कुडुले(लमजुङ)– राइनास नगरपालिकाले कोदोबाट बन्ने रक्सीको ब्राण्डिङ गर्ने तयारी गरेको छ । नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले सोही नगरपालिका– ९ को यहाँ आयोजना गरिएको एक सार्वजनिक कार्यक्रममा त्यस्तो जानकारी माघ ११ गते दिनु भएको हो ।
नगरपालिकाले चालु आवदेखि थालनी गरेको ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम अन्तरगत कोदोमा दिने अनुदानका बारेमा अघिल्लो दिनसम्म भएको प्रगतिको जानकारी दिन आयोजना गरिएको सार्वजनिक सुनुवाई सहितको कार्यक्रममा मेयर गुरुङले गाउँलेको जीवनस्तर उकास्न, बाँझो बन्दै गएको पाखो बारीलाई हराभरा बनाउन, रैथाने बालीको संरक्षण गर्न त्यस्तो कार्यक्रम गरिन लागेको बताउनु भयो । उहाँले त्यसको गुणस्तर लगायतका सबै विषयलाई व्यवस्थित गर्ने कार्य विधि बनाएर सरकारका माथिल्लो निकायसँग अनुमति लिनु पर्ने भए त्यो समेत गरेर हामी ‘कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने’ योजनामा छौं ।
उक्त कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका मेयर गुरुङले धन्यवाद मन्तव्य सहित आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नगरपालिकाले उक्त वडा (९ नंबर)लाई किविफल, मौरी, बाख्रा आदिको पकेट क्षेत्रको रुपमा विकसित गर्न लागेको बताउनु भयो । उहाँले उत्पादनमा आधारित अनुदानको कार्यक्रम गाउँलेको जीवनस्तर उठाउन र यसअघिका अनुदान कार्यक्रम खास किसानकोमा नपुगी कागजमा मात्र दिने गरिएको जस्तो भई उपलब्धी नदेखिएका कारणले हामीले उपलब्धी देखाउनका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारसँग अनुमति लिएर नै कोदोबाट बन्ने रक्सीको ब्राण्डीङ गर्दैछौं, त्यसको व्यवस्थापन छिटै हुन्छ ।’ यो अनुदान कार्यक्रमले किसानमा उत्साह जागृत भएको पाएका छौं, हामी यसरी नै किसानका अन्य समस्यालाई पनि सम्बोधन गर्दै जाने लक्ष्यका साथ अघि बढेका छौं भन्नुभयो ।
मेयर गुरुङले हामी यथार्थमा आधारित विकास चाहन्छौं, तपाईहरूले उत्पादन गरेका कुनै पनि वस्तुको बजार अभाव हुन दिने छैनौं भन्दै थप प्रतिवद्धता व्यक्त गर्नु भयो । पत्रकारहरूले पनि सत्यतथ्य बुझेर नगरपालिकाले गरेका कार्यक्रमको मर्म अनुसार लेखी दिनका लागि उहाँको अनुरोध थियो । उहाँले भन्नुभयो, ‘हामी कृषीजन्य उपज जस्तै शिक्षा, स्वास्थ्यका कार्यक्रमलाई पनि यसरी नै व्यवस्थित गरी अघि बढाउने तयारीमा छौं ।’
सो नगरपालिकाका उपमेयर पुष्पराज खनालले अफिस– अफिस धाएर कागजमा लिने दिने अनुदानले वास्तविक किसानलाई सम्बोधन गर्न सकेको विगतमा पाइएन । त्यसैले आफूहरूले उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यविधि नै बनाएर किसानको घरघरमा गएर, कर्मचारी पठाएर, हामी जनप्रतिनिधिहरू समेत उपस्थित भएर अनुदानका कार्यक्रम सञ्चालन गरिआएका छौं यसबाट पनि राइनास नगरपालिका लमजुङमा मात्र हैन गण्डकी प्रदेशकै गर्व गर्न लायकको पालिका बनाउने योजनामा हामी लागेका छौं भन्नुभयो । उहाँले किसानका उत्पादनले बजार नपाउने भन्ने हुँदैन भन्ने प्रतिवद्धता व्यक्त गर्दै उत्पादनमा जुट्न आग्रह गर्नु भयो । उहाँले यो कार्यक्रम बाँझा बन्दै गएका खेत पाखाका गह्रालाई फेरि हराभरा बनाउनु, विदेश पलायन भएका दाजुभाइलाई फर्काएर गाउँमै रमाउने वातावरण सिर्जना गर्दै किसानलाई आत्म निर्भर बनाउने अभियान हो भन्नुभयो ।
उक्त कार्यक्रममा सहभागी हुन आउनु भएका वतावरण तथा वन मन्त्रालयका उपसचिव यमनाथ पोखरेलले यो नगरपालिकाले राम्रो कार्यको थालनी गरेको आफूले पाएको बताउनु भयो । जनप्रतिनिधिहरूमा इच्छा शक्ति भयो भने उपलब्धीपूर्ण काम गर्न सकिन्छ भन्ने कोदोमा यहाँहरूले वितरण गर्दै गर्नु भएको यो कार्यक्रम एक उदाहरण हो उहाँले भन्नुभयो । यहाँका किसानहरूको उत्साह र जाँगरले पनि आफू उत्साहित भएको उल्लेख गर्दै उहाँले वन मन्त्रालयले मुलुकका ८ जिल्लाका एक एक वडा छनौट गरी नमूनायुक्त कार्य गरेर देखाउने त्योबाट अन्य वडा, पालिका तथा छिमेकी जिल्लाले सिकुन् भन्ने चाहन्छ र सोही