
बेसीशहर– लमजुङमा १३ औं पसगाउँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक समितिले यहाँ पत्रकार सम्मेलन गरी यही माघ २४ र २५ गतेका दिन सो महोत्सव हुने जानकारी दिएको हो ।
पसगाउँमा २०६० सालदेखि नै ग्रामीण पर्यटनका क्षेत्रमा गाउँलेहरू जुटेका हुन् । हुन त सो गाउँको उचित प्रचार प्रसार अझै हुन सकेको छैन । त्यसैले सो स्थलको पहिचानको जानकारी देश विदेशमा दिनका लागि महोत्सवको आयोजना गरिएको पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङले बताउनु भयो । उहाँका अनुसार पसगाउँमा गुरुङको जातीय संस्कृतिका अतिरिक्त विभिन्न ऐतिहासिक महत्वका साथ प्राकृतिक चमत्कारित स्थलहरू समेत रहेका छन् । समुद्र सतहदेखि एक हजार ६७० मिटर उचाईमा रहेको पसगाउँ महोत्सवका पुग्ने पाहुना तथा पत्रकारहरूलाई सकेसम्म ती सबै स्थलको अवलोकन गराइने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।
‘पसगाउँमा १२ बजे खोला, सुन्ने ढुंगा क्रोमेडाँडा, खुनेरडाँडा, दोबाटेडाँडा, चोगुडाँडा लगायतका ऐतिहासिक र प्राकृतिक चमत्कारिक स्थल छन् । ती स्थलबाट देखिने प्रकृतिक हिमाली तथा पहाडका दृश्यहरू पनि उक्तिकै मनमोहक रहेको सोही गाउँ निवासी उक्त गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङले भन्नुभयो । उहाँका अनुसार १२ बजे खोलामा दिउँसोको १२ बजेको समयमा बाढी आए झैं पानी निस्कने र १ बजे सुक्ने हुन्छ । उहाँले सुन्ने ढुंगाको विशेषता बाउँदै त्यसलाई बजाउने पनि भनिन्छ, गुरुङ भाषामा भोँ भोँ भनिन्छ । उहाँले भन्नुभयो, ‘उहिल्यै गाउँमा घडी थिएन, खबर गर्ने आजको जस्तो फोन आदिका साधन थिएन, त्यसैले दिउँसोमा कामको बेलामा खेतबारी, गोठालो, मेलापात गएको बेला गाउँमा आपत विपदका कुनै घट्ना हुँदा त्यो खबर गाउँलेहरूलाई पुर्याउनका लागि त्यो ढुंगामा गएर आवाज दिएपछि त्यो सुनेर गाउँलेहरू जमघट हुने गर्दथे, यसरी त्यो ढुंगाको नाउँ ‘सुन्ने ढुंगा’ रहेको उहाँले जानकारी दिनुभयो ।’ उहाँले पत्रकारहरूले राखेका जिज्ञासाहरूको समेत जवाफ दिनु भएको थियो ।
२०६० सालबाट पसगाउँमा ग्रामीण पर्यटनको पूर्वाधार विकास गरेर अघि बढेको भएता पनि सशस्त्र द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको सेल्टर समेत रहेको हुँदा पछि त्यस द्वन्द्वका पछिल्ला वर्ष तथा कोभिडकालमा भने महोत्सव हुन नसकेको र अबका दिनमा भने यसलाई निरन्तरता दिन सकिने विश्वास जागृत भएको हुँदा महोत्सवको आयोजना गरेको आयोजकले बताएका छन् ।
जम्मा १५३ घरधुरी रहेको पसगाउँमा यतिबेला २१ घरमा घरबास कार्यक्रम अर्थात होमस्टे सञ्चालन गरिएको छ । पसगाउँमा यथासक्य स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक वस्तु पाहुनालाई खुवाउने गरिएको छ । कृष्णचरित्र, झ्याउरे नाच, सारङ्गी नृत्यु, घाँटु, सिल्दु पुजा, छेदुपु पुजा, क्होंम्रे पुजा, भवानी पुजा आदि सो गाउँको सांस्कृतिक विशेषता रहेको जानकारी दिइएको थियो ।
पसगाउँका अधिकांश घरको छाना ढुंगाबाट छाइएको छ, यो उक्त गाउँको अर्को विशेषता हो पत्रकार सम्मेलनको सञ्चालन गर्दै स्थानीय गोपाल गुरुङले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा यस पटक पुग्ने पाहुनाहरूलाई त्यस्ता ऐतिहासिक महत्वका सबै स्थलको अवलोकन गराइने छ । त्यसबाहेक गाउँमा चिया खेती, अलैंची खेती, एभोकाडो, किवीखेतीतर्फ स्थानीय आकर्षित भएका छन् । ती खेती लगाएको स्थलले पनि पर्यटकलाई थप आकर्षित गर्न सक्ने आंकलन गरिएको आयोजकको भनाई छ ।
लमजुङको उत्तर पश्चिम कास्की जिल्लासँग सीमा जोडिएको पसगाउँमा जिल्ला सदरमुकाम बेसीशहर, पोखरा, तनहूँको सदरमुकाम दमौलीबाट भार्लेटार, करापुटार हुँदै जान सकिन्छ । करापुटारबाट २५ किमी दुरीमा रहेको पसगाउँसम्म कच्ची सडक पुगेको छ । पसगाउँसम्म जिप तथा ठूलो बसबाट पनि यात्रा गर्न सकिन्छ ।
प्रकाशित मिति २०७९ माघ २२, आईतवार १५:४५ गते