
बचत रकम फिर्ता लिन सञ्चालक र व्यवस्थापक कुरीरहेका बचतकर्ताहरु
बुटबल– यहाँको एक सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगरेपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन् । ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेको माघ १६ गते खुलासा भएको हो ।
शिव शिखर सहकारीमा बदाम, चिया र पान बेच्ने साना व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यमस्तरका व्यवसायीले बचत गरेको जानकारीमा आएको छ । सो संस्थाका सञ्चालकहरूले देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेका थिए । उक्त सहकारी संस्था संघ अन्तरगत रहेको बताइन्छ ।
देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको उक्त सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ । सो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र लिएको देखिन्छ ।
बुटवल उपमहानगरपालिकाबाट २०७८ साउनमा व्यवसाय दर्ता प्रमाणपत्र लिएर योगीकुटीमा डिपार्टमेन्टल स्टोर्स चलाएको थियो । सो सहकारीले सञ्चालन गरेको ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’लाई चेक दिएर त्यहाँबाट सामान लैजाने समेत बचतकर्तालाई सुविधा दिएको थियो ।
सहकारी संस्थाहरूको नियमन निकायका रूपमा संघीय सरकारको गरिबी निवारण तथा सहकारी मन्त्रालयको सहकारी विभाग छ । प्रदेशस्तरमा रजिस्ट्रारको कार्यालय र पालिकास्तरमा सहकारी शाखा छन् । नियमनकारी निकाय उदासीन रहेको र नियमित अनुगमन हुन नसक्दा समस्या देखिएको सहकारीका अभियन्ता सन्दीप सापकोटाले बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिव शिखर सहकारीको दर्ता संघमा भएकोले प्रदेशले कुनै कार्बाही गर्न नसक्ने बताउनु हुन्छ । उहाँका अनुसार राष्ट्रियस्तरमा अनुमति लिएका सहकारीलाई प्रदेशबाट केही गर्न सकिएन ।
त्यसैकारणले पनि बचत फिर्ता नपाउँदा उजुरी गर्ने निकाय नभेटेको बचतकर्ताहरूले गुनासो छ । सहकारी ऐनमा बचतकर्ताले जम्मा गरेको रकम उसले चाहेको समयमा झिक्न पाउने प्रावधान छ ।
गत महिना सहकारी कार्यालयमा बचतकर्ताहरूको भिड बढ्दै गएपछि सञ्चालकहरूले माघ ७ गतेभित्र सबै रकम भुक्तानी दिने आश्वासन दिए । तर माघ ७ गतेपछि सञ्चालकहरू र व्यवस्थापक सम्पर्कविहीन रहदै आएका छन् ।
सहकारीमा बचत गरेको रकम जोखिममा रहेको थाहा पाएपछि गएको दसैँदेखि नै बचतकर्ताहरूले सहकारीबाट रकम झिक्न खोजेकाका थिए ।
सहकारीले केही दिन बचत रकमका आधारमा एक दिनमा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म सीमा तोकेर भुक्तानी दिएको थियो ।
हाल ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’को रकम भुक्तानीको सबै सुविधा बन्द छ । सञ्चालक समितिका पदाधिकारी र कार्यालय व्यवस्थापक सम्पर्कविहीन छन् । उनीहरूको मोबाइल फोन बन्द रहदै आएको छ् ।
बुटवलकी कमला जिसीलाई आफ्ना श्रीमानले सहकारीमा बचत खाता खोली दिनु भएको रहेछ तर कमलालाई त्यो थाहा थिएन । केही महिनाअघि कमलाका श्रीमानको मृत्यु भयो । कमला आफैँ पसलमा बस्न थाल्नु भयो । त्यसपछिमात्रै सहकारीमा आफ्नो नामको खाता रहेको र दैनिक बचत गरेको उहाँलाई थाहा भया ।
एक दिन उहाँले सबै रकम निकाल्ने विचारले सहकारी कार्यालयमा जानु भयो । तर कर्मचारीले एक वर्षको लागि खोलिएको खाताबाट चार–पाँच महिनामै पैसा निकाल्दा जरिवाना लाग्ने बताए ।
