शब्दको पनि जन्म र मृत्यु हुन्छ । प्रयोगमा आउन छाडेपछि शब्द मृत्यु सरह हुन्छ । पुराना कुरा नयाँ पुस्ताको लागि इतिहास बन्दछ । लमजुङको बेसीशहर नगरपालिकामा रहेको फलियासाघँु अर्थात दलाल अहिले नयाँ पुस्ताको लागि इतिहास बनेको छ । विकास एउटा गतिशील क्रिया हो । भौतिक विकासको लागि प्राकृतिक सम्पदा यथास्थितिमा रहन सक्दैन । विकास समाजको अपेक्षा हो । समाजमा विकास आफंैमा सामाजिक परिवर्तनको सूचक पनि हो भने परिवर्तन विकासको माध्यम पनि हो ।
पुराना मानिसहरूले फलियासाघुँ र दलालको नाम लिए भने युवा पुस्ताहरू अलमल पर्ने गर्दछन् । बेसीशहर नगरपालिका– १ र वडानं– ११ चितिको बीचमा बग्ने मर्स्याङदी नदीमा फलियासाघँु अर्थात दलालमा ग्रामीण बजार थियो । आजभन्दा २३ बर्ष अगाडि २०५६ सालमा मध्यमर्स्याङदी जलविद्युत परियोजनाको काम सुरुवात भएपछि फलियासाघुँको सबै संरचना बिनास भएको हो । फलियासाघुँ बजारका मानिसहरूलाई मध्यमर्स्याङदी जलविद्युत परियोजनाले उदिपुरमा बसोवास गराएको छ । दलाल बजारका सबै व्यापारीहरु विस्तापित भएका छन् । परियोजनाले बाध निर्माण गर्दा फलियासाघुँ बजारका पुराना संरचनाहरु अहिले देख्न सकिन्न । मर्स्याङदी नदी उपल्लो भाग ताल बनेको छ भने तल्लो भाग सुक्का मौसममा बगर बन्ने गरेको छ । विकास भनेको परिवर्तन हो । अर्को अर्थमा विकास र बिनास एक आपसका परिपुरक हुन । तर विकासको लागि भएको बिनासले एउटा पुस्तालाई स्मरण र नयाँ पुस्ताको लागि इतिहास भएको छ ।
इतिहास जान्नको लागि इतिहास खोज्नै पर्ने हुन्छ । फलियासाघुँको इतिहास खोज्ने हो भने यो पुल कहिलेबाट बनेको हो ? पुल बने पछि कति पटक मर्मत सम्भार भयो ? र कहिले सम्म फलियासाघुँको अस्तित्व रहन गयो आदि कुराको लिखित इतिहास भेटिदैन । तर पनि फलियासाघुँको पुल भने ०३५ सालसम्म थियो र त्यसपछि फलियासाघुँ भएकै ठाउँमा झोलुङे पुल बनेको थियो । २०५६ सालमा मध्यमर्स्याङदीको काम सुरु गर्दा परियोजनाको बाध फलियासाघुँमा निर्माण भयो । मध्यमर्स्याङदीको बाध निर्माण हुनु भन्दा पहिला फलियासाँघुमा ग्रामीण बजार थियो । चिति, कार्कीडाँडा, स्याउत, रामचोक, दुवार, हिले, माझगाउँ, चौर, उदिपुर, धिमिरे लगायत गाउँको व्यापारी केन्द्र थियो । आवस्यक नुन तेल, कपडा सबै फलियासाघुँ बजारले धानेको थियो । मर्स्याङदी नदीमा अहिले जस्ता ठाउँ ठाउँमा पुल थिएनन् । २०२८ सालमा सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि झनै फलियासाघुँ वारपार गर्ने र फलियासाँघु बजारमा किनमेल गर्ने मानिसहरुको चाप बढ्दै गयो ।
