सिउँडीबार(लमजुङ)– लमजुङमा रहेक वर्ष आयोजना हुने ठाडोभाका प्रतियोगितामा युवा पुस्ताले पहिलो र दोस्रो उपाधि चुम्न सफल भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने ठाडोभाकाको खुल्ला प्रतियोगिताको चौथो शृंखलाको अन्तिम दिन माघ २१ गते युवा पुस्ताले त्यस्तो सफलता हासिल गरेका हुन् ।
प्रतियोगितामा तनहूँ डुम्रेका शंकर परियार र प्रतिष्ठानका कार्यकारी सदस्य राधा भण्डारीको जोडी पहिलो, प्रतिष्ठानकै अर्का कार्यकारी सदस्य सुन्दरबजार नगरपालिका– ८ बलिथुमका २४ वर्षीय नवीन बराल र दूधपोखरी गाउँपालिका– १ स्थायी बसोबास हुनु भएकी प्रतिष्ठानकै कार्यकारी सदस्य देउकुमारी गुरुङको टिमले दोस्रो स्थान हासिल गर्यो । यसैगरी, राजबहादुर दुरा र शिवा दुरा सुन्दरबजार नगरपालिका– ६ को टिम तेस्रो भयो भने सुन्दरबजार नगरपालिका– ४ का शुकदेव अधिकारी (भेडीखर्के साइँला भतिज) र सोही नगरपालिका– १० का राममाया दुराको टिमले सान्त्वना स्थान हासिल गर्यो । विजेताहरू पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमलाई क्रमशः ४०, २५, १५ र १० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कोइराला, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवर, प्रतिष्ठानका सल्लाहकाहरू रमेशचन्द्र अधिकारी र नरेन्द्रराज ढुंगाना लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । वितरण गरिएको पुरस्कार राशिमा नेपाल सरकारको नियम अनुसार २५ प्रतिशत कर कट्टा गरिएको थियो । 
सो अवसरमा दोस्रो स्थान हासिल गर्नु हुने टोली नेता नवीन बराललाई देउबहादुर दुराकी नातिनी गौमाया दुरा गुरुङले एक हजार रुपैयाँ प्रोत्सहन पुरस्कार प्रदान गर्नु भएको थियो ।
सो प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । यस्तो प्रतियोगितामा पहिलो हुने टिमलाई त्यस पछिका उक्त आफ्ना प्रतियोगितामा भाग लिन नपाउने नीति तय गरेको प्रतिष्ठानका उपाध्यक्ष एवम् निर्णायक समितिका सदस्य सीता दुराले जानकारी दिनु भएको छ । उहाँका अनुसार ठाडोभाकाको प्रतियोगितामा भाग लिनका लागि एक टिममा महिला र पुरुष गरी ३/३ जना हुनुुपर्दछ । सो समितिमा दुराभाषा विज्ञ मुक्तिनाथ घिमिरे र कार्यकारी सदस्य अनिता गुरुङसमेत निर्णायक हुनुहुन्थ्यो ।
यसैगरी, उक्त अवसरमा सञ्चालन गरिएको खुल्ला बाघचाल प्रतियोगितामा पनि १६ टिम नै सहभागी भएका थिए । बाघचालमा एक व्यक्ति एक टिम हुने गर्दछ । सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ३ दुराडाँडाका नवीन बास्तोला पहिलो, सुन्दरबजार नगरपालिका– १० कोइरालाफाँटका कृष्णहरि कोइराला दोस्रो, सोही नगरपालिका– ६ का राजु न्यौपाने तेस्रो तथा सोही नगरपालिका– ५ का धनबहादुर तामाङ र रबिन पाण्डे राइनास गनरपालिका– ६ ले सान्त्वना स्थान हासि गर्नु भयो ।
त्यस्तै, उक्त प्रतियोगितामा भाग लिएका स्कूले विद्यार्थी सन्दिप श्रेष्ठलाई प्रोत्साहन स्वरुप पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उनलाई तेस्रो हुनु हुने राजु न्यौपानेले पनि पाँच सय रुपैयाँ पुरस्कार प्रदान गर्नु भएको थियो । श्रेष्ठले दुई चरणसम्म जित हासिल गरेका थिए । बाघचाल प्रतियोगिताको नतिजा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् निर्णयक समितिका सहसंयोजक कृष्णबहादुर केसीले घोषणा गर्नु भएको थियो । सो प्रतियोगिताको संयोजक कार्यकारी सदस्य रमाराज खनिया रहनु भएको थियो ।
