आज हरिशयनी एकादशी : चतुर्मास व्रतको शुभारम्भ, घर– घरमा तुलसी रोपिँदै

आज हरिशयनी एकादशी : चतुर्मास व्रतको शुभारम्भ, घर– घरमा तुलसी रोपिँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ८ गते शनिवार ०७:३६

चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ ।

असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ ।

लमजुङ– आज सनातन वैदिक परम्पराअनुसार असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । आज साउन ९ गतेबाट देशभरका हिन्दु धर्मावलम्बीले घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजाआराधना सुरु गरेका छन् भने आजैदेखि चतुर्मास व्रतको शुभारम्भ हुँदैछ ।
सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तयार पारिएको तुलसीको दल हरिशयनी एकादशीको अवसरमा तुलसीको मोठमा सार्ने परम्परा मान्यता रहेको छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने प्रचलन छ ।
असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ ।
वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये धेरै श्रद्धालुले सबै एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको छ । एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने प्रचलन छ ।
चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
एक वर्षमा २४ एकादशी हुन्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्दछन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने धार्मिक मान्यता रहेको छ ।
असार शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न भएको मानिन्छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गर्ने प्रचलन छ ।
तुलसीलाई धार्मिक दुष्टिलेमा महत्वपूर्ण मानिएको नभई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा लिने गरिन्छ । तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको घरेलु औषधिका रूपमा उपयोग हुने विश्वास गरिन्छ । घरमा तुलसीको मोठ राख्दा वातावरण सकारात्मक हुने र रोग सार्ने कीटाणु नष्ट हुने जनविश्वास समेत रहेको छ ।
आजको हरिशयनी एकादशी पर्वका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भिड लागेको छ ।

प्रकाशित मिति २०८३ श्रावण ९, शनिबार ०७:३६ गते
हजुरको प्रतिक्रिया