सुन्दबजार नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा चुल्ठे मुन्द्रे हावी

सुन्दबजार नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा चुल्ठे मुन्द्रे हावी

विराट न्यौपाने

@antaranganews

२०७९ माघ १८ गते बुधबार १०:५१

उक्त प्रतियोगितामा एउटै पनि पदक नलगाई, बिना पदक रित्तो हात फर्कने विद्यालयहरू छ वटा रहेका छन् । ती हुन्– कान्ती मन्दिर मावि, सरस्वती सदन मावि, भूपू सैनिक आमावि, पाणिनी संस्कृत मावि, लालीगुराँस एकेडेमी र सयपत्री आमावि ।

भक्ति नमूनाद्वारा ह्याट्रिक

धुसेनी(लमजुङ)– सुन्दबजार नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड– २०७९ सम्पन्न भएको छ । सो प्रतियोगितामा सम्बन्धित विद्यालयका विद्यार्थी नै नरहेका चुल्ठे मुन्द्रेहरूले समेत मौका पाएको धेरैले देखेँ, त्यो दृश्य देखेर जिब्रो टोक्ने पनि भेटिए तर यो समाचार तयार गर्दा माघ १८ गते साँझसम्म लिखित एवम् आधिकारीक रुपमा आयोजक समक्ष उजुरी भने कसैले गरेका छैनन् ।
यो वर्षको खेलको विशेषतामा भक्ति नमूना माविले ह्याट्रिक गर्दै रनिङ शिल्ड चलाउन सफल भएको छ । कुल ३६ खेल खेलाइएको प्रतियोगितामा सो विद्यालयले १८ स्वर्ण सहित ३५ पदक जितेर पहिलो हुन सफल भएको हो । त्यस्तै, छ स्वर्ण सहित १९ पदक प्राप्त गरी आदर्शबाल मावि दोस्रो भयो भने चार स्वर्ण सहित जम्मा ८ पदक जित्दै प्रतियोगिताको संयोजन गर्ने सौभाग्य सदन मावि तेस्रो भएको छ ।
सौभाग्य सदन माविका १३ वर्षीय कक्षा– ७ मा अध्ययनरत १ नंबर जर्सीकी छात्रा अनिता भण्डारीले दुई स्वर्ण पदक दिलाएकै कारणले सो मावि तेस्रो हुन सफल भएको जानकारीमा आएको छ । उनले तीन सय मिटर र आठ सय मिटर दौडमा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
त्यस्तै, गत वर्ष प्रदेशस्तरमा र केन्द्रस्तरमा चार सय सिंगल, चार सय बाई चारमा पहिलो र भलिबलमा दोस्रो तथा जिल्लामा प्रथम भएका बिनित भुजेल, आदर्श बाल माविले प्रदर्शन गरेको कला कौशलले यो वर्ष पनि चर्चा पाउन सफल रह्यो । उनले तीन मेडल प्राप्त गरेका छन् ।
प्रतियोगितामा कुल १९ विद्यायलले भाग लिएका थिए । पुरस्कार नपाउनेको शीर्ष स्थानमा विद्याज्योती मावि रह्यो । सो माविले दुई स्वर्ण सहित १८ पदक जितेको छ । त्यस्तै, फ्युचर स्टार आमाविले दुई स्वर्ण सहित नौ पदक, ग्लोवल भिजन आमाविले दुई स्वर्ण सहित छ पदक जितेका छन् । महेन्द्र मन्दिर माविले एक स्वर्ण सहित पाँच पदक तथा सर्वोदय माविले एक स्वर्ण जिते पनि अन्य कुनै पदक पाउने सकेन ।
यसैगरी, शान्ती माविले दुई कास्य सहित पाँच पदक, संस्कृति सदन माविले एक कास्य सहित दुई पदक जितेका छन् । त्यस्तै भविष्य निर्माण माविले एक कास्य सहित दुई पदक जितेको जानकारीमा आएको छ ।
बालज्योती माविले तीन रजत, भारती सदन माविले दुई रजत, इन्साइट भिजन एकेडेमीले एक रजत पदक जित्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा एउटै पनि पदक नलगाई, बिना पदक रित्तो हात फर्कने विद्यालयहरू छ वटा रहेका छन् । ती हुन्– कान्ती मन्दिर मावि, सरस्वती सदन मावि, भूपू सैनिक आमावि, पाणिनी संस्कृत मावि, लालीगुराँस एकेडेमी र सयपत्री आमावि ।
उक्त खेलको समापनका अवसरमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले विजयी छात्रछात्रा तथा विद्यालयलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु हुँदै आफ्नो संक्षिप्त मन्तव्य राख्नु भएको थियो । सो क्रममा उहाँले खेलाडीलाई आफ्नो विद्यालय र पालिकाको गरिमा बढ्ने गरी आउदा दिनमा माथिल्लास्तरका खेलकुदका प्रतियोगितामा भाग लिन र सफलताका लागि शुभकामना व्यक्त गर्नु भयो । उहाँले अनुशासित एवम् सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न गरेकोमा प्रतियोगिताको संयोजन कर्ता सौभाग्यसदन माविलाई धन्यवाद दिनुभएको थियो ।
सो प्रतियोगिता आउँदो वर्ष सर्वोदय मावि दुराडाँडामा हुने भएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ठाकुरजी तिवारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
सौभाग्य सदन माविको व्यवस्थापन समितिका अध्यक्ष एवम् सुन्दरबजार नगरपालिका– १० का वडाध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको थियो । उहाँले समापन मन्तव्यका क्रममा आउँदा वर्षमा जिल्लास्तरका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न त्यसै अनुरुपको भौतिक संरचनाको निर्माण गर्न आवश्यक रहेको र नगरपालिकाका तर्फबाट सो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उक्त प्रतियोगिता सञ्चालक समितिका संयोजक तथा सदस्यहरूलाई प्रशंंसा पत्र समेत वितरण गरिएको सो समापन कार्यक्रममा संयोजनकर्ता माविका प्राधानाध्यापक तीर्थ ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन शिक्षक द्वय रामकृष्ण खनाल र नवराज पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ माघ १८, बुधबार २२:५१ गते
हजुरको प्रतिक्रिया