
धुसेनी(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उदघाटन गर्न पुग्नु भएका सोही नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालालाई खाली भुइँमा सलामी ग्रहण गर्न माघ १६ गते लगाइएको थियो ।
प्रतियोगिताको सोही नगरपालिका– १० को यहाँ स्थित सौभाग्य सदन माविको खेलमैदामा उदघाटन गरिएको हो । उक्त प्रतियोगिताको उदघाटन गर्नु अघि खाली भूइँमा सलामी ग्रूहण गर्नु भएका मेयर कोइरालाले खेलाडीहरूलाई शपथ समेत खुवाउनु भएको थियो । उदघाटन मन्तव्यका क्रममा उहाँले खेल आफैमा अनुशासित विधा समेत भएको हुँदा खेलाडीलाई अनुशासित भएर आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गर्नु भएको थियो । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनौट समिति तथा निर्देशन समितिका संयोजक समेत रहनु भएका मेयर कोइरालाले यो खेलमा आफ्नो विद्यालय र गाउँको इज्जत बढाउन र भोलिका दिनमा जिल्ला तथा प्रदेशमा हुने प्रतियोगितामा नगरपालिकाको इज्जत बढाउने काम खेलाडीले गर्ने छन् भन्नेमा आफू विश्वस्थ भएको भन्दै खेलाडीलाई उत्प्रेरित गर्नु भएको थियो ।
मेयर कोइरालाले खेलले विद्यार्थीलाई मानसिक र शारीरिक रुपमा तन्दुस्त राख्न सहयोग गर्छ । उहाँले खेलले विद्यार्थीको जागरण रुपको विकास गरी थप सक्षम बनाउन मद्दत गर्ने बताउँदै खेलाडीले पालिका जिल्ला प्रदेश हुदै केन्द्रसम्म पुगेर विद्यालयको नाम चम्काउने काम गर्न शुभकामना दिनुभएको थियो ।
सो अवसरमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, नगरपालिकाको शिक्षा शाखाका प्रमुख ठाकुरजी तिवारीको विशेष आतिथ्यता रहेको थियो । नगरपालिकाको शिक्षा शाखाको आयोजना तथा स्थानीय सौभाग्य सदन माविको ंसयोजनमा सञ्चालन भएको सो प्रतियोगिता उक्त माविको खेल मैदानमा उदघाटन गरिएको हो । प्रतियोगिताका केही इभेन्ट भने कोइराला फाँट खेल मैदान तथा सोही स्थानको सडकमा हुने भएको सो विद्यालयका शिक्षक एवम् उदघाटन सत्रका सञ्चालक नवराज पाण्डेले बताउनु भयो ।
उदघाट कार्यक्रमको अध्यक्षता सोही वडाका वडाध्यक्ष एवम् सौभाग्य सदन माविको व्यवस्थापन समितिका अध्यक्ष दीपकराज ढकालले गर्नु भएको थियो । सोही माविका शिक्षक वरुणकान्त अधिकारीले स्वागत गर्नु भएको प्रतियोगितामा कुल ३६ खेल खेलाइने उहाँले जानकारी दिनु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको आज पहिलो दिन ९ खेल सम्पन्न भएको जानकारीमा आएको छ । खेलको समापन कार्यक्रम कोइराला फाँट खेल मैदानमा गरिने भएको छ ।
उक्त प्रतियोगितमा जम्मा १९ विद्यालयले भाग लिएका छन् ।
प्रकाशित मिति २०७९ माघ १६, सोमबार २१:३६ गते