ठाडभोकाको क्षमताको पहिचान गर्ने मौका मिल्यो : मेयर कोइराला
समापन कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले यो कार्यक्रममा दिनभर बसेर ठाडभोकाको क्षमताको पहिचान गर्ने मौका मिलेको बताउनु भयो । उहाँले प्रतियोगितामा जीत हार स्वभाविक हो तर तपाईहरूको जुन क्षमता प्रदर्शन यहाँ भयो त्यो मैले सोचेभन्दा धेरै ठूलो रहेछ भन्नुभयो । उहाँले आफू यति लामो समयसम्म बसेर पहिलो पटक ठाडोभाका सुनेर र यसमा मानिसलाई तत्कालै रुवाउन र हसाउन सक्ने जुन क्षमता रहेछ त्यो देखेर आफू प्रभावित भएको उल्लेख गर्नु भयो । यस भाकाको मौलिकता बचाउने अभियानमा आफू पनि प्रतिष्ठानको आजीवन सदस्य बनेर सँगै रहेको स्मरण समेत कोइरालाले मन्तव्यका क्रममा व्यक्त गर्नु भयो । उहाँले धर्म, संस्कार संस्कृतिका विशेषतामा समेत ध्यान दिन र त्यसको बचाउमा लाग्नु पर्ने बेला आएको बताउनु भएको थियो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष एवम् प्रतिष्ठानका सल्लाहकार दामोदर अधिकारीले विकास कला, संस्कार, संस्कृति, साहित्यको प्रवद्र्धन गर्नु पनि हो त्यसतर्फ स्थानीय सरकारहरूको विशेष ध्यान जानेछ भन्नेमा आफू विश्वस्थ रहेको बताउनु भयो । उहाँले प्रतिष्ठानले थप उचाई प्राप्त गर्न सकोस् भन्ने कामना समेत गर्नु भएको थियो ।
भक्ति आदर्श क्याम्पसको सञ्चालक समितिको निवर्तमान अध्यक्ष ध्रुवबहादु कुँवरले ठाडोभाका लमजुङको पहिचान हो, यो कार्यक्रमले यहाँका स्थानीयलाई यो भाकाका बारेमा सुन्ने जान्ने मौका मिल्यो भन्नुहुँदै पृुरानो मौलिक बाघचालको समेत प्रतियोगिता राखेर त्यसको जगेर्ना गर्ने कार्य हुनु राम्रो पक्षको प्रतिष्ठानले गरेका काम सराहनीय छन् भन्नुभयो ।
त्यस्तै, दुराभाषा विज्ञ मुक्तिनाथ घिमिरेले साझा सम्पत्तीको रुपमा रहेको अमूर्त सम्पत्ती हो ठाडोभाका यसलाई पहिलो पटक विसं १९६७ सालको शिवरात्रीमा करापुटार बजारमा देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ, मनिराज दुरा, मैरानी दुरा, लक्ष्मी दुरा, पुतली दुराले गाएर प्रचारमा ल्याएको उल्लेख गर्नु भयो ।
ठाडोभाका महानायक, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाकाका निर्णायक समितिका संयोजक बुद्धिमान दुरा ‘धम्पु’ले ठाडोभाकाको गायक शैलीका बारेमा जानकारीसमेत दिनु भएको थियो । उहाँले सहभागीहरूबाट भएको कमीकमजोरी औल्याउँदै सच्चिन सुझाव दिदै प्रतियोगिताको नतिजा घोषणा गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले धन्यवाद र समापन मन्तव्य व्यक्त गर्दै सातौं स्थापना दिवस ऐतिहासिक रुपमा सम्पन्न हुन लागि रहेकोमा गर्वको अनुभव भएको बताउनु भयो । उहाँले उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबै– सबैमा मुरीमुरी बधाई छ र प्रतिष्ठान यहाँहरू सबैप्रति ऋणी रहेको बताउनु भयो ।
कला संस्कृति/साहित्यका अभियान कर्मीले अभिभावक कहिले पाउने ?
