भोर्लेटार(लमजुङ)– झट्ट सुन्दा नपत्याउने खालको एक काम लमजुङमा एक स्कूले विद्यार्थीले गरेका छन् ।
उनले हरेक वर्ष एक एक वटा नयाँ नयाँ उपकरण उत्पादन गर्ने गरिआएका छन् । उनको त्यो बानी कक्षा– ४ पढ्दा देखिनै शुरु भएको हो । यो वर्ष भने उनले ‘विद्युतीय स्कुटर’ बनाए, त्यसैबाट स्कूल आउने जाने गरेका उनले त्यसको प्रदर्शन विद्यालयको वार्षिकोत्सवमा गरेका थिए ।
उनी हुन्– लमजुङको पश्चिमी क्षेत्रमा रहेको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित ईशानेश्वर माविका बहु प्रतीभाशाली छात्र अविनाश गुरुङ । गत वर्षको विद्यालय वार्षिकोत्सवमा उनले आफूले निर्माण गरेको रकेट उडाएर दर्शकहरूलाई चकित बनाएका थिए । त्यो रकेट करिब ८० मिटर माथि आकाशमा पुगेको अनुमान गरिएको शिक्षक रमेशचन्द्र घिमिरेले जानकारी दिए । उनले यो वर्ष ‘विद्युतीय स्कुटर’ निर्माण गरेर त्यसैबाट स्कूल आउने जाने गरिआएका छन् ।
लमजुङकै मध्यनेपाल नगरपालिका– ८ को डढुवा दुर्छा गाउँको किसान परिवारमा जन्मे हुर्केका हुन् अविनाश । उनको गाउँमा पक्की सकडको समेत सुविधा छैन, बल्लतल्ल पुगेको विजुली आधा सञ्चो आधा विसञ्चो गरी बल्ने र निभ्ने गर्दछ । उनले गाउँको विद्यालय डढुवा दुर्छा माविमा कक्षा– ७ सम्म पढे त्यसपछि कक्षा– ८ देखि सोही नगरपालिका– ६ को भोर्लेटार स्थित ईशानेश्वर माविमा अध्ययन गरिरहेका छन् । यतिबेला उनी सो माविको कृषि विज्ञान संकायको कक्षा– १२ का छात्र हुन् ।
उनको कक्षा– ४ मा पढ्दादेखि नै यस्तो सीपतर्फ रुचि जागृत भएको उनले बताए । त्यो प्रेरणाको स्रोत भने अन्य कोही नभएर सोही गाउँकै उनका आफ्नै मामा अर्जुन गुरुङ भएको उनले जानकारी दिए । उनी मामा घरमा गएको बेलामा मामा अर्जुन गुरुङले रिमोटबाट चल्ने मोटर बनाएका रहेछन्, त्यो बेलामा उनी कक्षा– ४ मा पढ्थे । उनले भने, ‘त्योसँगै सिलिङ पंखा बनाएर चलाएको देखेँ ।’ उनका अनुसार त्यो बेलासम्म गाउँमा विजुली गएको थिएन । मामाको त्यो काम देखेर उनले पंखा कसरी चल्छ होला ? म त्यस्तो काम गर्न सक्छु होला कि सक्दिन होला ? भन्ने जिज्ञासा उत्पन्न भयो र प्रयास गर्न थालेको उनले सुनाए । उनी भन्छन्, ‘इच्छा र प्रयास गर्यो भने हुने रहेछ ।’ उनले कक्षा– ४ मा पढ्दा यौटा सानो डोजर बनाएर साथीहरूलाई देखाएको जानकारी दिए । उनका मामा अर्जुनले सोही ईशानेश्वर माविबाट कक्षा– १२ उतीर्ण गरेर गाउँमा फर्के, जागिर नपाए पछि भने उनले हिजोआज त्यस्तो काम गर्नु छाड्नु भयो । ‘मामा हिजोआज खेतीपाती गरेर बस्नु भएको छ’ अविनाशले सुनाए । यस प्रकार अवसर नपाउदा प्रतीभा कसरी पलायन हुन्छ भन्ने अर्जुन गुरुङ दरिलो उदाहरण बन्नु भएको छ ।
