काठमाडौँ– आउँदो वैशाख १० गते चितवन– २ मा उपनिर्वाचन गर्ने निर्णय गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गतेका दिन उपनिर्वाचन गर्ने निर्णय माघ २९ गते गरेको हो ।
चितवन संघीय निर्वाचन क्षेत्र नं. २ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उहाँको पद गुमेको थियो । सोसँगै आयोगले सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने गरी मिति तोक्ने काम गरेको हो ।
आयोगबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका श्री रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९।१०।१३ मा आदेश भै आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९।१०।१९ को पत्रबाट श्री रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो ।’
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ ।
सोही बमोजिम उपनिर्वाचनको मिति तोकेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ गतेलाई तोकेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
यस्तै उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चैत २३ गते निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । कार्यतालिकाअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन हुन लागेको हो ।
नगरिकता अवैध भएको तेस्रो दिनमा नै नागरिकताको प्रमाणपत्र लिनु भएका रास्वपाका सभापति रबिले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफू फेरि चितवन– २ मा उम्मेदवार हुने घोषणा गरिसक्नु भएको छ ।
रबिले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेको हुँदा उहाँ फेरि उम्मेदवार बन्न पाउने निश्चित भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्थामा ‘राहदानी दुरुपयोग’को अभियोगमा अदालतबाट दोषी ठहर भएमा र त्यो फैसला अन्तिम भएको व्यक्ति मात्रै उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
तर रबिको राहदानीको उजुरी माथिको छानबिन निकै प्रारम्भिक चरणमा रहेका कारणले उहाँलाई उम्मेदवार हुन कानूनी बाधक नहुने जानकारहरूको भनाई छ ।
महान्यायाधिवक्ता कार्यालयका एक सरकारी वकिलले ‘उहाँमाथि अहिले प्रहरीबाट अनुसन्धान मात्रै भएको हो, भोलि गएर अदालतमा मुद्दै चले पनि उम्मेद्वार हुन बाधा पुग्दैन’ भनेका छन्, ‘अदालतबाट दोषी ठहर भई त्यसविरुद्ध माथिल्लो अदालतमा जाने सुविधा रहदासम्म पनि सम्बन्धित व्यक्ति उम्मेद्वार हुन बाधा पर्दैन ।’
अदालतबाट दोषी ठहर भई त्यो फैसला अन्तिम भएमा भने उम्मेद्वार हुन नपाउने व्यवस्था ऐनमा छ उनले भने ।
नेपालको कानुन पशुपतिनाथ जानुन् भनिन्छ, झुटा विवरण पेश गरेर पासपोर्ट लिएको कसुर र पासपोर्ट दुरुपयोग गरेमा हुने कसुर एउटै हो कि फरक ? भन्ने समेत स्पष्ट छैन । ती सरकारी वकिलले भन्छन्, ‘यी सबै परिस्थिती हेर्दा उहाँ (रवि लामिछाने)लाई उम्मेद्वार हुन कुनै बाधा देखिदैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि उपनिर्वाचन गर्ने निर्णयको स्वागत
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णयको स्वागत गर्नु भएको छ ।
उहाँले हिजो बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो गर्न आग्रह गर्नु भएको थियो । ‘बिहान प्रधानमन्त्रीलाई आग्रह गरेको थिएँ । दिउँसो निर्णय आयो’ रबिले उल्लेख गर्नु भएको छ ।
‘सो निर्वाचन क्षेत्रमा अर्को उम्मेदवारको सम्भावना छैन होला नि ?’ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘हुँदैन होला, कसरी होला र !’
रबिले सो निर्वाचन क्षेत्रबाट गत मंसिर ४ गते सम्पन्न भएको चुनावमा ४९ हजार २६१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याउनु भएको थियो भने तेस्रो स्थानमा झर्नु भएका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाउनु भएको थियो ।
अब हुने उपनिर्वाचनमा पहिलेको भन्दा बढी मत अन्तरले चुनाव जित्नेमा रबि आशावादी देखिनु भएको छ ।
निर्वाचन घोषणा हुनुपूर्व नै निर्वाचन क्षेत्रको फर्को मार्नु भएका रविले भन्नुभयो, ‘निर्वाचन क्षेत्रमा पुगेर आएको हुँ । जुन ढंगबाट आम मतदाताले प्रतिक्रिया दिनुभएको छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन ।’ उहाँले भन्नुभयो, ‘तर पनि, वैशाखसम्म हुने राजनीतिक घटनाक्रमलाई नियाल्नुपर्छ हेरौं ।’
प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार ११:५४ गते