अवसधारणा अनुसार योजना बनाइएको छ पोखरेलले बताउनु भयो । जलवायु अनुकुलन कार्यक्रमका लागि नगरपालिकाले छनौट गरेको यो वडा उचित भएको पाएको बताउँदै उहाँले हामी यहाँहरूको कदममा साथ सहयोग दिन तयार छौं भन्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी गोकर्णराज सुयलले यो वडालाई विशेष कार्यक्रम फोकस गरेर किविफलदेखि मौरी, बाख्रा लगायतको समेत पकेट क्षेत्रको रुपमा विकास गर्न र जलवायु अनुकुलन कार्यक्रम सञ्चालन गर्न डिपिआर समेत तयार गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कार्यक्रमका लागि पाँच करोडको डिपिआर तयार भएको छ । यो क्रमशः पुरा गर्दै जाने नगरपालिकाले नीति नै तय गरेका छौं ।’
सुयलले थप भन्नुभयो, ‘किवि उत्पादनका लागि तीन वर्ष लाग्ने भएको हुँदा त्यो बीचमा किसानको राहतका लागि के गर्न सकिन्छ ? भनेर नगरपालिकाको ध्यानाकर्षण भएको छ, हामी किसानमा देखिएको उत्साह, जाँगरलाई मर्न दिने छैनौं थप प्रोत्साहन गर्न चाहन्छौं ।’ त्यसै कारणले हामी कर्मचारीहरू र जनप्रतिनिधिहरूको संयुक्त टोली तपाईको उत्साहमा थप उर्जा भर्न यो गाउँमा आएका हौं उहाँले भन्नुभयो । उहाँले कोदोमा अनुदान कार्यक्रम अन्तरगत नगरपालिकाले प्रति किलो ११ रुपैयाँ नगद र बोरा लगायतका अन्य सामग्री समेत उपलब्ध गराएको जानकारी दिनु भयो ।
किविफलका प्राविधिक विज्ञ चन्द्रमान श्रेष्ठले योसँगै एभोकाडो र मसलाजन्य बालीको खेती एकै पटक गर्न सकिने हुँदा किसानको जीवनस्तर उठाउनका लागि यो कार्य कोशेढुंगा हुने उल्लेख गर्नु भयो । किविफलको बजारको अभाव हुने छैन भन्दै हाम्रो गाउँमा बनिरहेका ग्रामीण पर्यटकीय क्षेत्रमा आउने पाहुनाहरू नै यी उत्पादका लागि राम्रो बजारको स्रोत हुन सक्नेसमेत बताउनु भयो । त्यस बाहेकको बजारको आवश्यक परेमा पनि त्यसको प्रवन्ध गर्ने स्रोत आफूसँग भएको हुँदा उत्साहका साथ उत्पादनमा लागि सहभागी किसानहरूलाई अनुरोध गर्नु भयो । उहाँले रोपिएका विरुवाको संरक्षण, समयमा गोडमेल मल आदिको प्रवन्ध गर्न समेत ध्यान दिनु पर्ने बताउनु भयो ।
राइनास नगरपालिकाका कृषि शाखाका प्रमुख पवन ढकालले कार्यक्रम सञ्चालन गर्दै कोदो अनुदानका लागि अघिल्लो दिनसम्म गरिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले पालिकाका ९, १०, २, ३ र ४ वडामा सो अनुदानको कार्यक्रम सम्पन्न भएको बताउँदै कुल उत्पादन एक लाख ६४८ केजी भएको त्यसमा अनुदान योग्य कोदो ५७ हजार ९२८ केजी रहेको, त्यसका लागि कुल छ लाख ३७ हजार २०८ रुपैयाँ अनुदान वितरण गरिएको जानकारी दिनुभयो । सो कार्यक्रम अन्तरगत ३५६ घरपरिवार लाभान्तिव भएको उहाँले उल्लेख गर्नु भयो ।
उक्त अवसरमा मेयर गुरुङले कोदो उत्पादन गर्नु हुने किसान द्वय सूर्यमान कामीलाई एक हजार ३२० रुपैयाँ र कुमारी विकलाई ८९० रुपैयाँ अनुदान रकम वितरण गर्नु भएको कृषि प्राविधक गंगा बस्नेत अधिकारीले जानकारी दिनु भयो । सो अवसरमा कुमारीले यसरी सहयोग आउँछ भन्ने थाहै भएन तीन मुरी कोदो पहिल्यै बेची सकेँ भन्दै दुःखेसो यो प्रतिनिधिसँग पोख्नु भएको थियो ।
सो अवसरमा किविफल उत्पादन किसान समूहका अध्यक्ष नन्दबहादुर गुरुङले आफ्नो अनुभव सुनाउँदै स्वागत गर्नु भएको थियो ।
उक्त औपचारिक कार्यक्रम हुनु अघि कार्यस्थलमा पुगेको जनप्रतिनिधि, कर्मचारीहरू तथा पत्रकारको टोलीले गाउँले किसान सहित सो स्थानमा लगाइएको एभोकाडोका विरुवाका साथै किविफलका विरुवा रोपणका लागि तयार गरेका खाडलहरूको निरीक्षण गरिएको नगरपालिकाका अर्का कृषि प्राविधिक सन्तोष जैसीले बताउनु भयो । उहाँका अनुसार सो स्थानमा गत वर्ष एभोकाडोका तीन सय विरुवा रोपिएको थियो ।
सोही स्थानमा यतिबेला किविफलका विरुवा रोपणका लागि ११ सय भन्दा बढी खाडल खनिएको स्थानीयको भनाई छ ।
राइनास नगरपालिकाको कृषि र पशु विकासका क्षेत्रमा धेरै दुःख गरियो तर बल्ल चित्त बुझ्दो काम हुन थालेको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख शिवबाबु देवकोटाले बताउनु भयो ।
प्रकाशित मिति २०७९ माघ १२, बिहीबार ०९:०० गते