आजभन्दा ५३९ बर्ष पहिले अर्थात वि.सं १५४० मा कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाह लमजुङको पहिलो चौबीसे राज्यका राजा भएका थिए । तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिए पछि पुनः कास्कीबाट वि.संं. १५५० मा यशोबह्म शाहलाई राजा बनाएको इतिहास छ । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउ क्षेत्र घले राजाबाट शासित थियो । घलेराजा र कालु शाहाका सेनाहरु बीच बेला बखत विवाद भइरहन्थ्यो । लामो समयको विवाद र युद्धपछि बिना हतियार खुदी नजिक भलम खोलाको किनारमा सम्झौता गर्ने निर्णय भयो । तर घले सेनाहरुले अघिल्लो दिन हात हतियार माले बगरमा पर्ने भलम खोलाको वालुवामा लुकाई सकेका थिए । निशस्त्र शाह भारदारहरु सन्धि सम्झौता स्थल भलम खोलाको वालुवामा पुगेपछि घलेका सेनाहरूले विवाद चर्काउन थाले । विवाद बढ्दै जाँदा घलेहरुले लुकाएको हतियार झिकी राजासहित भारदार माथि आक्रमण भयो । भाग्ने क्रममा भाग्दै जाँदा अहिलेको मध्यमर्स्याङदीको बाँधस्थल दलालमा पुगे । दलालमा नदीको दुई किनाराको दुरी छोटो भएकोले नदी किनारकै रुख ढालेर फडके पुल तयार पारे । कालु शाहका सेनाहरू रुखबाट पारी तरेपछि सुरक्षित रहन फडके पुनः भत्काए । कालु शाहका सेनाहरुमा एकजना काजी पनि थिए । नदी पारी पुगेपछि काजीले गाउँ र बेसीको बीचमा रहेको समथर र उच्चस्थान दारिमडाँडामा दरवार बनाई बसे । काजी कार्की थरका थिए दारिमडाँडामा दरवार बनाएर बसेपछि त्यो क्षेत्र कार्कीडाँडा नाम रहन गयो । दारिमडाँडामा दरवार रहेको स्थानमा अझै पनि दरबारको पुरातात्विक अवशेषहरू भेटिन्छन् । आजभोलि दारिमडाँडामा पुरातत्व विभागले मन्दिर समेत निर्माण गरिदिएको छ ।
इतिहासले के देखाउ छ भने फलियासाघुँमा फलेक अर्थात काठबाट पुल निर्माणको थालनी कालु शाहका सेनाहरूबाट बनाइएको रुखको फडके नै पहिलो पुल मानिन्छ । मनाङ जिल्लाको तिलिचो ताल र वरपरका हिमालबाट उदगम भएको मर्स्याङदी नदीमा फलियासाघुँमा जस्तो कडा चट्टानमा साघुरो गल्छी अन्त कतै बनेको छैन । यहि साँघुरो गल्छी भएका कारण कालु शाहका सेनाहरूबाट रुखको फड्के बनाए जस्तै पछिल्लो पुस्ताहरूले काठबाट पुल बनाएका हुन । फलियासाघँुको पुल करिवन चारसय बर्ष अस्तित्वमा रहेको थियो । पुल बनाउदा ठूला सालका रुख चिति, कार्कीडाँडा, रामचोक, चितुवावन, उदिपुर र धिमिरे गाउँहरूको जगंलबाट ठूलै दलबलका साथ घिसारेर पुर्याउने गरेको अछिल्लो पुस्ताका मानिसहरूले बताउछन् । फलियासाघुँको पुल बनेको समयमा मस्र्याङदी नदीमा अन्य ठाउँमा कतै ढुङ्गा र कतै बासको फड्केको माध्यमबाट नदी तर्ने गरेको पाइन्छ । अहिले मर्स्याङदी नदीमा दर्जनौं ठाउँमा पुल बनेको छ । दलालको फलियासाघुँ अब इतिहास बनेको छ ।