कक्षा– ७ मा पढ्दा उनले रिमोटबाट चल्ने कार बनाएको उनले सम्झे । उनी भन्छन् ‘त्यसपछि हरेक वर्ष केही न केही बनाउँदै आएको छु ।’ कक्षा– ८ मा ईशानेश्वर माविमा पढ्न गएको पहिलो वर्ष साथीहरू, त्यो ठाउँ परिवेश, शिक्षकहरू चिन्नमै समय लागेको हुँदा यस्तो सिर्जनामा ध्यान दिन पाइन । कक्षा– ९ मा केवलकार बनाएको थिएँ यो प्रतिनिधिसँगको भेटमा उनले भने ।

कक्षा– १० मा पढ्दा हेलिकप्टर बनाएर देखाएका थियो । यस्तो प्रतीभाका धनी उनले कक्षा– ११ मा अध्ययन गर्दा रकेट निर्माण गरेर उडाए, हामी सबै चकित परियो, सोही माविका शिक्षक समेत रहनु भएका साहित्यकार रमेशचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार त्यो बाबु नपत्याउँदो छ, विद्युतीय सामग्री मात्र बनाउने हो र ? अविनाशको प्रतीभाको वखान गर्दै घिमिरेले भन्नुभयो, ‘उनी कलाकारिता(चित्र लेखन), नृत्य, संगीत लगायतका सीपमा पनि उत्तिकै पोख्त छन् ।’
आफूले बनाएको ‘विद्युतीय स्कुटर’को दुवै पांग्रामा ब्रेक जडान गरेका उनले अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको राखेको जानकारी दिए । उनी भन्छन् ‘अँध्यारोमा गुडाउन सकियोस् भनेर लाइट समेत जडान गरेको छु ।’ ‘इलेक्ट्रिक स्कुटर’ बनाउन करिब एक महिना लागेको बताउने उनले टिन त्यसको अन्य सामग्री भने ग्रिल उद्योगमा पाइने फलामका सामग्रीबाट प्रयोग गरेको जानकारी दिए । उनले भने, ‘स्कुटरमा उनले २४ भोल्ट २ सय ५० वाटको मोटर प्रयोग गरेको छु ।’
स्कुटर एक पटक चार्ज गरेपछि ३ देखि ४ किलोमिटरसम्म गुड्ने उनको भनाई छ । ‘स्कुल जान–आउन हिँडेर १५ मिनेट लाग्ने गरेको थियो अहिले यही स्कुटर प्रयोग गर्छु, स्कुटीमा ५÷६ मिनेटमा लाग्छ,’ उनले उल्लेख गरे । उनका अनुसार स्कूल र घरको दुरी करिब डेढ किलोमिटर रहेको छ ।
उनी सो माविको बालीविज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत हुन् । उनले आफ्नो ज्ञान, सीप र आफ्नै खर्चमा निर्माण सामग्री सङ्कलन गरी बनाएको विद्युतीय स्कुटर करिब ५५ हजारको लागतमा तयार भएको अविनाश गुरुङले बताएका छन् । त्यो उनी आफैले निर्माण गरेको स्कुटीमा आउन जान थालेको वडादशैं अघिदेखिनै हो सो माविका प्रधानाध्यापक रामकृष्ण घिमिरेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो ‘ससाना ५– ६ हजारका वस्तु(सामग्री) चाहियो भने हामीले विज्ञान प्रयोगशाला मार्फत उपलब्ध गराइदिने गरेका छौं ।’ धेरै जसो त उसले घरमै बाबुआमासँग पैसा मागेर ल्याउने गरेको छ पहाडको विद्यालय त्यस्तो मनग्य खर्च गर्ने सामर्थ पनि विद्यालयको छैन प्रअ घिमिरेले बताउनु भयो ।
