काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा माघ ११ गते निधन भएको छ । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा हिजो लगिएको थियो ।
उपचारका क्रममा आज बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आइसियुमा राखेर उनको उपचार गरिएका उनको ‘उपचारका क्रममा आज बिहान ६ बजे उहाँको मृत्यु भएको हो,’ प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की उनको स्वास्थ्य अवस्था बुझ्न हिजो साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा पुग्नु भएको थियो । उहाँले आचार्यलाई नै भेटेर स्वास्थ्य अवस्था बुझ्नु भएको थियो ।
तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला : उपप्रधान तथा गृहमन्त्री
उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताउनु भएको छ । गृहमन्त्री रबिले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आचार्यको आत्माको चीर शान्तिको कामना गर्नु भएको हो ।
गृहमन्त्री लेख्नु हुन्छ, ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ! यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला । तपाईंको आत्माले चीर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’
आचार्यको निर्णय राज्यको असफलताका कारण : मेयर बालेन
काठमडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘…एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन् । … ’
यसैबीच, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आचार्यको आत्मदाहलाई गम्भीर रूपमा लिनुपर्ने बताउनु भएको छ ।
राज्य लज्जित भएको बताउनु भएको छ : कांग्रेस नेता शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसद् भवन अगाडि प्रेम आचार्यले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरूले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भन्दै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले अब ती युवाले आत्मदाह गर्नुको कारण खोजी गर्नुको पछाडि फेरि त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरण बनाउनुपर्ने उल्लेख गर्नु भएको छ ।
आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको छ : विश्वप्रकाश शर्मा
उता, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताउनु भएको छ । आचार्यको मृत्युपछि महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् यस्तो उल्लेख गर्नु भएको हो । शर्माले दुखी बनेर, श्रद्धाञ्जली दिएर मात्र उन्मुक्ति नमिल्ने समेत उल्लेख गर्नु भएको छ ।
शर्माले लेख्नु भएको छ, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुःखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन! नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ । उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ।’
आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटसमा ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख छ ।
प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
आत्मदाह गर्ने आचार्यलाई न्याय माग गर्दै राजधानीको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए । उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिए । प्रदर्शनमा पुगेकाहरूले आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको बताएका छन् ।
देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको हो । उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।
सरकारद्वारा आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने निर्णय
यसैबीच, सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका बिषयको छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मा दिएको हो । उनको आत्मदाह र उनले उठाएको विषयमा छलफल गर्दै त्यसको अध्ययन गरी छानविनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्रीले जानकारी दिनु भएको छ । उहाँले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उहाँले छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारवाही सुरु गरिने समेत बताउनु भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रबिको प्रतिवद्धता अनुसार मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयबारे छानबिन गर्ने निर्णय गरेको हो ।
आचार्यका पक्षमा प्रदर्शन र अनसन
उता, झापाबाट प्राप्त समाचार अनुसार आचार्यका पक्षमा झापामा समेत प्रदर्शन भएको छ । विर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरूले शान्तिपूर्ण दबाब ¥याली गरेका हुन् । युवाहरूले विर्तामोडको मुक्ति चोकमा अनसनसहितको शान्तिपूर्ण ¥याली गरेका छन् । ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लाकार्डसहित उनीहरूले मुक्ति चोकमा ¥याली निकालेका हुन् ।
आचार्यको पीडा धेरै नेपालीसँग भएको र यस्तो नदोहोरिन सरकारले कदम चाल्नुपर्ने माग गर्दै विर्तामोड नगरपालिका– ४ का माधवकुमार झा मुक्ति चोकमा अनसन बस्नु भएको छ । झाले बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखाने गरी अनिश्चितकालीन अनसन थालेको बताउनु भएको छ । उहाँले बैंक तथा वित्तीय संस्थाको दबाबको कारण आचार्यले ज्यान आहुती दिएको भन्दै त्यस्ता कर्मचारीहरूको छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग लगाउनुपर्ने माग गर्नु भएको छ ।
परिवारजन तथा आफन्तले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल गर्दा कुनै जवाफ नआएको गुनासो गरेका थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यको परिवारलाई भेटेर सहानुभूति व्यक्त गर्नु भएको छ ।
मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् । नानुकाले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको उल्लेख गर्नु भएको छ । उहाँले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताउनु भयो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेर सान्त्वना सहितको आश्वासन दिनु भएपछि बल्ल परिवारजन तथा आफन्तले शव जिम्मा लिएका हुन् ।
प्रकाशित मिति २०७९ माघ ११, बुधबार २०:४० गते