फलियासाघुँको नाम धेरैले बुझे पनि दलालको नाम अर्थात शाब्दीक अर्थ झनै सबैलाई अनौठो लाग्न सक्दछ । दलालको नाम कसरी रहन गयो ? दलाल नाम रहनमा यस्को कुनै घटना अथवा किन्दबन्दी पनि भेटिएको छैन । शब्दलाई भाषिक रुपले लिने हो भने मुलतः दल शब्द संस्कृतबाट बनेको हो । तर दलाल शब्द भने सस्कृतबाट बनेको होइन । दलाल शब्द आयतित शब्द अर्थात अरवी भाषाबाट आएको हो । सामान्यता दलाल शब्दलाई अँग्रेजीमा ब्रोकर भनिन्छ । ब्रोकर शव्दको विभिन्न मत र धारणा पाइन्छ । दलाल शव्दलाई अग्रेजी अर्थ र त्यसका पर्यायबाची अलग राखेर हेर्ने हो भने समाजमा दलाल शव्दलाई चेलिबेटी बेचबिखन गर्ने, घर जग्गा बेचबिखन गर्ने अर्थात कारोवार गर्ने, धितोपत्र खरिद बिक्री गर्नेलाई दलाल भनिन्छ । यसले के बुझाउछ भने दलाल शब्द बस्तु किनबेच गर्ने र आर्थिक कारोवार गर्ने पनि जनाउछ । ब्रोकर शब्दलाई साना व्यापारी, खुद्रा व्यापारी, किनारा पसले अर्थात दोकान जस्ता पेशालाई पनि दलाल शव्द प्रयोग हुन्छ । फलियासाघुँ वारीपारी परापूर्व काल देखिनै केही पसल भएको कारणले दलाल भनिएको हुन सक्दछ ।
फलियासाघुँमा मध्यमर्स्याङदीको बाध नजिकै शिवालयको मन्दिर थियो । त्यो मन्दिर दुई ठाउँमा सार्दै अहिले धौखोलाको दोभानमा सारिएको छ । आज भन्दा पचास बर्ष अगाडिसम्मको फलियासाघुँ अर्थात दलालको अहिलेको पुस्ताले सुन्यो भने सबै अचम्म मान्दै सुन्ने गर्दछ । भौतिक विकासको परिवर्तनले एउटा पुस्ताले देखेको अर्को पुस्ताहरूलाई इतिहास भएको छ । त्यतिबेला पद यात्रामा मनाङ जाने पर्यटकहरु फलियासाघुँ देखेर अचम्म मान्दै साघुँबाट कडा चट्टानको फोटो खिच्ने गर्दथे । त्यो बेला फलियासाघुँको दलाल वरपर गाउँलेहरुको सूचना केन्द्र पनि थियो । गाउँघरका हाल खवर बिकास निर्माणका कुराहरु दलाल जाँदा थाहा हुन्थो । दलालमा हुलाक पनि थियो । हुलाकलाई अहिले सेराफाटमा सारिएको छ । दलालको प्रहरी चौकी बिस्थापित भएको छ ।
मनुबेसी अर्थात सेरा फाँटमा जाडो छल्न आउने मनाङे र हिउँदमा सेराफाँटमा माटाका भाडा बनाउने भक्तपुरका कुमालेका काम आजभोलि कथा बनेको छ । ठूलो एकादशीको दिन फलियासाघुँमा तारिने फूलको तोरण, सुन्तला र बदाम व्यापारको कुरा तीन दशक अगाडिका सबै मानिसहरूलाई स्मरण मात्र भएको छ । धिमिरे र चिति, स्याउत गाउँका सुन्तला बगैंचा आजभोलिका नयाँपुस्ताका लागि कसैले ग¥यो भने पनि अपत्यारिलो भएको छ । फलियासाघुँ इतिहास बने पनि आजभोलि चिप्लेटीको ताल माथिको झोलुङे पुलले मानिसहरूलाई मर्स्याङदी वारीपारी गराएको छ । अर्को तर्फ उदिपुर रिठ्ठेबगर बुढीकुवा भएर चिति जाने मोटर मार्गले सुबिधा भएको छ । सडक पुर्वाधारले गर्दा आजभोलि पूर्वी लमजुङका मानिसहरूलाई मर्स्याङदी नदी तरेर आफ्नो गन्तब्यमा पुग्न बिभिन्न ठाउँमा पुल निर्माण भएको छ । पुराना कुरा सबै इतिहास बनेको छ ।
नेपालमा झोलुङे पुलको इतिहास