उनी तिनै प्रतीभाशाली विद्यार्थी हुन्– जसले गत वर्ष विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा रकेट उडाएका थिए । कक्षा– ९ मा अध्ययनरत रहँदा उनले ड्रोजर बनाएर विद्यालयको वार्षिकोत्सवमा देखाएको सो माविका शिक्षक रमेशचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार उनीसँग कोरियोग्राफीको पनि राम्रो अनुभव छ । शिक्षक घिमिरेले भन्नुहुन्छ, ‘ती विद्यार्थीले परार साल कक्षा– १० मा पढ्दा उनले विद्युतीय रोबोट समेत तयार पारेर देखाएका थिए ।
’
अविनाश गुरुङसँग राम्रो चित्र कोर्न सक्ने क्षमता पनि छ जसमा उनले कलात्मक पेन्टिङ समेत गर्छन् । उनको नाटक कलामा पनि राम्रो अभिनय गर्ने क्षमता रहेको छ । उनले संगीत समेत सिकेका रहेछन् ।
उनका बाबु आशबहादुर गुरुङ पछिल्ला १० वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । यतिबेला उहाँ छुट्टीमा घरमा आउनु भएको रहेछ । छोराले त्यस्तो कुनै चाहना गरेर भन्यो भने र उसले, हाम्रो गाउँ ठाउँ जिल्लाको इज्जत बढ्ने काम हुन्छ भने एकलाख रुपैयाँसम्मको खर्च आफूले दिन सक्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘यस्तो काममा सकेसम्म उसलाई पैसा नभएर यो काम गर्न सकिन भन्ने नहोस् भन्ने विचार छ । तर सधैं त म पनि कसरी दिन सकुला र ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो । अविनाशकी आमा उरमाया गुरुङ गृहिणी हुनुहुन्छ, उहाँको लेखपढ पनि खासै छैन । त्यो परिवारमा दुई भाइ छोरा छन् । ती मध्ये अविनाश जेठा हुन् । उनी आमा र भाइका साथमा भोर्लेटारमा डेरामा बस्दै आएका छन् । अविनाशका भाइ अभिषेक ईशानेश्वरमै कक्षा ८ मा पढ्छन् ।
विद्यार्थी मान्छे पढ्नु पर्छ होला यस्तो काम गर्ने समय कति बेला पाउँछौ ? भन्ने यो प्रतिनिधिको जिज्ञासामा उनले भने, ‘साँझ विहानको समय र बिदाको दिनमा यस्तो काम गर्ने गरिआएको छु ।’ धेरै जसो बनाउँदै भत्काउँदै गर्छु उनी भन्छन् । ‘किन नि ?’ भन्ने थप जिज्ञासामा ‘सामग्री धेरै हुँदैन अनि, पहिलो पटक बनाएकोमा चित्त पनि बुझ्दैन र अलिक राम्रो बनाउनका लागि पनि भत्काएर दोस्रो– तेस्रो पटक बनाउँछु । आफ्नो चित्त बुझेपछि बल्ल साथीहरूलाई देखाउछु ।’ उनले भने ।
अबका दिनका योजना के छन् ? भन्ने अर्को जिज्ञासामा ‘हाईड्रो पावरबाट चल्ने इरिगेसन पम्प र प्लास्टिक रिसाइकल गर्ने मेसिन तयार गर्ने रहेको’ अविनाशले जानकारी दिए ।

उनी भन्छन्, ‘छ न त अरु पनि योजना छ तर पहिले यी सामग्री बनाउँ त्यसपछि अरु क्रमशः बनाउछु, खर्च र समयले पनि भ्याउनु पर्यो ।’
बाली विज्ञानका विद्यार्थी उनी भोलिका दिनमा भने के गर्ने वा बन्ने भन्ने निश्चित गर्र्न सकेका छैनन् । आर्थिक कमजोर अवस्थाको कारणले गर्दा ‘यही गर्छु’ भन्ने निर्णय गर्न नसकेको उनी बताउँछन् ।
प्रकाशित मिति २०७९ माघ १४, शनिबार १८:१० गते