
डडेलधुरा— डडेलधुराको अमरगढी– ६ छचोडा गाउँमा रहेका दुई सय बढी दलित परिवारमध्ये लघुवित्तका कारणले दुई दर्जन परिवारको उठिबास लागेको छ । समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साँवामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरूका कारण डडेलधुरामा मात्रै ४० भन्दा बढी परिवार बेपत्ता भएका घटना सार्वजनिक भइसकेको छ ।
गाउँमा बसेकाहरू भने लघुवित्तले गर्दै आएको ज्यादतीका विरुद्ध संघर्ष गर्न समिति नै बनाएका संघर्षमा उत्रिएका छन् । अमरगढी– ८ खनमाडाका गोविन्द पार्की, शेरुवा पार्की मात्र होइन, अमरगढी– ९ ढाटगाउँका विष्णु पालको परिवारको पनि कहाँ गएको हो ? यतिबेला कसैलाई पत्तो छैन ।
सोही गाउँका ढल्कदो उमेरका घनश्याम ताम्राकारको घरमा ताला लागेको छ । लघुवित्तका कर्मचारीले रातदिन आएर टोक्न थालेपछि उहाँ श्रीमतीका साथ बेपत्ता हुनुभएको दुई महिना वित्यो । ७० वर्षीया उहाँकी आमा मानी ताम्राकार छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य हुनुहन्छ ।
परम्परागत तामाका भाँडा बनाएर बिक्री गर्न घनश्याम गाउँ– गाउँ जाने गर्नु हुन्थ्यो । गाउँतिर हिँडेका बेलामा तिर्न नसकेको किस्ता र ब्याज पनि साँवामा जोडिन थालेपछि उहाँ ऋणको जालोमा पर्दै जान थाल्नु भयो । ब्याजको पनि स्याज तिनुपर्ने चंगुलबाट उम्कन उहाँ गाउँ छाडेर भाग्न बाध्य हुनुभयो । उहाँकी वृद्धा आमाले गोठमा पालिएका चौपायाहरू सबै बिक्री गरिसक्नु भएको छ । उहाँको जीवन पनि अन्योलमा छ । उहाँ भन्नुहुन्छ, ‘छोराले तामाका भाँडा बनाउनाई ऋण लिएको हो तर साँवाभन्दा ब्याज बढ्ता भयो, ऋण तिर्न सकेन, श्रीमती लिएर कहाँ गयो थाहा छैन ।’
घनश्यामले अरू उपाय खोज्नुपर्ने हो, तर भागे भनेर छिमेकीहरू विस्मात् मानेका छन् । तर लघुवित्तको ऋण तिर्न नसकेर बेपत्ता भएका घनश्याममात्र एक्ला व्यक्ति भने हुनुहुन्छ ।
त्यसका विरुद्ध जगत सार्कीको नेतृत्वमा लघुवित्त संस्था पीडित संघर्ष समिति डडेलधुरा गठन भएको छ । अध्यक्ष जगतले भन्नुभयो, ‘पाल, एउटै व्यक्तिलाई कुखुरा पालनका लागि छिमेकी लघुवित्त, निर्धन लघुवित्त, स्वदेशी लघुवित्त, नाडेप लघुवित्त र किसान लघुवित्तले ऋण दिएका रहेछन् । तर, कुखुराबाट आम्दानी भएन, उता ब्याजको स्याज बढ्न थालेका छन् । ऋण तिर्न नसकेर परिवारसहित भागे भन्ने खबर आएको छ ।’
उहाँका अनुसार पालका दुई दाजु भारतमा काम गर्थे । उनीहरू गाउँ आएका बेलामा लघुवित्तका कर्मचारीले पैसा तिर्न दबाब दिए । ‘तिम्रा भाइले ऋण खाएको हो, ऊ भागेपछि तिमीहरूले तिर्नुपर्छ भनेर अत्ताएपछि दुवै दाजुहरू श्रीमती र परिवारसहित भागे रे ! उनीहरू पनि सम्पर्कमा आएका छैनन्, हामी खोज्दै छौं ।
डडेलधुरामा गरीबी निवारणका नाउँमा खोलिएका १६ वटा लघुवित्त कार्यरत छन् । तिनमा जिल्लाका ३२ हजारभन्दा बढी सदस्य लघुवित्तले खोल्ने समूहमा आबद्ध छन् । एउटै व्यक्तिलाई पाँच वटा लघुवित्तले ऋण दिएपछि एउटा व्यक्ति ती पाँचवटैको सदस्य हुने नै भए । तीमध्ये अधिकांश महिला ऋणी हुन् । सुदूरपश्चिममा कैलाली, कञ्चनपुर र अरू पहाडी जिल्लामा गरी लघुवित्त संस्थाहरूसँग समूहमा जोडिएका महिला– पुरुषको संख्या ७ लाख बढी रहेको आँकलन छ ।
कैलाली र कञ्चनपुरमा मात्र दुई वर्षयता यसरी आत्महत्या गर्नेको संख्या ४४ छ । जसमध्ये १२ पुरुष र अरू सबै महिला रहेको लघुवित्तबाट पीडित संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मणि चौलागाईंले बताउनु भएको छ । उहाँका अनुसार उक्त संघर्ष समितिको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लघुवित्तको ऋणका कारण घरबार गुमाएर आत्महत्या गर्नेको संख्या ३४ रहेको छ । उहाँले भन्नुभयो, ‘हालसम्म ५५ जिल्लामा लघुवित्तको ज्यादतीविरुद्ध संघर्ष गर्न समिति बनेको छ ।’
आउँदो फागुन १ गतेदेखि देशव्यापी रुपमा आन्दोलन शुरु गर्ने योजना रहेको पनि उहाँको भनाई छ ।
प्रकाशित मिति २०७९ माघ २७, शुक्रबार ०७:३० गते