लमजुङ– लमजुङमा मानव बेचबिखन मुद्दामा अभियुक्त द्वयलाई एक वर्ष बढी कैद सजाय र जनही ३५ हजार क्षतिपूर्ति दिनु पर्ने फैसला भएको छ । जिल्ला अदालतले माघ १९ गते त्यस्तो फैसला गरेको हो ।
जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासको सो फैसलाको आदेश दिएको हो । सो मुद्दामा बेसीशहर नगरपालिका– १ उदीपुरमा स्थायी बसोबास भएकी सेतीमाया भन्ने विष्णुमाया लोहनी र उनका भाइ मध्यनेपाल नगरपालिका– २ सोतीपसलमा घर भएका लक्ष्मणबहादुर कुँवर विरुद्ध चलेको हो । उनीहरूलाई जनही एक वर्ष सात दिन कैद सजाय र जनही ३५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिनु पर्ने फैसला जिल्ला अदालतबाट भएको जिल्ला अदालतको मुद्दाशाखाबाट जानकारी दिइएको छ ।
उक्त मुद्दा लमजुङ जिल्ला अदालतमा गत असार २३ गते प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको थियो । ती दिदीभाइलाई सो मुद्दा चलाउन प्रहरीले क्रमशः जेठ २९ र ३० गते उदीपुर र काठमाडौंबाट पक्राउ गरी बेसीशहर ल्याएको थियो । उनीहरूको थुनछेक बहस लगत्तै अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । मुद्दा फैसला हुँदा दिदी सेतीमाया र भाइ शंकर कारागारमा थुना मै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार सो मुद्दासँग जोडिएको अर्को शरीर बन्धक र जवरजस्ती करण मुद्दा काठमाडौंमा चल्ने भएको छ । उनीहरूलाई यस जिल्लामा तोकिएको कैद भुक्तानी पछि काठमाडौं जिल्लाका लागि चलान गरिने प्रहरी भनाई छ ।
ती दिदीभाइले आपसी मिलेमतोमा एक १६ वर्षीया किशोरीलाई राम्रो, धनी केटासँग विहा गरिदिने काम गर्न नपर्ने, भनेजस्तो खान, लगाउन, सुनका गहना पहिरिन पाउने लोभमा दिदीले फकाई काठमाडौंमा रहेका भाइ शंकरसँग सम्पर्क गर्नका लागि भनेर आफ्नी छोरीका कपडा लगाउन दिएर, एक मोवाइल फोनको सेटका साथै माइक्रो बसको भाडासमेत दिएर चढाई पठाएकी रहिछन् । सो मुद्दा दायर गर्ने समयमा प्रहरीले उक्त माइक्रोलाई समेत अदालतमा झिकाई गराएको बयानमा माइक्रो चालकले आफूलाई मामाघरमा लगिदिन भनेर पठाएको बेच्न पो रहेछ भन्ने उल्लेख गरेका थिए ।
सेतीमायाले ती किशोरीलाई कसैले सोधेमा मामाघर जान हिडेको भन्नु भन्ने समेत सिकाई पठाएको उनको भनाई छ । पीडित किशोरीलाई शंकरले काठमाडौंबाट बाटोमा पनि कहाँ आइपुगिस् भन्दै पटक पटक फोन गरेको र स्वयम्भूमा पुगेपछि मोटरसाइकलमा लिन आई आफ्नो होटलमा लिएर गएका हुन् । करिब एक सातासम्म मेरो शरीर बन्धक बनाई दिनहुँ दुईजना मधेशी मूलका मानिस पठाएर जवरजस्ती करणी गर्ने गराएको समेत पीडितले बयान दिएकी छिन् ।
पीडित किशोरीका अनुसार शंकरकी श्रीमतीले समेत आफूलाई उनको मोवाइल नंबर दिई पठाएर लमजुङ गएपछि को कोसँग भेट हुन्छ ? ककस्ले के के भन्छन् ? दिनभरको खबर रहेक दिन साँझमा मलाई भन्नु भनेकी थिइन् ।
पीडितले सो घटनाकाबारेमा जिल्लाका महिला अधिकारकर्मीहरूका साथै यो प्रतिनिधिलाई भेटी आफू अन्यायमा परेको र न्याय दिलाउन सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसपछि सो समाचार अन्तरङ्गन्यूज डटकम सहितका सञ्चारमाध्यममा आयो । उक्त समाचार लेखेकोमा शंकरका श्रीमान/श्रीमतीले यो प्रतिनिधिलाई समेत तथानाम गाली गलोज गर्दै धक्याउनुका साथै समाचार लेख्ने कारखाना समेत बन्द गराउने, तेरो खैरियत नरहने लगायतका धम्की दिने काम पटक पटक गरेका थिए ।
नेपाली सेनाका निवृत्त सिपाही समेत रहेका शंकरले प्रहरीलाई समेत प्रभावमा पारी उक्त मुद्दा दर्ता गर्न नदिन निकै प्रयास गरेका थिए । महिला अधिकारकर्मीहरूको विशेष जोडबलका कारण मात्र उक्त मुद्दा दर्ता भएको थियो ।
सो फैसलाको खबर थाहा पाएपछि पीडित परिवारले केही हदसम्म न्याय पाएको अनुभूति भएपनि सजाय कम भएको गुनासो गर्दै सरकारी वकिलालाई पुनरावेदन गरिदिन अनुरोध गरेको बताएका छन् ।
स्मरणीय छ, सेतीमाया लोहनीको घरबाट करिब छ वर्ष अघि एक सोही गाउँकी राम्री भनेर कहलाएकी महिला करिब एक साता उनको घरमा बसेर एकाएक हराएर आजसम्म बेपत्ता रहेको र त्यस घट्नामा पनि उनकै कारमतबाट ती महिला हराएको आशंका यतिबेला गाउँलेहरूले गरेका छन् । तर, त्यो घट्नाका बारेमा अनुसन्धान गर्न आफूहरूले गरेको अनुरोधलाई प्रहरीले रुचि नदेखाएको महिला अधिकारकर्मीले बताउँदै आएका छन् ।
प्रकाशित मिति २०७९ माघ २४, मंगलवार १७:३१ गते