१८ औं शताब्दीमा पश्चिमी मुलुकहरूमा भएको औद्योगिक क्रान्तिले विश्वलाई यान्त्रिक युगको विकास ल्याउन थाल्यो । त्यसपछि मात्र विश्वमा झोलङे पुल निर्माणको सुरुवात हुन थालेको हो । इतिहास पल्टाउने हो भने बाइसे– चौबीसे राजाहरूको पालासम्म नेपालमा झोलुङे पुल थिएन । मानिसहरू नदी र ठूला खोला तर्नको लागि काठका लाप्सो, बासको फडके, डुंगा र पश्चिम नेपालतिर लौकाको चिन्नाबाट पनि नदीहरू तर्दथे । नदी तर्दा जोखिम थियो । कयौँ मानिसहरू दुर्घटनामा परी मृत्यु हुने गर्दथ्यो । हालसम्म देशभर १२ हजार २ सय झोलुङे पुल निर्माण भइसकेका छन भने काठबाट बनेका पुलहरु बिस्तापित हुने क्रम बढ्दो छ । माग अनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङे पुल निर्माण गर्नुपर्ने स्थानीय पूर्वाधार विभागले जनाएको छ । यो बर्ष सरकारले प्रत्येक आधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना ल्याएको छ ।
नेपालमा झोलुङे पुल निर्माण गर्ने अभियान राणा प्रधानमत्री चन्द्र शमसेरले वि.सं. १९६० मा नै गरेका थिए भने देव शम्शेरको शासनकालदेखि झोलुङे पुलको निर्माण गर्न थालिएको थियो । झोलुङे पुलको लागि आवश्यक फलामे सामग्रीहरुको लागि भने स्कटल्याण्डको उत्तरी सहर एबरडीनसँग नाता गाँसिएको थियो । सुरुका दश वर्ष जति लुइस हार्पर कम्पनीले नेपालमा झोलुङे पुलहरू बनाएका थिए । पछि जोनएम हेन्डरसन कम्पनीले झोलुङे पुलहरू बनाएका थिए । विसं १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलको रुपमा सुनकोशी नदीमा बनेको थियो । पछिल्लो समय ५० वर्ष अगाडिसम्म निर्माण भएका ५० वटा फलामे पुलहरूमा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेडको नाम राखिएको छ । चोभारको पुल, मर्स्याङदीको तार्कुघाटको पुल, धादिङको आँखुखोलाको पुल आदिमा निर्माण कम्पनीको नाम लेखिएको छ ।
आजभन्दा ९४ वर्ष पहिले श्री ३ चन्द्र शमशेरको पालामा वि.स. १९८५ मा रुकुमको चौरजहारी र जाजरकोटको मटेला जोडने भेरी नदीमा पहिलो झोलुङे पुल निर्माण भएको थियो । नदीको पुल बृटिसहरूको सहयोगमा स्कटल्याण्डको इञ्जिनियरद्वारा निर्माण भएको थियो । सन १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलुङे पुल निर्माणको थालनी भएपछि क्रमशः नेपालमा झोलुङे पुलहरू निर्माण हुँदै आएको छ । जाजरकोट मटेलाको पुल बन्नु भन्दा पहिले वि.सं. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलुङे पुल निर्माण भएको थियो । आजभन्दा करिब १ सय ३४ वर्ष अघि स्थानीय मजदुरले फलाम पिटेर साङ्लाको लठ्ठा बनाई स्थानीय तवरले निर्माण भएको बेनीको मंगलाघाट र हाँडेभिर जोडने म्याग्दी खोलाको झोलुङे पुल नेपालको पहिलो पुल मानिन्छ । अहिले यो पुलमा पर्यटकहरू पुग्ने अवलोकन गर्ने, फोटो खिच्ने गर्दछन । जंगबहादुर राणाका पालामा तनहुँको भिमाद र म्याग्दे गाउँपालिका जोडने एक सय वर्षअघि निर्मित भिमादको ऐतिहासिक पुल पनि छ । पुलमा राखिएको शिलापत्र अनुसार पुल बनाउने काँचो फलाम तनहुँकै ढोरफिर्दीको मिनामखानीबाट निकालिएको थियो ।
(लेखक : स्वतन्त्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुनुहुन्छ । – सं.)
– स्रोत : लमजुङ रत्न साप्ताहिक ।
प्रकाशित मिति २०७९ माघ २५, बुधबार २०:२६ गते