त्रिमूर्ति निकेतनमा समको १२१ औँ जयन्ती

त्रिमूर्ति निकेतनमा समको १२१ औँ जयन्ती

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २४ गते मङ्गलबार ०८:०२


कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

समको स्मृतिमा एक श्रद्धाञ्जली तथा काव्यसभा आयोजना

काठमाडौं– नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जयन्तीको उपलक्ष्यमा उहाँको स्मृतिमा एक श्रद्धाञ्जली तथा काव्यसभा कार्यक्रम गरियो । समको पूर्णकदको सालिकमा माल्यार्पण तथा कविता वाचन गर्दै उनको सम्झना माघ २४ गरिएको हो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले बालकृष्ण समको पूर्णकदको सालिकमा माल्यार्पण गर्नु भयो । सोही अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण गर्नुभएको थियो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हुन्छ भन्नुभयो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित विशेष काव्यसभामा भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
बालकृष्ण समको संक्षिप्त चिनारी ः
समर शमशेर तथा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्र बालकृष्ण शमशेर जबराको जन्म १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो । उनले दरबार हाइस्कुलमा दशौं कक्षासम्मको अध्ययन गरे । त्यसपछि कोलकाताबाट म्याट्रिक गरे । उनले त्रिचन्द्र कलेजमा विज्ञान पढे । त्यसै बखत उनी सैनिक सेवाको कप्तानमा पनि प्रवेश भए । लेफ्टिनेन्ट कर्णेल भएपछि बालकृष्णले सैनिक सेवा छाडे ।
बालकृष्ण जनतासँग क्रमशः हिँड्न थाले । अनि उनले आफूसँगसँगै आफ्ना छोरा जनार्दनलाई पनि हिँडाउन थाले । त्यतिबेला उनीहरू जनधारणामा आबद्ध भाषण गर्दै हिँडेवापत दुबै जना पक्राउ परेका थिए । बालकृष्ण शमशेरसँगै त्यसबेला न्हुच्छेमान पनि पक्राउ परे । न्हुच्छेमानले राणाका सेनाको कुटाई खाएर मर्नुपरेको घटनाले बालकृष्णको भावना कुँडिएको थियो । २००७ सालको जनक्रान्तिको सफलतापछि जेलमुक्त भएका उनी समवेदना अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गएका थिए । अनि त्यसै दिनदेखि उनले शमशेरको ’शेर’लाई काटेर आफ्नो थर ’सम’ लेख्न थाले ।
१९७० सालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई बालकृष्णले नै ’नेपाली भाषा प्रकाशिनी समिति’मा रूपान्तर गराएका हुन् । केही कालसम्म उनी त्यही प्रकाशिनी समितिका अध्यक्ष भए । २००० सालभन्दा अघिदेखि नै उनी त्रिचन्द्र कलेजमा पनि नेपाली पढाउँथे ।
२००७ सालको क्रान्तिपछि सम रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए । त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए । सम एउटा उच्चकोटिका चित्रकार र कुशल अभिनेता पनि थिए ।
समले नेपालका विभिन्न भूभागको भ्रमण गरे । साथै उनले भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रूस र अमेरिकाको पनि भ्रमण गरे ।
समका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भए ।
सम गोरखादक्षिणबाहु प्रथम, राजकीय पदक र त्रिभुवनजयन्ती पदकबाट विभूषित भए । उनी ’त्रिभुवन प्रज्ञापुरस्कार’का साथ ’पृथ्वी प्रज्ञापुस्कार’बाट पनि सम्मानित भए ।
२००९ सालमा दार्जीलिङ पुगेका बेला साहित्यका त्रिरत्न सूधपा अर्थात् सुर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिमूर्तिमा घोषित भएका थिए । नेपाली भाषासाहित्यमा अति उत्कृष्ट नाटक लेखन र मञ्चनका शिखर व्यक्तित्व समलाई नाट्यसम्राट् भनिन्छ ।
समको २०३८ साल साउन ६ गते काठमाडौंमा स्वर्गारोहण भयो । उनको महिमामा सरकारले हुलाक टिकट प्रकाशनमा ल्यायो । साथै काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति निकेतनबाट उनको पूर्णकदको सालिक उभ्याइएको छ, जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन् ।
– नरेन्द्रराज प्रसाईबाट ।

प्रकाशित मिति २०७९ माघ २४, मंगलवार २०:०२ गते
हजुरको प्रतिक्रिया