अध्यक्ष पहाडीले मुलुकमा लोकतन्त्र, गणतन्त्र आएको दशक अवधि बित्न लाग्दा पनि आफूहरूले टुहुरो भएको अनुभूति गरिहनु परेको स्मरण गर्नु भयो । उहाँले कला संस्कृति÷साहित्यका अभियानकर्मीले राज्य अभिभावक भएको अनुभूति गर्न कहिले पाउने हो ? भन्ने प्रश्न उठाउँदै जनप्रतिनिधिहरूले अब यो प्रश्नको जवाफ दिन सक्नु पर्छ भन्नुभयो । उहाँले प्रतिष्ठानले तीनै तहकार सरकारले आफ्नो कुल बजेटको कम्तिमा एक प्रतिशत रकम छुट्याउनु पर्ने माग गरिआएको हुँदा यो माग पुरा नहुदासम्म उठाई रहने र पेशागत हिसावले समाचार पनि लेखिरहने उल्लेख गर्नु भयो । उहाँले स्थानीय सरकारले दिने सहयोग रकमको पारदर्शी ढंगले मूल्यांंकन गरियोस् त्यस्तो कार्य गर्दा आफ्नो संस्थाले गरेको कार्य अन्य कुनै संस्थाले गरेको भन्दा कमजोर सावित भयो भने त्यसरी पाएको रकम बारबरको रकम आफ्नो कमाईबाट थप गरेर फिर्ता गर्नेछु भन्ने प्रतिवद्धता समेत दोहोर्याउनु भयो ।
ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कारको घोषणा :
प्रतिष्ठानले ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कारको घोषणा गरेको छ । देउबहादुर दुराकी नातिनी गौमाया दुरा र उहाँका श्रीमान् योगेन्द्र गुरुङ सहित, प्रमुख अतिथि, प्रतिष्ठानका संरक्षक, सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई साक्षी राखेर प्रतिष्ठानका अध्यक्ष पहाडीले उक्त पुरस्कारको घोषणा गर्नु भएको हो । उहाँले सो पुरस्कारको परिकल्पना गत वर्षनै गरेर सो प्रस्ताव उहाँको परिवारलाई राखेको जानकारी दिदै उक्त पुरस्कारको स्थायित्वका लागि उहाँको परिवारबाट जे जति रकम अक्षयकोषमा राख्नु हुन्छ त्यो बराबरको रकम प्रतिष्ठानको तर्फबाट आफूहरूले थप गर्ने, उक्त रकमको व्याजबाट आउँदो वर्षदेखि हरेक वर्ष ठाडोभाकाको विसकाका क्षेत्रमा अमूल्य योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिने छ भन्ने घोषणा गर्नु भयो । उहाँले प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाले स्थापना गर्नु पुरस्कार आम लोकसंस्कृतिकर्मीका लागि प्रदान गरिने छ भने देउबहादुर दुराका नाउँमा राखिने पुरस्कार ठाडोभाकाका लागि मात्र योगदान गर्नेहरूका लागि प्रदान गर्ने नीति, कार्यविधि समेत बनाएर पारदर्शी ढंगबाट सञ्चालन गरिने जानकारी दिनुभयो । सो पुरस्कारको अक्षयकोषका लागि इच्छुक संघसंस्थाले समेत सहयोग गर्न सक्ने उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रमको अवसरमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् आशुकवि युवराज घिमिरेले उक्त दिवसको उदघाटनदेखि समापन अघिसम्मका विषयवस्तु समेटेर तयार गर्नु भएको कविता वाचन गर्नु भएको थियो । दुरा सेवा समाज सुन्दरबजार इकाईका अध्यक्ष बसन्ती दुराले यो प्रतियोगितामा आफ्नो समाजका दुई टिमले भाग लिएका थियौं, हामीलाई पनि ठाडोभाका बचाउने र फैलाउने चिन्ता छ भन्नुभयो । उहाँले प्रतिष्ठानले यस्तो कार्यक्रम राख्नु आफैमा गर्वको विषय भएको उल्लेख गर्नुभयो ।
त्यस्तै, पुरुष सहभागी शंकर परियारले भेडीखर्के साइँलासँगको भेट र उहाँले ठाडोभाका गाउँ दिनु भएको प्रेरणास्पद क्षणको स्मरण गर्दै देउवहादुर दुरा, पञ्चसुब्बा गुरुङ लमजुङको अमूल्य सम्पत्ती भएको बताउनु भयो । उहाँले आफू जीवनभर ठाडोभाका गाउँदै हिड्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी, महिला सहभागी गौमाया दुरा गुरुङले आफ्नो जिवुबाजेको स्मरणमा यो कार्यक्रममा सहभागी भएर गीत गाउन पाउँदा खुशी लागेको बताउँदै आफूले पनि सिक्ने प्रयास गरेको र यो गीत गाउन प्रयास गरिरहेको र म सिक्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवर, प्रनाउ प्रकाश श्रीमल, प्रतिष्ठानका सल्लाहकारद्वय रमेशचन्द्र अधिकारी र नरेन्द्रराज ढुंगाना, भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्तराज खनाल, नेकपा एमालेका सुन्दरबजार नगरका अध्यक्ष भीम गुरुङ, समुताँ तमु समाजको बाबा÷आमा समूहका अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो । उक्त दिवसमा आयोजित प्रतियोगिताको सञ्चालन प्रतिष्ठानका महासचिव अकल विरही गुरुङले र समापन कार्यक्रमको सञ्चालन पत्रकार विराट न्यौपानेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ माघ २२, आईतवार १०:२२ गते