीसहितको समिति ल्याउनुपर्ने अडानमा देखिनु हुन्छ ।
गएको साल ११ चैतमा नेविसंघ र तरुण दलको अध्यक्ष ल्याइयो । नेविसंघको बागडोर दुजाङ शेर्पा र तरुण दलको सत्ता विद्वान गुरुङलाई दिइयो । तीन तहको निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्ने शर्तमा उनीहरूलाई शक्ति हस्तानान्तरण त गरियो, तर समितिले पूर्णता नपाउँदा कामको सिन्को भाँच्न सकेका छैनन् । त्यसपछि नेपाल महिला संघ, आदिवासी जनजाती संघ, नेपाल किसान संघको अध्यक्षमा पनि पत्र काट्ने कार्य भयो । अर्थात, भ्रातृ संस्था अध्यक्ष तोकियो । उनीहरूलाई पनि अधिवेशनको म्यान्डेट दिइएको छ ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनअघि समितिले पूर्णता पाएको भए उत्साह र एकताको साथ निर्वाचनमा भ्रातृ संस्था होमिन सक्थ्यो । समितिलाई पूर्णता दिन नसक्दा पार्टीले आफ्नो सम्पत्तिको कार्यान्वयनमा चुक्यो काँग्रेस । त्यसबाट केही सफलता नै हात लगाउन कांग्रेस सफल भएन ।
यतिबेला भने कार्यकर्ताहरू भूमिकाहीन भएर निर्वाचन परिचालनको काममा खटिन नसक्दा निर्वाचन नतिजामा त्यसको असर परेको बुझाइ पार्टीभित्र पनि छ ।
दबाबमा शेखर समूह :
काँग्रेसको केन्द्रीय नेतृत्वले भ्रातृ संस्थालाई पूर्णता दिने पार्टीले तयारी गरिरहँदा पार्टीभित्र शेखर समूहलाई ४० प्रतिशत भागबण्डा माग्नुपर्ने दबाब बढेको छ । सो समूहले सम्मानजनक भाग खोज्न टिमका नेता शेखर कोइरालालाई दबाब दिइरहेको बुझिएको छ ।
शेखर समूहका अधिकांश नेताहरूले व्यक्तिलाई प्राथामिकताभन्दा पनि प्याकेजमै ४० प्रतिशत लिनुपर्नेमा जोड दिएका छन् । त्यसो भए सबै भ्रातृ संस्थामा मातहतका नेता कार्यकर्तालाई अटाउन सक्ने उनीहरूको सोच छ ।
संस्थापन र इतर समूहमा साझा बुझाइ भने जम्बो कमिटी ल्याउनु पर्नेमा रहेको छ ।

प्रकाशित मिति २०७९ माघ ९, सोमबार १३:४३ गते
हजुरको प्रतिक्रिया