जरिवान तिर्न भन्दा बचत गर्न उचित नठानेर उहाँले दैनिक बचत गर्न थाल्नु भयो । अहिले खातामा १८ हजार रुपैयाँ छ । सबै रकम निकाल्न चाहनु हुन्छन् तर सञ्चालकहरू बेपत्ता भएका छन् ।
बुटवलको कालिकानगरमा चियाखाजा पसल चलाउने कमला पाण्डेले तीन जना छोराछोरीको नाममा उक्त सहकारीमा तीनवटा खाता खोलेर पैसा जम्मा गर्न थाल्नु भयो । प्रत्येक खातामा १०५ रुपैयाँका दरले दैनिक ३१५ रुपैयाँ बचत गर्नु भयो । हालको बचत ९० हजार रुपैयाँ छ । बचत रकम निकाल्न उहाँ सो सहकारीको कार्यालय धाउन थाल्नु भएको दुई महिनाभन्दा बढी भयो । तर पैसा कहिले मिल्ने हो टुंगो छैन ।
‘खाता खोल्न भन्दै सहकारीका कर्मचारी पसलमै पुगेका थिए । चौध प्रतिशत व्याज दिन्छौँ, धितो बिना पाँच लाख रुपैयाँसम्म ऋण दिन्छौँ भनेर फकाई खाता खोल्न लगाए,’ कमला बताउनु हुन्छ, ‘अहिले पैसा फिर्ता लिने बेला सञ्चालकहरू बेपत्ता भएका छन् ।’
बचत संकलनका लागि दैनिक पसलमा पुग्ने कर्मचारी पनि अहिले आउन छाडेको र सहकारी कार्यालयमा पनि नभेटिएको उहाँको गुनासो छ ।
बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले अटो रिक्सा चलाउने गर्नु हुन्छ । उहाँले उक्त सहकारीमा दैनिक दुई सय रुपैयाँ जम्मा गर्दै आउनु भएको थियो । उहाँको बचत रकम ४२ हजार ४४३ रुपैयाँ पुगेको छ । उहाँले भन्नुभयो, ‘दुई महिना धाएर १५ हजार रुपैयाँ पाएँ, बाँकी पैसा पाउने छाँटकाँट देखिदैन ।’ बुढ्यौलीमा सजिलो होला भनेर बचत गरेको रकम निकाल्न खोज्दा सहकारीका व्यवस्थापक नै गायब भएका छन् । उहाँ बचत रकम झिक्न दैनिकजसो सहकारी संस्थाको कार्यालय पुग्ने गरेको बताउनु हुन्छ ।
उहाँ १६ गते पनि सो सहकारी संस्थाको कार्यालयमा भेटिनु भएको थियो । उहाँले भन्नुभयो, ‘रिक्सा चलाएर कमाएको पैसा बुढेसकालमा काम लाग्ला भनेर सहकारीमा बचत गरेँ। अहिले दिनदिनै धाउँदा पनि पैसा पाएको छैन, व्यवस्थापकले मोबाइल फोन अफ गरेका छन्, कार्यालयमा भेटिँदैनन् ।’
बुटवलका राम जयसवालले गत वर्ष श्रीमती जानकीकुमारी कानुको नाममा खाता खोली दिनु भएको थियो । २०७८ साल पुसमा शेयर बापत १० हजार र मासिक वचतबापत एकै पटक ११ हजार रुपैयाँ बुझाएको उहाँ बताउनु हुन्छ ।
खाता खोलेपछि उहाँले दैनिक कम्तीमा सय रुपैयाँ र कुनै दिन त १० हजार रुपैयाँसम्म जम्मा गर्ने गर्नु भएको थियो । उहाँका अनुसार खातामा शेयर बापत पाँच हजार रुपैयाँ मात्रै देखिएको छ । उहाँले दैनिक बचतको हिसाबमा पनि शंका गर्नु भएको छ । राम जयसवालले भन्नुभयो, ‘हामीले ऋण लगेर नतिरेको भए सहकारीले धितो लिलाम गर्ने थियो । व्यवसायमा ताला लगाइदिने थियो, हाम्रो बचत दिने बेला सहकारी नै गायब भएको छ ।’
तिलोत्तमा नगरपालिकामा कस्मेटिक उद्योग सञ्चालन गर्दै आउनु भएका काशीराम गौतम र उनका साझेदारहरूले पनि शिव शिखर बहुउद्देश्यीय सहकारीमा दैनिक बचत गर्नु भयो । उद्योगका तीन जना साझेदारका तीनवटा र उद्योगको एउटा गरी चारवटा खातामा हाल १६ लाख रुपैयाँ जम्मा भएको काशीराम बताउनु हुन्छ । उहाँका अनुसार केही वर्ष बचत गरेर व्यवसाय विस्तार गर्ने योजना थियो । तर अहिले उनीहरू बचत रकम निकाल्न जादा सहकारीका सञ्चालकहरू भेटिन सकेका छैनन्, उनीहरूको मोवाइल फोनसमेत अफ छ ।
बचतकर्ताहरूको गुनसो बढेपछि प्रतिक्रिया लिन उक्त सहकारीको बुटवल शाखाका व्यवस्थापक प्रदीप श्रेष्ठलाई फोन गर्दा सम्पर्क भएन । उनको मोबाइल फोन बन्द रहेको छ ।
हातमा चेक बोकेर सहकारीको कार्यालय पुग्ने बचतकर्ताहरू निराश भएर फर्किने गरेका छन् ।
प्रकाशित मिति २०७९ माघ १७, मंगलवार ०६:५० गते