
बेसीशहर– लमजुङमा नेपाली कांग्रेसका दुई जना नेताले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यता त्याग गर्दै स्वतन्त्र नागरिकका रूपमा रहने घोषणा गर्नु भएको छ । उहाँहरू नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सह–सचिव नारायणबहादुर सुयल र नेपाली कांग्रेसका क्रियाशील सदस्य एवम् माविका निवृत्त शिक्षक यज्ञप्रसाद धिमिरे हुनुहुन्छ । जिल्ला सभापतिलाई सम्बोधन गर्दै संयुक्त रूपमा राजीनामा पत्र बुझाएको साउन ८ गते बताउनु भएको हो ।
धिमिरले शिक्षक संघमा बसेर लामो समय कामसमेत गर्नु भएको थियो भने सुयल काँग्रेसको पूर्व जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्छ । उहाँहरूले नेपाली कांग्रेस लमजुङमा विधि, विधान, निष्पक्षता र समान व्यवहारभन्दा गुट–उपगुट, व्यक्तिगत स्वार्थ तथा सीमित व्यक्तिको प्रभाव बढ्दै गएको दाबी गर्नु भएको छ । लामो समयदेखि पार्टीमा योगदान दिएका इमान्दार कार्यकर्ताहरू उपेक्षित भएको र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको उहाँहरूको दावी छ । उहाँहरूले पार्टी जननायक बी.पी. कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद, नैतिक राजनीति, राष्ट्रियता र जनमुखी विचारधाराबाट क्रमशः विचलित हुँदै गएको दावी गर्नु भएको छ । साथै राजीनामा पत्रमा उनीहरूले नेपाली कांग्रेसको नेतृत्व, कार्यशैली, निर्णय प्रक्रिया तथा राजनीतिक संस्कृतिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
उहाँहरूले अबका दिनमा कुनै पनि राजनीतिक दलको सदस्य नभई स्वतन्त्र, निष्पक्ष र सचेत नागरिकको हैसियतबाट राष्ट्र, लोकतन्त्र, संविधान, सुशासन र जनहितका पक्षमा उभिने तथा राम्रो कामको समर्थन र गलत कामको रचनात्मक आलोचना गर्ने निर्णय गरेको राजीनामा पत्रमा जनाउनु भएको छ ।
प्रकाशित मिति २०८३ श्रावण ९, शनिबार ०६:३९ गते